शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान दिवसको अवसरमा राजदूत सुवेदी सहित बेलायतबाट तीनजना विभूषित

आइतबार, ०४ असोज २०७७, १८ : ४८
आइतबार, ०४ असोज २०७७

लन्डन ।  संविधान तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रदान गरिएको सुप्रबल जनसेवाश्री विभूषणबाट बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री), र व्यवसायी एवं समाजसेवी रवी जंग  लामिछाने  विभूषित भएका छन् ।

यसैगरी   कीर्तिमानी पर्वातारोही निर्मल पुर्जा पनि कीर्तिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित भएका छन् । संविधान दिवसको अवसर पारेर राष्ट्रपति भण्डारीबाट ५ सय ९४ जनालाई विभूषण घोषणा गरिएको छ ।

डा दुर्गा बहादुर सुवेदी (दुवसु क्षेत्री)- सुप्रवल जनसेवाश्री 

सन् २००१६ को अन्तबाट बेलायतको २० औं राजदूतको रुपमा कार्यभार सम्हालेका राजदूत डा  सुवेदी  संविधान  दिवस २०७७ को अवसरमा राष्ट्रपतिबाट सुप्रबल जनसेवाश्री विभूषणबाट विभूषित भएका छन् ।

सुवेदीले  बेलायतको आर्थिक, सामाजिक, कूटनीतिक र प्रशासनिक लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । एक राजदूतको रुपमा मात्र नभएर एक स्रष्टा र साहित्यानुरागी व्यक्तिका रुपमा पनि बेलायतको नेपाली डायस्पोरासंग सामिप्यमा रहेर नेपाल र नेपालीको परिचय, पहिचान एवं प्रतिष्ठा बढाउने प्राज्ञिक, वौद्धिक, साहित्यिक र सांस्कृतिक क्रियाकलापहरुमा सदैव संलग्न रहँदै आएका छन्  । 

बेलायतमा नेपाली समाजलाई जीवन्त र गतिशील बनाउन नेपाली भाषा, कला साहित्य, संगीत, संस्कार र संस्कृति एवं पर्व र परम्पराहरुको संरक्षण, सम्वर्धन अपरिहार्य रहेकोले यसको जगेर्ना सबै एक जुट हुनुपर्ने बताएका छन् । 

नेपाली साहित्य विकास परिषद यूकेको पदेन संरक्षक समेत रहेका राजदूत तथा वरिष्ठ साहित्यकार दुबसु क्षेत्री बेलायतमा नेपाली साहित्यलाई थप उचाईंमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन्  । 

ब्रिटेन नेपालबीचको कुटनैतिक पहलमा उनको  भूमिका निकै अब्बल रहेको छ ।  विगत लामो समय देखि चल्दै आएको भूतपूर्व गोर्खा समस्याको कूटनीतिक समाधानको पहल तथा नेपाल सरकार र ब्रिटेनबीचमा  विभिन्न उच्चस्तरीय कार्यको  मध्यस्थताको भूमिका निर्वाह गरि  आपसी हित र  सहयोगको भावना सृजना गर्ने काममा  सुवेदीले महत्वपूर्ण भूमिका निर्वाह  गरे । 

राजदूत सुवेदीकै कार्यकालमा नेपालका  प्रधानमंत्री  केपी शर्मा ओली, पररास्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत दुइ देश बीच उच्चस्तरीय भ्रमण र वार्ताहरु सम्पन्न भए ।

 नेपालको क्रिकेट टोलीले दुई पटक बेलायतमा आएर क्रिकेट खेलेका थिए । पछिल्लो समयमा अन्य धेरै महत्वपूर्ण  योजनाहरु कोभिड १९ का कारण अधुरा रहन पुगे । 

नेपालका विभिन्न नगरपालिकासँग  भगिनी सम्बन्ध जोडेर देशको तल्लो निकायसम्म सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका  निर्वाह गरे ।

समाजसेवी एवं व्यवसायी रवी जंग लामिछाने - सुप्रवल जनसेवाश्री

बेलायतमा बसेर  निस्वार्थ भावनाले देश र जनताप्रति समर्पित लण्डनका एक सफल व्यवसायी एवं सामाजसेवी रवीजंग लामिछाने  संविधान  दिवस २०७७ को अवसरमा राष्ट्रपति विद्या भण्डारीबाट सुप्रवल जनसेवाश्री विभूषणबाट  विभूषित भएका छन्   उनले नेपालको धार्मिक, संस्कृतिक काममा मात्र नभई  सरकारलाई अप्ठेरो पर्दा समेत सहयोग गर्दै आएका छन् । 

लामिछानेले नेपाल र बेलायतस्थित नेपाली समुदायका लागि निरन्तर सहयोग गर्दै आएका छन् । लामिछानेले केही साता अघिमात्र नेपालमा ‘कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी सरकारी कोष’ मा १५ लाख १७ हजार ७ सय २७ रुपैयाँ सहयोग गरेका थिए । २०७२ सालको भूकम्पको बेला पनि उनले ५१ लाख रुपैयाँ सहयोग गरेका थिए । 

नेपालमा मात्र नभएर उनले बेलायतको स्थानीय क्षेत्रमा पनि उत्तिकै सहयोग पुर्याउंदै आएका छन् । बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरका लागि पनि सबैभन्दा बढी करिब २१ लाख रुपैयाँ चन्दा दिएका थिए ।

नेपालमा दर्जनौं बालबालिकाको पठनपाठनमा सहयोग पुर्याउंदै आएका छन्  । यस सम्मानबाट आफूलाई राष्ट्रसेवामा थप प्रेरित गरेको र देशप्रति आफ्नो दशकौं लामो निस्वार्थ योगदान नै यस पदकको प्रतिफल भएको लामिछानेले बताए ।

कीर्तिमानी  पर्वतारोही निर्मल पुर्जा - कीर्तिमय राष्ट्रदीप चतुर्थ पदक

पूर्व गोर्खा तथा कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा कीर्तिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित भएका छन् । पुर्जाले विश्वका ८ हजार मिटर अग्ला १४ हिमाल सात महिनामै आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन्  । उनले आरोहण गरेका ८ वटा हिमाल नेपालमै पर्दछन भने अन्य हिमाल पाकिस्तान र चीनमा पर्दछन  । 

उनले धौलागिरी हिमालमा अक्सिजनविना नै आरोहण गरेका थिए । छोटो समयमा हिमाल आरोहण गरि विश्व कीर्तिमानी कायम गरेका पुर्जाले आरोहणका क्रममा अलपत्र परेका थुप्रै आरोहीहरुलाई उद्धार समेत गरेका छन् । सन् २००३ मा ब्रिटिस सेनामा पुगेका पुर्जालाई सन् २०१८ मा रानी एलिजावेथले एमबीई प्रदान गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप