शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नारायणी नदीको खतराबाट जोगिन भरतपुर महानगर प्रमुख दाहालको आग्रह

बिहीबार, ०८ असोज २०७७, १५ : ०८
बिहीबार, ०८ असोज २०७७

चितवन । नारायणी नदीको सतहले खतराको विन्दु पार गरेपछि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सतर्कता अपनाउन आग्रह गरेकी छिन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रमुख दाहालले भनेकी छिन्, ‘यस समयमा विपद् जोखिम कम गर्न एवं सम्भावित जोखिमबाट सुरक्षित हुन सावधानी अपनाइ आफू र समुदायलाई सुरक्षित राख्न आपसी सहयोग, समन्वय र सहकार्य गर्न सबै वडा कार्यालय, टोल विकास संस्था, स्थानीय युवा सञ्जाल एवम् सम्पूर्ण महानगरवासीहरुमा हार्दिक अपिल गर्दछु ।’
 
विगत तीन दिनदेखि परेको निरन्तर वर्षापछि आएको बाढीसँगै नारायणी नदीको बहावले खतराको बिन्दु पार गरेको छ । नदीको उद्गम थलोतर्फ निरन्तर पानी परिरहेकाले सतह अरु बढ्ने अनुमान गरिएको छ ।

देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ ई रामविकेश रायका अनुसार आज बिहान १० बजेर ३० मिनेट जाँदा नारायणीको सतह ८ दशमलव ०८ मिटर पुगेको थियो । आठ मिटरभन्दा माथिलाई खतरा मानिन्छ । यो घनमिटरमा १० हजार २२१ प्रतिसेकेण्ड रहेको थियो । यसअघि साउन ६ गते गत ४४ वर्ष यताकै सबैभन्दा बढी बहाव मापन भएको थियो । त्यस दिन बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो ।

त्यतिबेला नदीमा पानीको बहाव १४ हजार ७७९ घनमिटर प्रतिसेकेण्ड रहेको थियो । यसअघि सन् १९७४ अगष्ट ५ मा १० दशमलव १ मिटर पानीको तह र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको रायले जानकारी दिए ।

बीचको अवधिमा सन् २०१८ को बर्सातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९ दशमलव ६ मिटर रहेको उनले बताए । त्यतिबेला पानीको बहाव २७ वर्षयताको सबैभन्दा बढी थियो । रायका अनुसार नारायणी नदीको शिरतर्फ पर्ने कास्की, म्याग्दीलगायतका क्षेत्रमा आउँदो १२ घण्टा निरन्तर वर्षा हुने भएकाले नदीको बहाव अरू बढ्न सक्नेछ ।

नारायणी नदी बढेसँगै यसको प्रभाव भरतपुर महानगर र नवलपुर क्षेत्रमा पर्दछ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप