शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – मक्कादेखि मदिनासम्म मोहम्मदको हिजरत

बिहीबार, ०८ असोज २०७७, ०८ : ५९
बिहीबार, ०८ असोज २०७७

आज २४ सेप्टेम्बर । सन् ६ सय २२ मा ईस्लाम धर्मका संस्थापक पैगम्बर महोम्मदले मक्कादेखि मदिनासम्म हिजरत (धार्मिक यात्रा) पूरा गरेका थिए । मोहम्मद आफ्नो समयका प्रभावशाली धार्मिक, राजनीतिक तथा सामाजिक नेता हुन् । मक्कामा उनको जन्म ५ सय ७० मा भएको थियो । उनी जन्मनुअघि नै बाबुको निधन भइसकेको थियो, ६ वर्षको छँदा आमाको निधन भयो । ८ वर्षको छँदा हजुरबुबाको निधन भएपछि मोहम्मदलाई हुर्काउने काम काका अबु तलिबले गरे ।  सुरुमा मक्कामै बसेर मोहम्मदले व्यापार गरिरहेका थिए । यसक्रममा उनी एक सत्यवादी तथा इमान्दार व्यक्तिका रुपमा प्रसिद्ध थिए । ४० वर्षको उमेरमा उनले  नुबुवत (आफू अल्लाहको नबी तथा रसूल (सन्देष्टा) भएको कुरा) अरु सामु घोषणा गरेका थिए । त्यसपछि उनलाई इस्लाम धर्मावलम्बीहरुले अल्लाहका सन्देष्टा भनेर अनुसरण गर्न थाले।

मक्कामा उनले झन्डै १ सयको हाराहारीमा आफ्ना अनुयायीहरु बनाएका थिए । तर, यी अनुयायीहरुलाई त्यहाँ कडा यातना दिइयो, महोम्मदकै हत्याको षडयन्त्र भयो । त्यसपछि उनी मदिनातर्फ लागे ।

२४ सेप्टेम्बरमा उनले हिजरत अर्थात मदिनाको यात्रा पुरा गरे, जहाँ भव्य स्वागत भयो । यहाँ उनले आफ्नो अनुयायीहरुलाई  संयोजित गरे, त्यसैले यस दिनलाई ईस्लाम धर्ममा महत्त्वपूर्ण दिनका रुपमा लिइन्छ । यसै दिनलाई ‘पहिलो दिन’ मानेर केहीपछि ईस्लामिक क्यालेन्डर ‘हिजरी’ जारी भएको थियो ।  मदिनामा मोहम्मदले ईस्लाम धर्मको खुबै प्रचार गरेका थिए, यहाँ हजारौँ मानिसहरुले धर्म अपनाएर मोहम्मदलाई सन्देष्टा माने ।

६ सय ३० तिर मोहम्मद आफ्ना अनुयायीहरुको ठूलो संख्यासहित जन्मस्थल मक्का यात्रामा फर्किए, भनिन्छ यस यात्रामा १० हजार जना सहभागी थिए, मोहम्मदले सबैप्रति स्नेह र दयाभाव प्रकट गरेका थिए ।

अन्य घटनाक्रम

सन् १९४८ – होन्डा मोटर कम्पनीको स्थापना ।

सन् १९९३– कम्बोडियामा राजतन्त्र पुनस्र्थापना, नोरोडोम सिहानुक राजगद्दीमा । 

सन् २००७ – बर्माको यागुंनमा सरकार विरोधी प्रदर्शन, २० वर्षयताकै शक्तिशाली प्रदर्शनमा ३० हजारदेखि १ लाख मानिस सहभागी ।

सन् २००७– भारतलाई पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकपको उपाधि ।

सन् २०१३– दक्षिणी पाकिस्तानमा ७ दशमलव ९ म्याग्नेच्युडको भूकम्प, कम्तिमा ३ सय २७ व्यक्तिको मृत्यु ।

२०१५– साउदी अरेबियामा हजका दौरान कम्तिमा ११ सय व्यक्तिको मृत्यु, ९ सय ३४ जना घाइते ।

*यसअघि केही तथ्यगत त्रुटि भएकामा क्षमायाचनासहित सच्याइएको छ

रातोपाटीको नीति कुनै धर्मजाति, सम्प्रदायको भावनामाथि ठेस पुर्‍याउने नरहेको जानकारी गराउँदछौं । यसअघि राखिएको मोहम्मदको प्रतिकात्मक फोटो पनि पाठकहरुको प्रतिक्रियाको सम्मान गर्दै सच्याइएको छ ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप