शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – नरेन्द्र मोदीको जन्म

बिहीबार, ०१ असोज २०७७, ०८ : ०३
बिहीबार, ०१ असोज २०७७

आज १७ सेप्टेम्बर । सन् १९५० मा भारतका प्रधानमन्त्री तथा सत्तारुढ भाजपा नेता नरेन्द्र मोदीको जन्म भएको थियो । उनी सन् २०१४ देखि निरन्तर भारतको प्रधानमन्त्री छन् । आधुनिक भारतको इतिहासका शक्तिशाली व्यक्तिमध्ये मोदी एक मानिन्छन् ।

प्रधानमन्त्री बन्नुअघि मोदी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री थिए । उनी दुईपटक भारतमा बहुमतसहित सत्ता सञ्चालन गर्ने कांग्रेस आई इतरका एक्लो नेता हुन् ।

भादनगरमा गुजराती परिवारमा जन्मिएका मोदी बाल्यकालमा चिया बेच्थे । (यद्यपि, यसमा पनि विवाद रहेको छ ।) आठ वर्षको उमेरमै उनी हिन्दुवादी संगठन राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) मा आबद्ध भए । बाल्यकालमै यशोदावेन चिमनलालसँग उनको विवाह भयो, तर उनी उच्च शिक्षा सकिएपछि घर छाडेर हिँडे ।

यसक्रममा मोदीले भारतका विभिन्न तिर्थस्थलसहित नेपालको मुक्तिनाथलगायत स्थालको भ्रमण गरे । सन् १९७१ देखि उनी आरएसएसको पूर्णकालीन कार्यकता बने । भारतमा संकटकाल लागेको समय सन् १९७५ मा उनी केही समय भूमिगत पनि भए । आरएसएसले सन् १९८५ मा उनलाई पार्टीको जिम्मेवारीसहित भाजपामा खटायो, सन् २००१ मा महासचिव हुनअघि उनले विभिन्न जिम्मेवारीमा रहेर काम गरे ।

सन् २००१ मा केशुभाई पटेलको स्वास्थ अवस्था खराब थियो, यही समय भुजमा भुइँचालो पनि गयो । जसकारण, उनको लोकप्रियता घटेपछि मोदीलाई गुजरातको मुख्यमन्त्रीका रुपमा नियुक्त गरियो, त्यसको छोटो समयमै उनले विधानसभाको चुनाव पनि जिते ।

सन् २००२ को गुजरात दंगालाई भड्काउन भूमिका खेलेको र व्यवस्थापन गर्न नसकेको आरोप उनको प्रशासनमाथि लाग्ने गरेको छ । यस विषयमा मुद्दा पनि परेको थियो । तर, भारतको सर्वोच्च अदालतले नियुक्त गरेको विशेष अनुसन्धान टोलीले मोदी व्यक्तिगत रुपमा दोषी रहेको कुनै प्रमाण फेला पार्न सकेन । उनको कार्यकालमा गुजरातमा आर्थिक वृद्धि उत्साहप्रद रह्यो । तर, स्वास्थ, गरिबी र शिक्षक क्षेत्रलाई सुधार्न भने असफल भएको आरोप उनीमाथि लाग्छ ।

सन् २०१४ मा आम निर्वाचनमा भाजपाले बहुमत हासिल गरेपछि मोदी केन्द्रीय सरकारका प्रधानमन्त्री बने । उनले वैदेशिक लगानी भित्र्याउन भूमिका खेलेका छन् । तर स्वास्थ र सामाजिक कार्यक्रम खर्च हुने बजेट कटौती गरेका छन् । मोदीले भारतको कर्मचारीतन्त्रमा सुधार ल्याउने प्रयास पनि गरेका छन् ।

सन् २०१९ को आम निर्वाचनमा लगातार दोस्रोपटक भाजपाले बहुमत ल्याएपछि उनी प्रधानमन्त्रीको दोस्रो कार्यकाल चलाइरहेका छन् । दोस्रो कार्यकालमा मोदीले चालेका कतिपय कदम विवादास्पद देखिएका छन् । जस्तो, जम्मू कास्मिरलाई विशेष राज्यका रुपमा दिइएको दर्जा खोस्ने निर्णय, लद्दालाई टुक्रयाएर अलग राज्य बनाउने निर्णय, नागरिकता संशोधन विधेयक र विपक्षी पार्टीका नेता–कार्यकर्ता, उदारवादी र बुद्धिजीविहरुमाथिको धरपकड आदी ।

अन्य घटनाक्रम

सन् १९५७– संयुक्त राष्ट्रसंघमा मलेसिया सहभागी ।

सन् १९७४– बंगलादेश, ग्रेनेडा र गिनी बिसाऊ संयुक्त राष्ट्रसंघमा सहभागी ।

सन् १९८२– भारत र श्रीलंकाबीच पहिलो क्रिकेट टेस्ट म्याच आयोजना ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप