बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु

बिहीबार, ०१ असोज २०७७, १४ : ३२
बिहीबार, ०१ असोज २०७७

रौतहट । प्रहरी हिरासतमा चरम यातनाबाट मृत्यु भएको प्रकरणमा एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्कासहित ६ प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरीका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इप्रका गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज धुनियाविरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा पीडित पनिलाल महराले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएका थिए । सुरुमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता नभएपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन् ।

सरकारी वकिलको कार्यालय गौरले जिल्ला प्रहरी कार्यालयको नाममा चलानी नम्वर ३४४ को पत्रसँगै किटानी जाहेरीसमेत पठाएर आवश्यक कारवाही गर्न भनेसँगै जिल्ला प्रहरी कार्यालय गौरमा भदौ २५ गते मुद्दा दर्ता भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

मुद्दा दर्ता भएपछि अनुसन्धान कार्य सुरु भएको उनले बताए । अनुसन्धानमा आरोपित प्रहरीहरु दोषी देखिएमा अभियोजनपत्र साथ सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा गएपछि आरोपितहरुलाई निलम्बन गरी हिरासतमा लिनुपर्ने अवस्था आउने एसपी शाहले जानकारी दिए ।

प्रहरी हिरासतमा रहँदा यातना पाएर मृत्यु भएका विजयरामको काठमाडौं, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम हुँदा चोटपटकबाट ज्यान गएको पुष्टि भएको थियो । तर उनलाई यातना दिने प्रहरीलाई बचाउने षडयन्त्र भइरहेको दलित संघर्ष समितिका संयोजक सोनेलाल रामको आरोप छ ।

गत साउन ३१ गते राति गरुडा नगरपालिका वडा नम्वर ८ जिगडियाका २० वर्षीय निरञ्जन रामको घाँटी रेटेर हत्या भएको थियो । घटनामा संलग्न रहेको आशंकामा इलाका प्रहरी कार्यालय गरुडाले विजय रामसहित सात जनालाई हिरासतमा लिएको थियो ।

हिरासमतमा रहेका १९ वर्षीय विजयलाई चरम यातना दिएको र गम्भीर अवस्थामा पुगेपछि उपचारका लागि बिरगंज पठाइएको थियो । भदौ १० गते राति १ बजे नेशनल मेडिकल कलेज बिरगंजमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । मृत्युपछि दलितहरु भदौ ११ गतेदेखि आन्दोलन गर्दै आएका छन् । 

दोषी  प्रहरी अधिकारीहरु माथि कारवाहीको मागसहित प्रदर्शन हुँदै आएको छ भने परिवारजनले अहिलेसम्म शव बुझेका छैनन् । पोष्टमार्टमपछि विजयको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगंजमै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप