बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा असोजदेखि विद्यालय खुलाउने तयारी

बुधबार, ३१ भदौ २०७७, १९ : ११
बुधबार, ३१ भदौ २०७७

जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोेना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ ।  

आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन शुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्रका कक्षा एक देखि पाँच सम्मका विद्यार्थीले पढ्न पाउने गरि विद्यालय सञ्चालन गर्न लागिएको नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले बताए । 

उनले भने, “ लामो समयदेखि पठनपाठन नहुँदा विद्यार्थीको पढाइ बिग्रिन थाल्यो । त्यसैले विद्यालय सरसफाइमा ध्यान दिँदै सामाजिक दूरी कायम गरेर कक्षा सञ्चालन गर्ने तयारी गरिएको छ ।” 

नगरक्षेत्रका सबै विद्यालयको प्रअको बैठकबाट आउँदो असोज ४ गतेदेखि उच्च सतर्कताका साथ विद्यालय खुलाउने तयारी थाल्न निर्देशन दिएको शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका नगरप्रमुख  सेजुवालले बताए । 

विद्यालयबाटै सचेतनाका क्रियाकलाप अघि बढाउने भएकाले आधारभूत तहको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए । उनले भने “आधारभूत कक्षमा विद्यार्थी सङ्ख्या पनि कम छ । सामाजिक दूरी कायम गरेर पनि पढाउन सकिने अवस्था छ । यो अवस्थालाई मध्यनजर गर्दै विद्यालय खुलाउने निर्णय भएको हो ।” 

आउँदो असोज ४ गतेदेखि आ–आफ्ना बालबालिकालाई विद्यालय पठाउने तयारी गर्न अभिभावकलाई समेत आग्रह गरिएको नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले रेडियो कक्षा सञ्चालन गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप