शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आंशिक निषेधाज्ञाकै बीच लामो दूरीका सार्वजनिक यातायात खुल्ला : कसरी हुँदैछ व्यवस्थापन ?

यी क्षेत्रमा प्रवेश निषेध, नाका नाकामा चेकजाँच, खाजा घरमा निगरानी
बिहीबार, ०१ असोज २०७७, ०९ : ४७
बिहीबार, ०१ असोज २०७७

काठमाडौं । करिब ६ महिना लामो बन्दाबन्दी पछि आज असोज १ गतेदेखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन खुल्ला भएको छ । गत सोमबारको मन्त्रिपरिषदको निर्णयले पूर्वनिर्धारित मितिमा नै सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेसँगै बिहिबारबाट लामा दूरीका सार्वजनिक यातायात पनि सञ्चालनमा आएको हो । योसँगै आजबाट अन्तर जिल्ला तथा अन्तर प्रदेश भाडाका सवारी साधनहरु सञ्चालनमा आएका छन् ।

केहि दिनअघि सार्वजनिक सवारी साधन सञ्चालन सम्बन्धि निर्णय गर्दै उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरले उपत्यकाभित्र जोरविजोर प्रणालीमा १६ सिट भन्दा माथिका सवारीलाई मात्र सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

त्यस लगत्तैको गत सोमबार बसेको मन्त्रिपरिषदको निर्णयले भने आवश्यक स्वास्थ्य सुरक्षाकोे मापदण्ड अधिकतम प्रयोग गरी देशभरका सार्वजनिक सवारी सञ्चालनको अनुमति दिने निर्णय गरेको हो । तर त्यस्ता सार्वजनिक सवारी धानहरुले सरकारले जारी गरेको निर्देशिका अनिवार्य पालन गरेर मात्र सञ्चालन अनुमति पाउने छन् ।

लामो दुरीमा सञ्चालन हुने सवारी साधनले अनिवार्य सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्ने, मास्क–सेनिटाइजर अनिवार्य हुनुपर्ने, बेलाबेलामा गाडीको डिस्इन्फेक्सन हुनुपर्ने लगायत स्थानीय सरकारको समेत नियम पालन गर्नु पर्ने छ ।

तर यसरी सञ्चालन हुने सार्वजनिक सवारी साधनले यात्रुहरुबाट साविकको भाड दर भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरेको छ ।  यसरी सञ्चालन हुने सवारी साधनहरु डी टु डी प्रणालीमा मात्र सञ्चालन हुन पाउने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनकुमार हमालले रातोपाटीसँग बताए ।

यसअघिकै निर्देशिकामा थप केही सुधार गर्दै जारी गरिएको निर्देशिकाले लामो दुरीका सवारी साधनलाई डी टु डी (डेस्टिनेशन टु डेस्टिनेशन) नियम लागु गरेको हमालले बताए । लामो दुरीमा सञ्चालन हुने सवारी साधनले बीचमा मान्छे चढाउने र झार्ने गर्न नपाउने हमालको भनाइ छ ।

‘लामो दुरीमा सञ्चालन हुने सवारीहरुमा डीटुडी प्रणाली लागु हुन्छ । पहिले जस्तो जहाँ पायो त्यहि गाडी रोक्ने, यात्रु चढाउन र झार्ने गर्न पाउँदैनन् । सिधै लक्षित स्थानमा गएर मात्र यात्रु झार्न पाउछन्’ महानिर्देशक हमालले भने, ‘यदि यसो नगरिएको पाइए कडा कारबाही हुन्छ ।’

यसैमा थप्दै हमालले भने, ‘तर लामो रुटमा सञ्चालन हुने गाडीहरुका लागि बीचबीचमा विश्राम चाहिने हुँदा खाजा, नास्ता खाने ठाउँमा भने रोक्न पाउने तर आवश्यक सामाजिक दुरी कायम गरिनु पर्ने उनले बताए ।

रोक्ने, बस्ने, खाजा खाने ठाउँमा हुल हुल्जत हुने सम्भावना रहेकाले त्यस्तो गतिविधि हुन नदिन स्थानीय सरकार मार्फत् ठाउँठाउँमा सुरक्षाकर्मीहरु खटाइने समेत हमालले जानकारी दिए ।

निषेधाज्ञा जारी क्षेत्रमा सञ्चालन हुन नपाउने

असोज १ गतेदेखि नै सबै खाले लामा दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भए पनि केहि केहि क्षेत्रमा भने सवारी सञ्चालन हुन पाउने छैनन् । काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुल्ला भएपनि बाहिरी केहि क्षेत्रमा अझैं निषेधाज्ञा जारी रहेको अवस्थामा त्यस्ता क्षेत्रमा भने सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने महानिर्देशक हमालले रातोपाटीसँग बताए ।

त्यस्तो स्थानमा स्थानीय सरकारको नियम लागु हुने हमालको भनाइ छ । ‘लामो दुरीको यातायात सञ्चालनको निर्णय केन्द्रिय सरकारको हो । यो निर्णय स्थानीय सरकारले नमान्न पनि पाउँछन् । कोभिड–१९ रोग ऐन २०७७ अनुसार उपचार र रोकथामको स्वअधिकार स्थानीय सरकारलाई दिइएको छ । यस्तो अवस्थामा आवश्यकताका आधारमा जोखिमलाई हेरेर निषेधाज्ञा लगाउन पनि सक्छन् । त्यस्ता ठाउँमा सार्वजनिक सवारी सञ्चालन हुन पाउँदैनन् ।’ हमालले भने, ‘यो स्वयम् स्थानीय सरकारको स्वनिर्णयको विषय हो ।’ महानिर्देशक हमालका अनुसार त्यस्ता क्षेत्रहरुमा भने सार्वजनिक सवारी प्रवेश निषेध हुन सक्छ ।

नाका नाकामा चेकजाँच, खाजा घरमा निगरानी

लामो दुरीका सवारी पास हुने नाकानाकामा कडा चेकजाँच हुने भएको छ । आवश्यक सुरक्षा मापदण्ड परिपालन भएनभएको चेकजाँच गर्न तथा यात्रुहरुको समस्या पहिचान गर्न सरकाले यस्तो चेकजाँच गर्ने भएको हो ।

यस्तो चेकजाँतमा तोकिएको मापदण्ड भन्दा बढि यात्रु बोकेको र तोकिएको भाडा भन्दा बढि लिइएको पाइए तत्काल –अन्द स्र्पोट) कारबाही गरिने महानिर्देशक हमाले बताए । चेकजाँचका क्रममा यस्तो भेटिए त्यस्ता गाडीहरुलाई कडा भन्दा कडा कारबाही हुने हमालको भनाई छ ।

बाटोमा रोकिने, खाजा नास्ता, खाने होटल तथा पसलहरुमा भने संबन्धित स्थानीय सरकारको सहकार्यमा सुरक्षाकर्मी खटाइ अनुगमन गरिने हमालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप