शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ः लोकसेवा आयोगको एक वर्ष, उपलब्धि शून्य

मङ्गलबार, ०६ असोज २०७७, १८ : २३
मङ्गलबार, ०६ असोज २०७७

जनकपुर । प्रदेश नम्बर २ सरकारले गत वर्ष गठन गरेको प्रदेश लोकसेवा आयोगले एक वर्ष पूरा गरेपनि उपलब्धी भने शून्य हात लागेको छ । प्रदेश लोकसेवा आयोग गठन भएको एक वर्ष पूरा गरेपनि उपलव्धी शून्य देखिएको छ । प्रदेश लोकसेवाले कुनै किसिमको विज्ञापन अहिलेसम्म निकाल्न सकेको छैन र आयोगबाट दिने सेवाको अनुभूति भने प्रदेशवासीले अहिलेसम्म गर्न नसकेको आरोप लागिरहेको छ । 

यद्यपि, प्रदेश लोकसेवा आयोगले एक वर्षमा गरेका कामको वार्षिक प्रगति विवरण प्रदेश प्रमुख तिलक परियारलाई बुझाइएको छ । प्रदेश प्रमुख परियारलाई आयोगका प्रमुख सुरेन्द्रप्रसाद यादवले आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

सो वार्षिक प्रतिवेदनमा २२ बुँदे उपलब्धि उल्लेख गरिएको छ । आयोगले बुझाएको प्रतिवेदनमा विभिन्न सेवाका लागि २३ वटा पाठ्यक्रम मस्यौंदा निर्माण, कर्मचारी अचारसंहिता निर्माण, प्रदेश लोकसेवा आयोग नियमावली निर्माण गरिएका विषयलाई प्रगति विवरणमा राखिएको छ । यद्यपि, अहिलेसम्म ती उपलब्धिहरुलाई राजपत्रमा प्रकाशित भने भएका छैनन् । एक वर्षको अवधिमा प्रदेश लोकसेवा आयोगको २८ पटकको बैठकमा गरिएका ६४ वटा निर्णयलाई समेत उपलब्धिको रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तर सोही प्रतिवेदनकाअनुसार आयोगका कर्मचारीहरुको अहिलेसम्म पदपूर्ति समेत हुन सकेको छैन ।  आयोग कार्यालय अहिले पनि करार वा काजमा खटाइएका कर्मचारीहरुद्वारा सञ्चालित रहेको छ । प्रतिवेदनमा कार्यालयले सूचना प्रवाहका लागि सञ्चानमा ल्याएको आधिकारिक वेवसाइट र आयोगबारे जानकारी दिन तयार पारिएको पम्पलेट निर्माणको कामलाई समेत उपलब्धिको श्रेणीमा समावेश गरिएको छ ।

प्रदेश सरकारकै कारण आयोग अन्योलमा

प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्रीसम्म कर्मचारी अभावका कारण कामकाजमा निकै कठिनाई भइरहेको भन्दै  संघीय सरकारको आलोचना गर्दै आइरहेका छन् । तर प्रदेश सरकारले जुन गतिमा काम गर्न सक्नुपथ्र्यो, त्यो गतिमा काम हुन नसकेको उनीहरु स्वयम् बताउँदै आइरहेका छन् । कर्मचारी अभाव हुन नदिनका लागि गठन गरिएको प्रदेश लोकसेवा आयोगलाई भने प्रदेश सरकारले नै चलायमान बनाउन नसक्दा आयोग नै अन्योलमा परेको छ ।

कर्मचारी माग नगरेसम्म आयोगले केही नगरेको जस्तो अनुभूति हुनु स्वभाविक रहेको बताउँदै प्रदेश लोकसेवा आयोगका प्रवक्ता गञ्गेश गुञ्जन झाले आयोगको ऐन, निर्देशिका लगायतका कामहरु गर्नु पनि ठूलै उपलब्धि रहेको दावी गरे । बाहिरी कामकारवाही गर्न नसकेपनि कार्यालयको आन्तरिक कार्यवाही भने सफलतापूर्वक सम्पन्न गरेको उनको दावी छ ।

उनले भने– ‘हामीले कर्मचारी पदपूर्तिका लागि अहिलेसम्म विज्ञापन त निकाल्न सकेनौँ, तर त्यसका लागि सम्पूर्ण आधार तयार गरिसकेका छौँ ।’ प्रवक्ता झाले प्रदेश सरकारले माग नगरेसम्म आफुहरुले कर्मचारी पदपूर्तिका लागि विज्ञापन निकाल्न नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप