शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘इरानले अमेरिकालाई उचित जवाफ दिनेछ’

सोमबार, ०५ असोज २०७७, २३ : ४०
सोमबार, ०५ असोज २०७७

एजेन्सी । इरानले फेरि एकपटक अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले सो चेतावनी दिएका हुन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति रुहानीले भने– ‘इरानले अमेरिकाको दादागिरीलाई उचित जवाफ दिनेछ ।’ राष्ट्रपति रुहानीले आफ्नो देशमा राष्ट्रसंघमार्फत प्रतिबन्ध लगाउने अमेरिकी योजना असफल भएको समेत दाबी गरेका छन् । उनले अमेरिकाको यो एकतर्फी फैसलालाई युरोपेली सहयोगी मुलुकहरुले समेत कानुनी रुपमा अवैधानिक ठहर गरिसकेको बताए । रुहानीले सम्बोधनका क्रममा भने– ‘इरानमाथि प्रतिबन्ध लगाउने योजनामा अमेरिकाको हार निश्चित हुँदै गएको छ । उ पराजित हुँदै गएको छ र यो सवालमा अन्तर्राष्ट्रिय जगतबाट अमेरिकाविरुद्ध नकरात्मक प्रतिक्रियाहरु प्राप्त भैरहेका छन् ।’

उता, ट्रम्प प्रशासनले भने इरानमाथि फेरि प्रतिबन्ध लगाउने निर्णय उसको आणविक सम्झौताको शर्तमा मात्र भएको प्रस्ट पार्दै आएको छ । अमेरिका उक्त सम्झौताबाट अलग भैसकेको थियो । तर बेलायत, फ्रान्स र जर्मनीको दबाब उसले झेल्नुपर्यो । बेलायत, फ्रान्स र जर्मनीले अमेरिकालाई त्यसो गर्ने (तत्काल अलग हुने) अधिकार नभएको दाबी गरेका थिए । यी ३ देशसहित चीन, रुस र अमेरिका सन् २०१५ को ऐतिहासिक सम्झौतामा सहभागी भएका थिए, जुन सम्झौतामार्फत इरानले आफ्नो आणविक कार्यक्रम रोक्न सहमत भएको थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामाको कार्यकालमा भएको उक्त सम्झौताको चर्को आलोचना गरेका थिए ।

त्यसपछि उनले राष्ट्रपति भएलगत्तै  सन् २०१८ मा उक्त सम्झौताबाट अमेरिकालाई अलग पारे । राष्ट्रपति ट्रम्पको सोही कदमका कारण इरान पनि सम्झौताबाट पछि हट्न सुरु गरेको थियो । त्यसपछि इरानले पहिलेभन्दा बढी (युरोनियम) आणविक हतियारको विकास र भण्डारण गर्न थाल्यो । अमेरिका पछिल्ला दिन इरानलाई सजाय दिनुपर्ने चेतावनी दिँदै आएको छ । यद्यपि, पछिल्लो समय अमेरिकाले इरानमा लगाइएका राष्ट्रसंघीय प्रतिबन्धहरु स्थगित भएको घोषणा गरेको थियो । तर फेरि प्रतिबन्ध गर्ने घोषणा गरेको छ । आइतबार समाचार एजेन्सी रोयटर्ससँग नाम प्रकाशित नगर्ने शर्तमा एक अमेरिकी बरिष्ठ अधिकारीले भने– ‘अमेरिकाले सोमबारदेखि इरानको परमाणु, मिसाइल र हतियार कार्यक्रमसँग जोडिएका दुई दर्जनभन्दा बढी व्यक्तिहरुमाथि प्रतिबन्ध लगाउँदैछ ।’  

अमेरिकाले आणविक सम्झौताको ‘स्न्यापब्याक’ बिन्दुमा त्यसो गर्ने अधिकार रहेको दाबी गरिरहेको छ । उसले इरानको हतियारमाथि लगाइएको पुरानो प्रतिबन्ध अब १८ अक्टोबरमा समाप्त नहुने दाबी गरेको छ । तर यो पटक भने अमेरिकाको उक्त घोषणा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदका अधिकांश सदस्यहरुले खारेज (अस्वीकार) गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप