शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिरोमा बेपत्ता एकै परिवारका ५ जना अझै फेला परेनन्

बिहीबार, ०८ असोज २०७७, १८ : ४३
बिहीबार, ०८ असोज २०७७

गुल्मी । बिहिवार पहिरोले घर बगाउँदा बेपत्ता भएका पाल्पाका ५ जना मानिसको अवस्था अझै अज्ञात रहेको छ ।  रम्भा गाउँपालिका–फोक्सीङ्ग बेलौजाका ६० वर्षीय हुमबहादुर गाहका छोरी तर्फकी नातिनी सहित ५ जनाको परिवार बगेर बेपत्ता भएका थिए ।  उनी, उनकी ५० वर्षीया श्रीमती धनिसरा गाह, १७ वर्षीया छोरी कृष्णमाया गाह, मामा घर आएकी १४ वर्षकी नातिनी खुमीसरा आले,  छोरा तर्फकी छोरी वर्ष ८ की लक्ष्मी गाह पहिरोले पुरिएर बपेत्ता भएका हुन् । रम्भा गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भण्डारीले घटनास्थल अत्यन्तै जोखिमपूर्ण भएकोले वेपत्ता ५ जनालाई भेटाउन मुस्किल परिरहेको बताए ।

घटनास्थल सदरमुकाम तानसेनबाट ४५ किलोमिटर दुरीमा पर्दछ । अध्यक्ष भण्डारीले भने, ‘त्यहाँ पुग्ने मोटरबाटो पहिरो गएर दुबैतर्फ रोकिएको छ । सुरक्षाकर्मीहरु बाटैमा हुनुहुन्छ ।’   एकै परिवारका ५  जना बेपत्तामध्ये १४ वर्षीया खगिसरा आले हिजो साँझ मात्रै मावली घर आएर सुतेको वडाध्यक्ष उमानसिंह सारुले बताए ।

हुमबहादुरका ६ वटी छोरीमध्ये ५ जनाको विवाह भइसकेको थियो । कान्छी श्रीमती तर्फकी दुई छोरी मध्येकी  कान्छी छोरी कृष्णमाया कक्षा ९ पढ््दै थिइन् । हुमबहादुरका एकमात्र छोरा मनबहादुर आलेकी ८ वर्षीया छोरी पनि हिजो हजुरआमा र बुवासँगै सुत्न आएकी थिइन् ।

बुढाको घरसँगै गाहका छोरा मानबहादुर र दाजु हुमबहादुर गाहसहित एकै परिवारका छुट्टाछुटै ३ वटा घर पहिरोले बगाएर लगेको अध्यक्ष भण्डारीले बताए । ‘हामीले हेर्दाहेर्दै अहिले बिहान उनका दाजु र छोराको घर पनि माथिबाट आएको पहिरोले बगायो’ उनले भने । 

‘त्यस गाउँमा २० घरधुरीमध्ये अन्य १७ घरधुरी पनि उच्च जोखिममा परेपछि हामीले सुरक्षित स्थानमा सारेर आएका छौं’ अध्यक्ष भण्डारीले भने ।  हिँजो दिउँसो नै घर चर्केको देखेर घरमा नबस्न छिमेकीहरुले सुझाव दिए पनि उनीहरुले बेवास्ता गर्दै आठ नौ बजेतिर खाना खाएर सुतेको वडाध्यक्ष सारुले बताए ।  गाह सामान्य कृषक हुन् ।

उता, सोही जिल्लाको  रम्भा गाउँपालिका– २ सुरुङ्गडाँडाकी २७ वर्षीया मोतीसरा गाहको पनि पहिरोले घर बगाउँदा बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ताले जानकारी दिएका छन्  । त्यस्तै जिल्लाको  रैनादेवी गाउँपालिका वडा नम्वर २ सोमादी गाउँका बेलबहादुर श्रेष्ठको कुखराफर्म पहिरोले बगाउँदा ७५ वटा कुखरासहित करिव २ लाख बराबरको क्षति भएको छ भने वनसकाली गाउँपालिका ४ तिमुखका रुखबहादुर चर्तिको गोठ भत्किँदा २ वटा भैसी र ३ वटा बाख्रा मरेका छन् ।

उता, रामपुर नगरपालिका –१ हाँगेपिपल निवासी प्रेमबहादुर सार्कीको गोठ भत्किँदा एउटा बाख्रा मरेको छ भने तिनाउ गाउँपालिका–६ कोस टोलका चित्रबहादुर रावलको गोठ भत्किँदा ४ वटा बाख्रा मरेका छन् । त्यस्तै, माथागढी गाउँपालिका ४ कोरलीस्थित चित्रेछाप प्राविको ४ कोठे भवन पनि भत्किएको छ भने  सोही वडाका हुमबहादुर सारुको गोठ भत्किदा ४ वटा बाख्रा मरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप