शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग

बिहीबार, ०८ असोज २०७७, १७ : ३४
बिहीबार, ०८ असोज २०७७

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन् ।

नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो । 

केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हुन् । महासंघका अध्यक्ष ध्रुव शर्माले नेपालमा ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण कानून सम्बत लाइसेन्स लिएर सञ्चालनमा नआएको भन्दै हटाउनुपर्ने माग गरे।

व्यवसायीहरुले नेपालमा गैरकानूनी रुपमा विदेशी तथा स्वदेशी ओटीटी/मोबाइल एप्समार्फत भएका प्रसारणले अमर्यादित व्यापार गर्नुका साथै सरकारलाई अर्बौंको राजश्व छली गरिरहेको समेत बताएका छन् । त्यस्ता प्रसारणलाई क्लिन फिड लागू हुनु अगाडि नै बन्द गराउन व्यवसायीहरुले माग गरेका हुन् । 

यस्तै खुल्ला सिमानाको फाइदा उठाउँदै भारतीय डिटिएच टेलिभिजन च्यानलहरुले नेपालमा व्यापार गरिरहेको प्रति पनि व्यवसायीहरुले ध्यानाकर्षण गराएका छन् । व्यवसायीहरुले क्लिन फिड लागू हुनु अगावै यस्ता समस्याको समाधान नगरे केवल टेलिभिजन व्यवसायीहरुले लगानी गरेको अर्बौं रुपैयाँ जोखिममा पर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप