केन्द्रीय संस्करण
मेरो जीवन

गायक सीताराम पोखरेलको जीवन : प्रेमिका देखेपछि पुुलमुनि लुकेँ

person explore access_timeअसोज ४, २०७७ chat_bubble_outline0

नेपाली साङ्गीतिक क्षेत्रका चिनिएका गायक हुन् सीताराम पोखरेल । सानैदेखि गीतसङ्गीत भनेपछि हुरुक्कै हुने उनले औपचारिक गायन यात्रा विसं २०४४ मा ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीतबाट थालेका थिए । यो गीत रेडियो नेपालमा रेकर्ड भएको थियो ।

अहिलेसम्म दुई सयभन्दा बढी गीत तथा ७ वटा एल्बम बाहिर ल्याएका पोखरेलका धेरै गीतसङ्गीत आधुनिक नै हुने गरेका छन् । स्टेज तथा देशविदेशका कार्यक्रमलाई ध्यानमा राखेर केही डान्सिङ नम्बरसमेत बनाएका उनी केही दिनभित्रमै नयाँ गीत ल्याउने तरखरमा छन् । पोखरेले कलाकार पनि हुन् । आफ्नो गीतको म्युजिक भिडियोको अलवा उनले थुप्रै बाहिरको म्युजिक भिडियो, सानो पर्दाका शृङ्खला र फिल्ममा समेत अभिनय गरेका छन् ।

नेपाल आयल निगमका अवकास प्राप्त कर्मचारी समेत रहेका पोखरेलको समाजसेवातिर पनि त्यतिकै लगाव राख्छन् ।

२०७२ को महाभूकम्प, त्यसपछिको बाढीपीडित होस् वा अहिलेको कोरोनाको कहर । समाज सेवामा उनको सक्रियता त्यतिकै छ । उमेर उनको ढल्किँदो छ । तर उनको लवाइखवाइ, बोलीचाली र जोस जाँगर भने कुनै लक्का जवान भन्दा कम छैन । त्यसैले त उनको अझै विश्वमा नेपाल चिनाउने गीतसङ्गीत बनाउने सोच रहेको छ । कलाका विभिन्न क्षेत्रमा क्रियाशील सीताराम पाखरेलको जीवनका विभिन्न पाटाहरु रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना

नेपाली खाना दालभात, तरकारी र अचार मनपर्छ । खसीको मासु धेरै मीठो लाग्छ । ताजा र सफा सबै प्रकारको खाना मन पराउँछु । घिउ मन पर्दैन ।

साथीभाइ, फ्यामिलीसँग कहिले काही रेस्टुरेन्ट जान्छु । चिकेन साँधेको, कबाब, मम लगायत जिब्रोमा चट्ट स्वाद लाग्ने खाने कुरा रेस्टुरेन्टको मनपर्छ । पकाउन रुचि छ । अहिले पनि अरूले पकाएको चिया मनपर्दैन । आफै पकाउँछु । घरमा आवश्यक पर्दा सबै परिकार पकाउन सक्छु ।

मेरो फिट्नेस

मानिसमा जहिले पनि योङ देखिने चाहना हुँदो रहेछ । त्यसैले म फिट्नेसप्रति एकदमै सजग छु । बिहान करिब डेढ घण्टा पशुपति क्षेत्रतिर मर्निङवाक जान्छु । त्यहाँको सिँडी चढ्छु । जङ्गलमा केही क्षण ध्यान गर्छु ।

घरमा फर्किएपछि योगाका साधारण आइट गर्छु । फिट्नेका लागि साइकलिङ र अन्य केही सामान समेत घरमै छन् । त्यसमै एक्सरसाइज गर्छु । खानपिनमा समेत ध्यान दिन्छु ।

मेरो पोसाक

क्याजुअल पहिरन नै धेरै मनपर्छ । हल्का किसिमको सर्ट, पाइन्ट, टिसर्ट, ट्र्याकसुट लगायत धेरै प्रयोग गर्छु । फर्मल विशेष कार्यक्रममा जानुपर्दा सुटपाइन्ट लगाउँछु ।

यस्तो बेला सुट र एकै प्रकारको भन्दा पनि फरक प्रकारको मिसाएर लगाउन मनपर्छ । पहिरनमा मनपर्र्ने रङ्ग निलो हो । टोपी, ह्याट लगाउने बानी छैन ।

आफूलाई मनपर्ने, हेर्दा राम्रो देखिने पहिरन किनिहाल्छु । त्यसका लागि ब्रान्ड पनि हेर्दिनँ ।  भोलि किनौँला पनि भन्दिनँ । पहिरन धेरैजसो रेडिमेड नै किन्ने गरेको छु । ब्रान्ड नखोज्ने भएकाले खर्च धेरै छैन । कतिपयको एउटा लगाउने तर ब्रान्डेड, महँगो लगाउने बानी हुन्छ । मेरो चाहिँ सस्तो लगाउने र फेरी फेरी लगाउने बानी छ ।

मेरो अध्यायन

अध्ययन त मेरो रुचिको विषय हो । पत्रिकामा, फेसबुकमा, कतै जाँदा सुनेको, चर्चा भएको किताब खोजेर पनि पढ्ने गरेको छु ।

आत्मकथा, जीवनी, यात्रा संस्मरण लगायत पुस्तक पढ्न मनपर्छ । अहिले फेरि पल्पसा क्याफे पढ्दैछु । किताब नै पढ्नुपर्छ भन्ने बानी अहिले छैन । बिहान पत्रपत्रिका, अनलाइन समाचारका लागि नियमित पढ्छु ।

मेरो फुर्सद

फुर्सदको समय घुम्न, साथीभाइ भेट्न मनलाग्छ । यसो गर्दा केही नयाँ कुरा सिक्न सकिन्छ । पहिरवारसँग पनि घुम्न निस्किन्छु । जागिरको सिलसिलमा करिब ६६ जिल्ला पुगेँ होला । जहाँ पुगेँ त्यो जिल्ला पूरै घुमेको छु । फुर्सदमा घर परिवारलाई काम सघाउन पनि मनपर्छ ।

मेरो खेलकुद

सानोमा जिल्लामा टेबुलटेनिस, फुटबल खेलियो । त्यतिबेला म मोरङ जिल्लाकै टेबुलटेनिस र फुटबलको राम्रो खेलाडी पनि थिएँ । म लगायत केही साथी मिलेर त्यतिबेला स्पोटर््स क्लब गठन गरेका थियाँै ।

त्यसबाट अन्तर क्लब स्तरीय फुटबल गमेमा भाग लिन्थेँ । अहिले खेल्नेभन्दा पनि हेर्ने हो । टिभीमा फुटबल हेर्न धेरै मनपर्छ । मेरो मनपर्ने खेलाडी मेसी हुन् ।

मेरो मोबाइल

मसँग अहिले सामसुङ ब्रान्डको लेटेस्ट भर्सनको एउटा मोबाइल छ । मैले जति पनि मोबाइल प्रयोग गरेँ यही ब्रान्डकै प्रयोग गहिरहेको छु । सामसुङमा नयाँ भर्सन आउने बित्तिकै चेन्ज गर्छु । अनलाइन समाचार हेर्न, इमेल, फेसबुक, ट्विटरलगायत चलाउन मोबाइल प्रयोग हुँदै आएको छ ।

मोबाइल एक किसिमले भन्ने हो भने साथीजस्तै भएको छ । आफूलाई यो संसारको हरेक कुरामा अपडेट राख्न मोबाइल काम आउने गरेको छ । हराएको छैन । जागिरको सिलसिलामा इन्डियन आयलबाट धेरै पहिले एउटा मोबाइल गिफ्ट पाएको थिए । त्यो सामसुम ब्रान्डको नभएकाले अर्काे व्यक्तिलाई गिफ्ट दिए ।

मेरो टिभी

टिभी म बेलुका ६ बजेपछि नियमित हेर्छु । समाचार, अन्तरवार्ता, म्युजिक भिडियोहरु हेर्छु । पछिल्लो समय टिभीमा धेरै फिल्महरु हेर्ने गरेको छु ।

यो कोरोनाको बन्दाबन्दीमा करिब डेढ सय बढी साउथ फिल्महरु टिभीमा हेरेँ होला ।

मेरो चलचित्र

फिल्म धेरै हेर्छु । नेपाली, हिन्दी, साउथ, अङ्ग्रेजी सबै प्रकारका हेर्ने गरेको छु । नेपाली फिल्म प्रायः हलमै गएर हेर्छु ।

हिन्दी र साउथ टिभीमा हेर्छु । साउथ फिल्मको निर्माण पक्ष धेरै मनपर्छ । नेपाली फिल्मका मेकर सबै चिनेको भएकाले कुन साथीले कस्तो फिल्म बनाए भनेर पनि हेर्नुपर्छ । पछिल्लो समय हेरेको फिल्म ‘छ माया छपक्कै’ हो कि ।

मेरो गीत सङ्गीत

गीत सङ्गीत मेरो रुचिको विषय पनि हो । स्लो, आधुनिक, मेलोडियस् गीत गाउन मनपर्छ । सुन्न भने फास्ट टाइपको मनपर्छ । मैले आधुनिक, पप खालका गीत बजारमा आएका छन् ।

सानैदेखि मेरो गीतसङ्गीतमा रुचि थियो । स्कुलपढ्दा समेत विभिन्न अवसरमा गाउँथे । कलेज पढ्दा पनि स्वागत र बिदाइ कार्यक्रममा गाउँथे ।

मेरो औपचारिक गायन यात्राको सुरुवात भएको  २०४४ बाट हो । ‘सजाइदियौ जिन्दगी मेरो’ बोलको गीत त्यतिबेला रेडियो नेपालमा रेकर्ड भएको थियो ।

त्यसपछि गायनमा म लगातार छु । अहिलेसम्म दुई सय बढी गीत गाइसकेँ । तीमध्ये केही स्टेज सो, विदेशका कार्यक्रम र मेला महोत्सवका लागि भनेर डान्सिङ बिटमा समेत बनाएको छु ।

एल्बम भने ७ वटा आएका छन् । गायनमा खुसी छु । अबको जीवन गायनमै बिताऊँ भन्ने इच्छा छ । हालसालै केही गीत रेकर्ड गराएको छु । छिट्टै सार्वजनिक गर्छु । कलाकार भएर जागिरे जीवन समेत बिताएँ ।

मेरो पेसा

नेपाल आयल निगमको पूर्वकर्मचारी हुँ । २०४४ मा वरिष्ठ सहायकबाट नोकरी सुरु गरेको थिएँ । आयल निगमको प्रवक्ता, निर्देशक भएर जागिर छोडेँ ।

आयल निगममा हुँदा सबैभन्दा धेरै जिल्ला घुम्ने कर्मचारी पनि मै होला । जागिरको सिलसिलामा करिब ६६ जिल्ला पुगे । जागिरको सिलसिलामा आयल सटेज हुँदा एकदमै दुःख हुन्थ्यो । सबैबाट तेलका लागि दबाब आउँथ्यो । अफिसियल कुरामा भने ममाथि कुनै पनि अन्याय भएन । गुनासो गर्नुपर्ने ठाउँ रहेन । जागिरे जीवनमा गायक हुँदा धेरै सजिलो हुँदो रहेछ ।

मेरो सपना

नयाँ र नवीनतम् गीतसङ्गीत सिर्जना गर्न सकौँ । देशमा शान्ति छाएर आर्थिक समृृद्ध होस् । हामी सबै नेपालीले सुखको सास फेर्न पाइयोस् । यो सपना मेरो मात्र होइन सबैको हो ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । डाइबेटिज देखिएको छ । यो पनि म आफैले निम्त्याएको हो । किनभने स्वस्थ्यमा ध्यान नदिएर मैले जे पनि खाए । त्यसको परिणाम हो यो । अहिले पनि मैले खानेकुरो कन्ट्रोल गर्ने गरेको छैन ।

मेरो प्रेम

२०३९ मा काठमाडाँै पढ्न आएको थिएँ । कलेज अध्ययन गर्दै बिहान बेलुका ट्युसनसमेत पढाउँथे । सोही समय एउटा केहीसँग प्रेम बसेको थिए । त्यतिबेला उनीसँग साझा बसमा गोकर्ण, पाटनतिर डेटिङ गइन्थ्यो ।

काठमाडाँैमा म प्रेमीकासँग डेटिङ गर्थें, उता विराटनगरमा बुबाआमाले विवाहका लागि केटी ठीक पार्नु भएछ । बुबाआमाले हेरेको केटीसँग २०४४ सालमा विवाह गरे । ०४४ मेरा लागि तीन संयोग छ । त्यो के भने यसै वर्ष विवाह पनि  गरेँ, गायन यात्रा पनि सुरु भयो र जागिर पनि खाएँ ।

विवाहपछि श्रीमती काठमाडौँ ल्याएको थिए । काठमाडौँ घुमाउने क्रममा सिंहदरबार घुमाउन लाँदै गर्दा बाटोमा अर्काे साइटबाट गर्लफ्रेन्ड आएको देखेपछि डरले श्रीमती छोडेर हनुमानथानको पुलमुनी लुकेँ ।

विवाहपछि श्रीमतीसँगै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चल्दैछ ।

मेरो कलाकारिता

मेरो अभिनयको यात्राको सुरुवात २०४५ सालबाट भएको हो । त्यतिबेला नेपाल टेलिभिजनमा अभिनय गर्थें । म्युजिक भिडियो अभिनयको सुरुवात भने २०५८ बाट भयो । त्यसपछि म्युजिक भिडियो, टेलिसिरियल, फिल्महरु अभिनय थुप्रै गरेको छु ।

फिल्महरुमा धेरै समय दिन नभ्याइने भएकाले डाक्टर, इन्जिनियर, प्रोफेसर, प्रहरी निरीक्षक लगायतका ठिकठिकै भूमिका निर्वाह गरेको छु । आफ्नो गीतको म्युजिक भिडियोमा महिला मोडलसँग म आफै नाच्छु ।

मेरो समाज सेवा

समाज सेवामा मेरो रुचि सानैदेखिको हो । सानैदेखि मद्दत गर्न अगाडि सर्ने मेरो बानी रहँदै आएको छ । अरूको सेवा गर्न पाउँदा मनमा आनन्द लाग्छ ।

अक्टोबर ४ मा मेरो जन्मदिन पर्छ । हरेक वर्षको यो दिनमा म अपाङ्ग, टुहुरा, असाय, वृद्धवृद्धा, बालबालिका लगायतलाई लताकपाडा, कापी कलम, खाद्यान्न लगायत दिने गर्दछु । अब्ठ्यारोमा परेको, दुःख पाएको भेट्दा, देख्दा सकेको सहयोग गर्न गर्ने गर्दछु । सामाजिक काममा पनि परेको ठाउँमा दौडिन्छु । भूकम्प, बाढी पहिरो होस् वा कोरोना महामारी समय, अब्ठ्यारोमा परेकालाई सक्दो सहयोग गरेको छु ।

मेरो दुःख

दुःख नपरेका त मान्छे नै हुँदैनन् । अप्ठ्यारोमा पर्दा आफन्तबाट सहयोग मिलेन भने दुःख लाग्दो रहेछ । आर्थिक अभाव पनि दुःख नै रहेछ ।

मेरो मापसे

म मापसे कहिलेकाहीँ गर्छु । महिनामा एक, दुई पटक पार्टी, भोजभतेर र कार्यक्रममा गर्छु । घरमा मासु ल्यायो कि रक्सी खाने बानी मेरो छैन । मेरो मनपर्ने रक्सी ब्ल्याक लेबल हो । रक्सी घरमा सजाएर राखेको पनि छैन । रक्सी खाने मानिसले किनेपछि कहिले सकाँै जस्तो गर्छन् । मलाई भने सकिन्छ कि भन्ने डर लाग्छ ।

मेरो राशि

मेरो राशि तुला हो । ग्रह दशामा विश्वास लाग्छ । हेराउने जुराउने गरेको पनि छु । हरेक दिन पूजापाठ गर्छु । बार अनुसारको भगवानको जप गर्छु ।

मेरो मृत्यु

मृत्यु एक अन्तिम सत्य हो । भवितव्य हो । कसको कसरी मृत्यु हुन्छ भनेर कसैले भन्न सक्दैन । रोगले थलिएर, आफन्तलाई दुःख दिएर मृत्यु नहोस् भन्ने चाहना छ । बोल्दाबोल्दै,   हाँस्दाहाँस्दै, खेल्दा खेल्दै मृत्य होस् भन्ने चाहना छ ।

तस्बिर : कृष्ण खड्क

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.