बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ जनकपुर–जयनगर रेल सञ्चालनको तयारी, कस्ता छन् रेलका विशेषता ?

शुक्रबार, ०२ असोज २०७७, १८ : ५२
शुक्रबार, ०२ असोज २०७७

जनकपुर । भारतबाट नेपाली रेलगाडी जनकपुरधाम आइपुगेको छ । ६ वर्षको लामो प्रतिक्षापछि कुर्था–जनकपुरधाम–जयनगरसम्म चल्ने २ सेट रेलको बोगी तथा ४ सेट इन्जिन पहिलो ट्रायलका लागि जनकपुरधाम ल्याइएको हो ।  बिहिबार भारतको जयनगर आइपुगेको नेपाली रेल दिउँसो अन्दाजी २ बजे जनकपुरधामस्थित प्लेटफर्ममा आइपुगेको थियो ।

 एक अर्बको लागतमा खरिद गरिएको रेल सेटको सुरुवाती ट्रायल गरिएको रेल विभागका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए । रेलको दुवै सेट जनकपुरधाम आई सकेपनि अहिले भने ट्रायलकै चरणमा रहेकाले उद्घाटनको कुनै कार्यक्रम नरहेको महानिर्देशक बलराम मिश्रले जानकारी दिए । उनले रेल सेटको सुरक्षाका लागि पुनः भारतको जयनगर स्टेशनमा नै फर्किने जानकारी दिए ।

दुवै रेलको सेटलाई अत्याधुनिक रुपमा डिजाइन गरिएको छ । भारतमा चल्ने इन्टर सिटी एक्सप्रेस जस्तै रेलको डिजाइन गरिएको महानिर्देशक मिश्रले जनाए । नयाँ रेलमा १ हजार ३ सय सिट क्षमता रहेको छ । महानिर्देशक मिश्रका अनुसार नयाँ रेल डिजेलबाट चल्ने छ । दुवै रेल सेटमा २/२ वटा इन्जिन लगाइएको छ । अगाडी र पछाडी दुवैतर्फ इन्जिन लगाइएकोले ओहोरदोहोर गर्नका लागि इन्जिन फेरबदल गर्नुपर्ने झन्झट नरहेको महानिर्देशक मिश्रले बताए । रेल सञ्चालनका लागि अझै डेढ महिना कुर्नुपर्ने जनाइएको छ ।

कोरोना संक्रमणको महामारीका कारण अहिले रेल सर्वसाधारण यात्रुका लागि सञ्चालनमा ल्याउनु घातक हुने महाप्रबन्धक भट्टराईले जानकारी दिए । उनले भने– ‘३ सय यात्रु यात्रा गर्ने विमानको सुरक्षाका लागि त विभिन्न तयारी गर्नु परिरहेका बेला रेलमा हजारभन्दा बढी यात्रु हुने हुनाले अहिले त्यो सम्भव छैन ।’ उनले भने– ‘यात्रु तथा रेलको सुरक्षाको सम्पूर्ण तयारी पूरा भएपछि मात्रै रेल्वे सञ्चालनमा ल्याउने हाम्रो योजना छ ।’ यदि कोरोना संक्रमण नियन्त्रण भए मात्रै डेढ महिनाभित्रै सर्वसाधारण यात्रुका लागि रेल सञ्चालनमा ल्याउने अन्यथा समय लम्बिने भट्टराईले बताए ।

रेल आएपछि सर्वसाधारणमा उत्साह
जनकपुरमा नेपाली ब्रोडगेज रेलको नयाँ इन्जिन आइरहेको जानकारी पाएलगत्तै शुक्रबार बिहानैदेखि सर्वसाधारणहरुमा अत्यन्तै उत्साह देखिएको थियो । हजारौको संख्यामा सर्वसाधारणहरु भीड लागेका थिए । सोही भीडमा ७८ वर्षीय हासिम नदाफ पनि थिए । उनले नेपालमा फेरि रेल सञ्चालनमा आउने भएपछि आफुहरु धेरै उत्साहित भएको बताए । उनले भने– ‘मैले जिन्दगीमा कोइलाबाट चल्ने ट्रेन देखे, स्टिम इन्जिनवाला ट्रेन पनि देखे, अब आधुनिक ट्रेन आउने भएपछि निक्कै उत्साहित छु ।’

रेल तत्कालका लागि ३५ किलोमिटर मात्रै चल्ने
वि.सं. १९९४ सालमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया कम्पनीले नेपालको जंगलबाट काठ लैजानका लागि रेल्वे लाइनको विस्तार गरेको थियो । त्यसबेला कोइलाबाट चल्ने रेल नेपाल भित्रिएको थियो । जसलाई जनकपुर–जयनगर रेल्वे भन्ने गरिएको थियो । पछि भारत सरकारले १८ वटा बोगीसहित वाष्प इञ्जिन सहयोग गरेपछि वि.सं. २०५१ सालदेखि स्टिम इन्जिनयुक्त रेल सञ्चालनमा आएको थियो । पछि नेरोगेज रेललाइनलाई विस्तार गर्नका लागि २०६१ साल माघ महिनादेखि रेल सेवा बन्द गरिएको थियो ।

नेरोगेजबाट ब्रोडगेजमा परिणत गरिएको रेललाइनमा पहिलो चरणमा ३५ किलोमिटरमा मात्रै रेल सेवा सञ्चालन गर्ने योजना रहेको रेल सेवा विभागका महानिर्देशक मिश्रले जानकारी दिए । भारतको जयनगरदेखि महोत्तरीको बर्दिवाससम्म ६९ किलोमिटर रेल्वे मार्ग ३ खण्डमा बन्दैछ । परियोजनाको प्रथम चरणमा जयनगर–कुर्था ३५ किलोमिटर, दोस्रो चरण अन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटर र तेस्रो चरणमा महोत्तरीको भंगहादेखि बर्दिवाससम्म १७ किलोमिटर खण्डमा रेल्वे सेवा सञ्चालनमा ल्याउने रेल विभागको तयारी छ ।

यसअन्तर्गत पहिलो चरणमा भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर रेल्वे सेवा सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार भइसकेको छ भने दोस्रो चरणमा सञ्चालन हुने भनिएको जनकपुरको कुर्थादेखि महोत्तरीको भंगहासम्म १७ किलोमिटरमा लिक निर्माणको काम पनि चाँडै नै सम्पन्न हुने विभागले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप