बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार मुद्दा मिलाउन खोज्ने जनप्रतिनिधि लखेटिए, आरोपितविरुद्ध मुद्दा दर्ता

आइतबार, ०४ असोज २०७७, १३ : २७
आइतबार, ०४ असोज २०७७

रौतहट । बारा जिल्लामा बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउन खोज्ने एकजना जनप्रतिनिधि लखेटिएका छन् । प्रहरीले आरोपितमाथि ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको छ ।

गाउँस्तरमै कथित भद्रभलाद्मीहरुको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको भन्दै सुवर्ण गाउँपालिकाका युवाले वडा नम्बर ५ का अध्यक्ष रामएकवाल साहलाई पञ्चायतीबाटै लखेटेका छन् ।

सोही वडाका आरोपित २२ वर्षीय शिवपुजन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जबरदस्ती करणी मुद्दा दर्ता भएको छ ।

पिडित १२ वर्षीय बालिकाको शनिबार जिल्ला अस्पताल कलैयामा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ ।

के हो घटना ?

गत शुक्रबार राति ८ बजे सुवर्ण गाउँपालिका–५ औरैयाकी ती बालिका आफ्नो बुवालाई खाना खान बोलाउन घरबाट केही पर रहेको गोठतर्फ गइरहेकी थिइन् । सोहीक्रममा शिवपुजन यादवले बालिकाको मुख गम्छाले थुनेर नजिकैको गोठमा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाइ छ ।

मुख थुनिएको अवस्थामा पनि बालिका चिच्याएपछि छिमेकीहरु गोठमा हेर्न जाँदा आरोपित व्यक्ति भागेको र छिमेकीहरुले बालिकालाई उद्धार गरेको स्थानीय युवा विनोदप्रसाद यादवले बताए ।

घटनाको भोलिपल्ट वडा अध्यक्ष रामएकवाल साहले पञ्चायती राखेर एकलाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको देखेर आक्रोसित युवाले वडा अध्यक्ष साहलाई लखेटेको प्रत्यक्षदर्शीको भनाइ छ ।

घटना लेनदेनबाट नमिल्ने देखेर घटनाका आरोपी शिवपुजन यादव शनिबार वडा अध्यक्षकै ईशारामा भारततर्फ भागेको स्थानीय वासिन्दाको आरोप छ ।

पीडितका बाबुको जाहेरीका आधारमा आरोपित शिवपुजन यादवविरुद्ध मुद्दा दर्ता भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए । घटनाबारे थप अनुसन्धान तथा आरोपितको खोजी भईरहेको उनले बताए ।

वडा अध्यक्ष साहद्वारा युवाविरुद्ध मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब

बलात्कार मुद्दा लेनदेनमा मिलापत्र गराउन खोज्दा आफूलाई लखेट्ने युवाहरुविरुद्ध वडा अध्यक्ष रामएकवाल साहले अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न प्रहरीलाई दबाब दिएका छन् ।

गाउँका ७ जना युवाविरुद्ध मुद्दा दर्ता गर्न दबाब दिइरहेको प्रहरी स्रोतले जनाएको छ । पञ्चायती बसिरहेको समयमा आफुलाई लखेटेर हातपात समेत गरेको भन्दै उनले ती युवाविरुद्ध मुद्दा दर्ता गर्न दबाब दिएका हुन् ।

वडा अध्यक्ष साहले आफुमाथि लागेको आरोप निराधार रहेको दावी गरेका छन् । केही विपक्षीले आफूलाई बदनाम गराउनका लागि यस प्रकारको षडयन्त्र गरेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप