शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सावधान ! गुणस्तरहीन सेनिटाइजरले रोगी बनाउँछ

कस्तो सेनिटाइजरले हात सफा गर्ने?
सोमबार, ०५ असोज २०७७, ०९ : २७
सोमबार, ०५ असोज २०७७

कोभिड–१९ अर्थात् कोरोनाभाइरसको महामारी फैलिएसँगै यसबाट बच्नका लागि नियमित रुपमा साबुनपानी तथा सेनिटाइजरले हात धुने बानीको विकास भएको छ । साबुनपानी भन्दा सेनिटाइजरले हात सफा गर्न सजिलो हुने हुुँदा सेनिटाइजरको प्रयोगकर्ता बढ्न थालेका छन् ।

तर सेनिटाइजरको प्रयोग गर्दा सावधानी अपनाइएन भने त्यो घातक पनि हुन सक्ने विज्ञहरु बताउँछन् । माग बढेसँगै नाफाखोरहरुले बजारमा गुणस्तरहीन सेनिटाइजरको कारोबारमार्फत बढीभन्दा बढी मुनाफा आर्जनको लालच गर्नु स्वाभाविक हो । तर गुणस्तरहीन सेनिटाइजरले हात सफा गर्दा छाला सम्बन्धी रोग, आँखामा समस्या, क्यान्सरलगायतको समस्या हुन सक्ने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का डा. सुरेशकुमार ढुङ्गेल  बताउँछन् ।

औषधि व्यवस्था विभागले मापदण्डविपरीत उत्पादन गरिएका सेनिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन ‘मिथानोल’ भेटिएपछि केही कम्पनीका सेनिटाइजरलाई प्रतिबन्ध लगाएको हो ।

बजार पाइने सबै प्रकारका सेनिटाइजर उपयोगी हुन नसक्ने डा. ढुङ्गेल बताउँछन् । नाष्टले बजारमा आएका सेनिटाइजर परीक्षण गर्दा केहीमा घातक रसायन पाइएको उनी बताउँछन् ।

औषधि व्यवस्था विभागले अनुगमन गर्दा गुणस्तरहीन सेनिटाइजरमा विषाक्त रसायन मिथानोल राखिएको पाएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले बताए । बजार उपलब्ध केही गुणस्तरहीन सेनिटाइजरमा इथानोल राख्नुपर्ने ठाउँमा विषाक्त रसायन मिथानोल राखिएको र अल्कोहल, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइड आदिको मात्रा नमिलाई केही कम्पनीले उत्पादन गरेको पाइएको उनको भनाइ थियो ।

सम्पदा हेल्थकेयर प्रालि इमाडोल ललितपुरको सासा इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, चीनको ग्वाङ्झाओ ओबोपेकल फाइन केमिकल कम्पनी लिमिटेडद्वारा उत्पादित ओपेकल नन–वासिङ एन्टीब्याक्टेरियल सोलुसन, आरएल कर्प इण्डिया बालसद गुजरात भारतको पामाकेयर इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर र श्रीनाथ हर्बल एण्ड कस्मेटिक इण्डस्ट्री काठमाडौँको युनिकेयर इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजरमा प्रतिबन्ध लगाइएको हो । विभागले सर्वसाधारणलाई सूचनामार्फत ती सेनिटाइजर प्रयोग नगर्न आग्रह गरेको छ ।

यसअघि पनि विभागले काठमाडौंका ४ र भक्तपुरको १ उद्योगलाई क्षतिपूर्तिसहित जरिवाना र उत्पादन बन्द गराउने गरी कारवाही गरेको थियो ।

गुणस्तरीय सेनिटाइजर यसरी पत्ता लगाउन सकिन्छ

बजारमा गुणस्तरहीन सेनिटाइजर आउन थालेपछि उपभोक्ता अन्योलमा पर्नु स्वाभाविक हो । कस्तो सेनिटाइजर उपयुक्त हुन्छ र कस्तो घातक हुन्छ भन्नेबारे उपभोक्तालाई राम्रो ज्ञान नहुँदा अन्योल बढ्ने गर्दछ ।

कोरोनाभाइरस महामारी बढेपछि बजारमा उपलब्ध सेनिटाइजरहरुको प्रभावकारीको ढङ्गले अध्ययन तथा अनुसन्धान भएको छैन । सेनिटाइजरले हात धोएको अवस्थामा हातमार्फत कोरोना संक्रमण फैलनबाट रोक्न सकिने तथ्य प्रकाशमा आएसँगै मानिसमा सेनिटाइजर खरिद गर्ने होड नै चल्यो तर कस्तो सेनिटाइजर उपयुक्त हुन्छ भन्नेबारे जनचेतना जगाउने वा आफैले पनि जानकारी लिनेतर्फ अधिकांशको ध्यान गएको छैन ।

बजारमा पाइने सेनिटाइजरमध्ये औषधि व्यवस्था विभागमा दर्ता भएका सेनिटाइजर प्रयोग गर्नु उपयुक्त हुने प्रवक्ता केसी बताउँछन् । अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत भएको सेनिटाइजर प्रभावकारी हुने उनको भनाइ छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले  कोरोना महामारी सुरु भएपछि सेनिटाइजर उत्पादनका लागि राजधानीका विभिन्न स्थानीय तहलाई तालिमसमेत दिएको थियो ।

रक्सीबाट इथानोल अल्कोहल निकालेर ग्लिसिरिन, डिस्टिलवाटर, हाड्रोजन पेरोअक्साइडको समिश्रणबाट सेनिटाइजर बनाउने तरिका नाष्टले स्थानीय तहलाई सिकाएको थियो ।

नाष्टका प्रवक्ता डा. ढुंगेलका अनुसार इथानोल अल्कोहल ८० प्रतिशत, ग्लिसिरिन १.४ प्रतिशत, डिस्टिलवाटर १८.८४  प्रतिशत र हाइड्रोजन पेरोअक्साइड ०.१२ लाई राम्ररी घोलेपछि घरेलु सेनिटाइजर तयार हुन्छ ।

बजारमा पाइने शुद्धीकरण गरिएको इथानोल अल्कोहल अर्थात् स्प्रिटबाट पनि सेनिटाइजर बनाउन सकिन्छ ।  

साबुनपानी वा सेनिटाइजरमध्ये कुन उपयुक्त ?

छिटोछरितो हुने भएकाले सेनिटाइजरको प्रयोग गर्नेहरुको संख्या बढ्दो छ । तर साबुनपानीले हात सफा गर्न मिल्ले अवस्था रहेसम्म साबुनपानीकै प्रयोग गर्नु राम्रो हुने औषधि व्यवस्था विभागका प्रवक्ता केसी बताउँछन् ।

घरभित्रै रहेको अवस्थामा सेनिटाइजरको साटो साबुनपानीले नै हात धुनु फाइदाजनक हुने उनको भनाइ छ । घरबाहिर निस्कदा, सवारी साधनमा यात्रा गर्दा, कार्यालयमा काम गर्ने क्रममा वा साबुनपानी उपलब्ध नभएको ठाउँमा सेनिटाइजरको प्रयोग  गर्न उचित हुने उनले बताए ।

बजारमा पाइने सेनिटाइजर कोरोनाभाइरस तथा व्यक्तिगत सरसफाइको लागि कति प्रभावकारी छन् भन्ने बारेमा  पूर्णरुपमा अध्ययन नभएको बेला सम्भव भएसम्म साबुनपानीले नै हात सफा गर्नु राम्रो हुने विज्ञहरुको भनाइ छ । नेपालमा हालसम्म ४२ भन्दा बढी कम्पनीले सेनिटाइजर उत्पादन गर्दैआएका छन् ।

शहरी क्षेत्रमा सेनिटाइजरको अत्याधिक प्रयोगले साबुनपानीले हात धुने बानी ओझेलमा पर्दै गएको छ । त्यसैले साबुनपानी उपलब्ध नहुने स्थानमा मात्रै सेनिटाइजरको प्रयोग गर्न उपयुक्त हुने स्वास्थ्यकर्मी बताउँछन् । साबुनपानीले हात धुँदा २० सेकेन्डसम्म हात मिच्नुपर्ने उनीहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप