बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी चौकीमा महिलालाई दिन थालियो इञ्चार्ज

बुधबार, ३१ भदौ २०७७, २२ : २८
बुधबार, ३१ भदौ २०७७

काठमाडौँ । प्रायःजसो ठाउँमा महिलालाई इञ्चार्ज दिँदैनन् । प्रहरीमा झनै इञ्चार्ज दिन मान्दैनन् । प्रहरी कमाण्ड सम्हाल्न महिलाभन्दा पुरुष नै सक्षम हुने भन्दै महिलाहरु इञ्चार्ज पाउनबाट बञ्चित हुँदै आएका छन् । 

अधिकांश जिल्लाहरुमा महिलाभन्दा पुरुष नै इञ्चार्ज भएर जाने गरेका छन् । केन्द्रबाट प्रहरी संगठनमा जिल्ला तहको नेतृत्व पनि पुरुष नै हावी हुने गर्छन् । केही महिला, त्यो पनि मुस्किलले इञ्चार्ज भएर जाने मौका पाएका छन् । ७७ वटा जिल्लामध्ये भक्तपुर र पर्सा जिल्लाको नेतृत्वमा महिला प्रहरी छन् । 

प्रहरीको माथिल्लो नेतृत्व तहमा रहनेहरुमा पनि एक प्रकारको पुरुषले इञ्चार्ज सम्हाल्न सक्छन् भन्ने जबरजस्त मानसिकता बन्दै गएको देखिन्छ । जिल्ला नेतृत्वदेखि प्रहरीको तल्लो तहको युनिटमा पनि महिलाले इञ्चार्ज नपाएका थुप्रै जिल्लाहरुमा उदाहरण छन् । त

ल्लो प्रहरी युनिटको नेतृत्वमा पनि पुरुष नै हावी छन् । तर, यी सबै कुरालाई चिर्दै जिल्ला प्रहरी कार्यालय दाङको मातहतका युनिटमा महिलालाई इञ्चार्ज बनाएर पठाउन थालिएको छ । जिल्ला प्रहरी प्रमुख भएर दाङ आएपछि एसपी गणेश चन्दले जिल्लामा नयाँ अभियान सुरु गरेका छन् । 

एसपी चन्दले प्रहरीमा पुरुषले मात्रै इञ्चार्ज सम्हाल्न सक्छन् भन्ने कुरालाई चिर्नका लागि महिला प्रहरीलाई दर्जा अनुसारको जिम्मेवारी दिने गरी महिला प्रहरीलाई इञ्चार्ज बनाएर पठाउन सुरु गरेको बताए ।  उनले इञ्चार्ज बनाउनुभन्दा पहिले त्यो ठाउँको बारेमा बुझ्न जिल्लाबाट पठाउने र सबै कुरामा पोख्त भएपछि त्यो ठाउँमा महिलालाई इञ्चार्ज बनाएर पठाउने बताए । 

धेरैलाई महिलाभन्दा पुरुषले नै इञ्चार्ज भएर काम गर्न सक्छन् भन्ने मान्यता भएकाले यसलाई चिर्दै जिम्मेवारी दिए महिलाले पनि कार्य क्षेत्रमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न सक्ने सन्देश देशैभरी जाओस् भन्ने उद्देश्यले यो नयाँ किसिमको अभियान सुरु गरिएको एसपी चन्दले सुनाए । 

उनले यसलाई पहिलो चरणमा जिल्लाका केही ठाँउमा अभ्यास गरिएको र सफल भएमा जिल्लाका अन्य विभिन्न ठाउँमा पनि महिलालई नै इञ्चार्ज बनाएर पठाउने धारणा राखे ।  सुरु–सुरुमा इञ्चार्ज बन्ने हो भन्दा धेरै महिला प्रहरी धक मान्ने गरेको र पछि काउन्सिलिङ गर्न थालेपछि नेतृत्व गर्न तयार रहेको भनेर आत्मविश्वास बढाउने गरेको एसपी चन्दको अनुभव छ । 

चन्दकाअनुसार अहिले पहिलो चरणमा सतबरिया प्रहरी चौकीको इञ्चार्जमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी केसीलाई पठाइएको छ भने नर्तिको प्रहरी चौकीमा पनि असई शोभा गिरीलाई जिम्मेवारी दिइएको छ । 

पुरुषभन्दा महिला बढी संवेदनशील हुने भएको कारण आफ्नो मातहतको युनिटमा महिला प्रहरीलाई प्राथमिकता दिने एसपी चन्दको भनाइ छ । उनले भने, ‘पीडितहरुको संख्यामा पनि पुरुषको भन्दा महिलाको बढी देखिन्छ । यस्तो अवस्थामा खुलेर कुरा गर्न पनि सजिलो हुने भएको कारण महिला प्रहरीलाई इञ्चार्जको जिम्मेवारी दिँदा राम्रो हुन्छ ।’

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी सुमित खड्काले यो जिल्लामै नयाँ प्रकारको अभियान चलाइएको बताए । उनले सानोदेखि ठूलो दर्जासम्मका महिला प्रहरीलाई आत्मविश्वास बढाउन नयाँ एसपी आएपछि सुरुवात गरिएको बताए । 

उनले अहिले इञ्चार्ज मात्रै महिला प्रहरीलाई बनाएर पठाइएको र इञ्चार्ज सम्हाल्न सजिलो होस् भनेर अन्य पुरुषहरुको दरवन्दी त्यहीँ राखेर काम गरिएको जानकारी दिए ।

एसपी चन्दले सानोदेखि ठूलो दर्जाका महिला प्रहरीमात्रै रहेको जिल्लाभरीमै एउटा नमुना महिला प्रहरी युनिट बनाउने आफ्नो इच्छा रहेको बताए ।  उनले सो अनुसारको तयारी गर्न र सबैकुरा बुझ्न मातहतका प्रहरी अधिकारीलाई जिम्मेवारी दिइसकेको दावी गरे ।

उनले सुरु–सुरुमा त्यस्तो नमुना महिला प्रहरी युनिटलाई सबै कुरामा सक्षम बनाएर लगिने र अझ थप मजबुद बनाउन जिल्लाबाटै ‘क्युआरटी’ टोली खटाएर सहयोग गर्ने पनि महिला प्रहरीसमक्ष प्रतिबद्धता जनाएका छन् । उनले अस्थायी प्रहरी चौकी सर्रालाई महिला प्रहरीले नै सम्हालेको नमुना प्रहरी चौकी बनाउने जमर्को समेत गरेका छन् ।

त्यसैगरी प्रत्येक जिल्लाको जिल्ला प्रहरी कार्यालयभित्र महिला सेल रहन्छ । प्रायः जिल्ला प्रहरी कार्यालयका प्रहरी कर्मचारी र महिला सेलका कर्मचारी कार्यालय प्रवेश गर्ने एउटै बाटो हुन्छ ।  तर, जिल्ला प्रहरी कार्यालय दाङमा महिला सेल जाने छुट्टै अर्को बाटो खोलिएको छ ।

एसपी चन्दले आफ्नो अनुहार देखाएर पीडित महिलाहरुलाई हिँड्न गाह्रो हुने भएकाले छुट्टै बाटो खोलिएको जानकारी दिए ।  एसपी चन्दकाअनुसार अब पीडित महिलाहरु सजिलै महिला सेल पुगेर आफ्नो कुराहरु राख्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप