पुनर्निर्माणमा भारत सरकारको सहयोग
भारत सरकारले आवास तथा विद्यालय पुनर्निर्माणका लागि एक अर्ब ५४ करोड रुपैयाँको चेक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
नेपालीस्थत भारतीय दूतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुगांनालाई सो चेक हस्तान्तर गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भारतले आवास परियोजना अन्तर्गत १५० मिलियन अमेरिकी डलर अनुदान सहायता नेपाल सरकारलाई उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो । यो चेक हस्तान्तरणसँगै भारतले आवास क्षेत्रको पुनर्निर्माणका लागि नेपाल सरकारलाई अनुदान सहायताको ७२ मिलियन अमेरिकी डलर उपलब्ध गराइसकेको छ । भारतले गोरखा र नुवाकोट जिल्लाका निजी आवास पुनर्निर्माणका लागि गरेको प्रतिबद्धता मध्ये ९२ प्रतिशत घरधुरीको निर्माण सम्पन्न भइसकेको छ ।
यस्तै भारत सरकारले ५० मिलियन अमेरिकी डलर अनुदान सहायता अन्तर्गत ७० वटा विद्यालय र एक पुस्तकालयको पुनर्निर्माणका लागि पनि सहयोग प्रतिबद्धता गरेको छ । यसमध्ये भारत सरकारले विद्यालय पुनर्निर्माणतर्फको ४.२ मिलियन अमेरिकी डलर बराबरको पहिलो किस्ता नेपाल सरकारलाई उपलब्ध गराइसकेको जनाइएको छ ।