मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकमा पहिरोको कहर : पीडित भन्छन् – हामीलाई सुरक्षित स्थानमा सारियोस् (भिडियो)

३३ सय परिवार विस्थापित
सोमबार, ०५ असोज २०७७, १२ : ५३
सोमबार, ०५ असोज २०७७

२०७२ सालमा विनाशकारी भूकम्पले सबैभन्दा ठूलो चोट दिएको सिन्धुपाल्चोकवासीलाई यस वर्षको भारी वर्षा र पहिरोले अर्को घाउ लगाइदिएको छ । यो वर्षको मनसुन सुरु भएयता सिन्धुपाल्चोकमा पहिरोका कारण ७७ जनाले ज्यान गुमाएका छन् भने ३८ जना वेपत्ता भएका छन् । यस्तै झन्डै ३३ सय परिवार थातथलो छोडेर विस्थापित भएका छन् ।

विस्थापित भएका परिवारका लागि त्रिपाल, टेन्ट, भाडाँकुडा, खानेकुरा, कम्बल लगायता सामग्री उपलब्ध गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत सबै प्रभावित क्षेत्रका पालिकाहरुमा आवश्यक सामग्री पठाएको छ । हामीले व्यवस्था गरेको, सभामुखज्यूको पहलमा प्राप्त भएका सामग्रीहरु सबै प्रभावित क्षेत्रमा पु¥याइएको छ । खानेपानी, स्वास्थ्य सामग्री वितरण गरिएको ।’

सिन्धुपाल्चोक जिल्ला भर पहिरोबाट १ सय ६० घर पूर्णरुपमा क्षति भएको छ । घर क्षति भएका परिवारलाई १५ हजार राहतको व्यवस्था गरिएको छ भने मृतक परिवारलाई एकजनाको मृत्यु भएमा २ लाख रुपैयाँ र एउटै परिवारमा थप अरुको मृत्यु भएअनुसार थप १ लाख थपका दरले राहत दिने काम भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । मृतक परिवारलाई राहत उपलब्ध गराउने काम भइरहेको उनले बताए ।

बाह्रबिसेमा सबैभन्दा धेरै मानवीय क्षति

सिन्धुपाल्चोकको बाह्रबिहे नगरपालिकामा मात्रै यो वर्ष बाढी पहिरोको कारण ११ सय घरपरिवार विस्थापित भएको सो नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले रातोपाटीलाई जानकारी दिइन् ।

सो नगरपालिकामा गत साउन २४ गते राति र भदौ २८ गते रातिको भीषण बाढी पहिरोको घटनामा सबैभन्दा धेरै मानवीय क्षति भयो ।

गत साउन २४ गते राती जम्बु भन्ने स्थानमा माथिबाट आएको बाढी र पहिरोले १९ जनाले ज्यान गुमाए जसमा १७ जना बेपत्ता भए भने २ जनाको मात्र शव भेटियो ।

कोदारी राजमार्गको सडकछेउ भोटेकोशी खोलाको किनारमा अस्थायी रुपमा बसेकाहरुले ज्यान गुमाउनुप-यो । उनीहरुको घर माथि ठाडो खोलामा आएको लेदोयुक्त बाढी र पहिरोले मध्यरातमा घर बगाउँदा ठूलो मानवीय क्षति हुनपुग्यो । जहाँ २५ घर विस्थापित भए ।

नागपुजे/भीरखर्कमा ३१ जनाको मृत्यु, ८४ घरपरिवार विस्थापित

गत भदौ २८ गते बाह्रबिहे नगरपालिकाको वडा नम्बर ७ मा रहेको भीरखर्क र नागपुजेमा राति २ बजे गएको पहिरोमा परी ३१ जनाले ज्यान गुमाए । उनीहरुमध्ये १६ जनाको शव प्राप्त भएको छ भने अझै १५ जना हराइरहेका छन् । पहिरोमा १६ घर पूर्णरुपमा क्षतिग्रस्त हुनुका साथै पहिरोले बेपत्ता पारेको छ ।

पाखाघर र भीरखर्क ८४ घरपरिवार विस्थापित भएका छन् भने उनीहरुलाई अहिले अस्थायी टेन्टमा राखिएको छ ।

यस्तै नागपुजेमा १ सय घर प्रभावित छन् । उनीहरु कतिबेला  माथिबाट पहिरो झर्छ भन्ने त्रासमा रहेका छन् । सो गाउँमा माथिबाट पनि पहिरो झरेको छ भने गाउँको दायाँ बायाँ दुई तिर ठूलो पहिरो गएको छ ।

विस्थापित भएकाहरुको आधारभूत आवश्यकता पूरा गरिएको नगरपालिका उपप्रमुख पाख्रिनले बताइन् । एक हप्तासम्म विस्थापितहरुलाई सामुहिक रुपामा खाना खुवाइएको थियो भने अहिले ६१ वटा टेन्ट बनाएर राखिएको छ । नगरपालिका, नेपाल प्रहरी र नेपाली सेनाले व्यवस्थापनको काम गरेका छन् । विस्थापितहरुका लागि ग्याँस, खानेकुरा, ट्वाइलेटको व्यवस्थापन गरिएको छ ।

उपप्रममुख सुशीला पाख्रिनले भनिन्–‘हामीले सानो सानो कुराको पनि व्यवस्थावन गरेका छौँ । विस्थापितहरुलाई बस्न अहिले सहज भएको छ । म आफै फिल्डमा खटिएको ८ दिन भयो । उनीहरुलाई सरसफाइ गर्न सिकाउने, त्यसको व्यवस्थापन गर्ने काममा खटिँदा धेरैजसो म रातिको ११ बजे घर आइपुग्थेँ । खाना कसरी खुवाउने, कसरी चिसो भूइँमा सुत्नबाट जोगाउने भन्नेमा चिन्ता थियो । तर, अहिले हामीले त्यसको व्यवस्थापन गरिसकेका छौँ ।’

अहिले विस्थापितको लागि ६१ वटा टेन्ट अन्र्तगत ५ वटा ब्लक बनाइएको छ । प्रत्येक ब्लकको एकजना महिला र एकजना पुरुष रहने गरी टोली नेता बनाइएको छ । टोली नेताले टेन्टमा परेको समस्या प्रहरी तथा नगरपालिका प्रतिनिधिलाई सुनाउने गरी व्यवस्थापन गरिएको छ ।

सिन्धुपाल्चोकमा जम्बु र नागपुगेमा सबैभन्दा धेरै मानवीय क्षति भएको थियो । यता, खाग्डोल गाँउमा २६ घरधुरीमध्ये १२ घर पूर्णरुपमा क्षति भएको थियो । घर छोडेर गएकाहरु नभत्केको घरमा अहिले फेरि बस्न थालेका छन् ।

यस्तै हुन्डुङ गाउँका ५० घरधुरी पनि पहिरोको जोखिममा छन् । उनीहरुले सुरक्षित स्थलमा बस्नका लागि नगरपालिकासँग त्रिपाल मागेका छन् ।

आरुचे गाउँका २६ घर, ढकालगाँउका १५ घर जोखिममा छन् । बाह्रबिसे नगरपालिकाले उनीहरुलाई पनि त्रिपाल टाँगेर सुरक्षित ठाउँमा सारिएको नगरपालिका उपप्रमुख पाख्रिनले जानकारी दिइन् ।

सोही नगरपालिकाको डाडाँगाँउ ताङसार गाउँमा १४ घर धुरी परिवार पहिरोको जोखिममा रहेका छन् । जोखिम बढेपछि थातथलो छोडेका छन् । पहिरोका कारण मानवीय क्षति नभएपनि जोखिमका कारण उनीहरु विस्थापित भएका छन् । समथर ठाँउमा सरेका उनीहरुले त्रिपालको माग गरेका छन् । वडा नम्बर २ मा रहेको चालिसे वस्ती पनि जोखिममा रहेको छ । 

बाह्रबिसे नगरपालिका भित्र ११ सय घर केही न केहीमा रुपमा बिस्थापित भएको उपप्रमुख पाख्रिनले बताइन् । उनले भनिन्–‘कसैको घरसहित एक टुक्रा जग्गा नहने गरी जग्गा पहिरोले लगेको छ । २४ गतेको पानी र पहिरोले धेरै परिवार विस्थापित भएका छन् । ठूला–ठूला कृषि फर्महरु लगेको छ । धेरै पशुचौपायाहरु, खेतीयोग्य जमिनको क्षति भएको छ ।

पहिरो प्रभावित भन्छन्, ‘हामीलाई सुरक्षित स्थानमा सारियोस्

बाह्रबिसे, नागपुजे र भीरखर्कका स्थानीयले आफ्नो बस्ती जोखिमका रहेकोले सुरक्षित स्थानमा सारिदिन आग्रह गरेका छन् । गत भदौ २८ गतेको पहिरोले गाउँ थङथिलो पारेको र सो स्थानमा बस्नका लागि सुरक्षित नभएको उनीहरुको भनाई छ ।

भीरखर्ककी कान्छी लामा र मसली अधिकारी अहिले विस्थापित भएका छन् । उनीहरु अहिले टेन्टमा बसेका छन् । बस्ती जोखिममा रहेकाले सुरक्षित सारिदिन आग्रह गरेका छन् । गाउँको दायाँ बायाँ र माथिबाट पहिरो आएको गाउँको बीच भाग बाँकी रहेको उनीहरुले बताए ।

नागपुजेका विष्णु विकले आफ्ना भाइ बुहारी र ठुलो वुवा, छोरासहित ७ जना गुमाए । आफन्त गुमाएर शोकमा रहेका उनी अहिले टेन्टमा बसेका छन् ।

उनले भने, ‘अहिले हामी यो ठाउँमा बस्ने अवस्था छैन । हिँउदमा बसेर मात्र के गर्ने ? फेरि वर्षामा कसरी बस्ने ? मर्ने त मरिगए, अब यो ठाउँमा बस्न सकिँदैन । सुरक्षित ठाउँमा जान पाए हामी जान्थ्यौँ ।’

पहिरोका कारण आधा मूल्यमा स्थानीयले पशुचौपाया बेचिरहेको उनले बताए । उनले भने–‘मैले एउटा राँगो पालेको छु । कसैले राम्रोसँग पालेको छ भने म सित्तैमा पठाइदिन्छु । अहिले पशुचौपायालाई घाँसपानी गर्ने अवस्था छैन ।’

राष्ट्रिय युवा संघ नेपालको खाद्यान्न सहयोग

पहिरो प्रभावित भीरखर्क र नागपुजेका विस्थापित परिवारलाई नेकपाको युवा संगठन राष्ट्रिय यूवा संघ नेपालले पहिरो खाद्यान्न लगायत अन्य आवश्यक सामाग्री सहयोग गरेको छ ।

शनिवार संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाको नेतृत्वमा गएको संघको टोलीले प्रभावितहरुलाई १ सय ८१ बोरा चामल, १ सय ९० लिटर तेल, २ सय किलो दाल र ८० केजी नुन हस्तान्तरण गरेको छ ।

राहत वितरणका क्रममा संघका संयोजक दीपशिखाले छिट्टै पहिरोले पूर्णरुपमा घर क्षति भएका १६ परिवारलाई आवश्यक पर्ने जस्तापाता उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । साथै घर भत्किएका र जोखिममा रहेका परिवारलाई नेकपा सरकारले घर बनाइदिने र त्यसका लागि राष्ट्रिय युवा संघ नेपालले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप