शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नर्सिङ काउन्सिलकी सदस्यले गरिन् ट्रमा सेन्टरमा हङ्गामा, भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीको धम्की

गोविन्द केसीको समर्थनमा पुगेकी जिताले मदिरा पिएको आशंका
शुक्रबार, ०९ असोज २०७७, ०९ : ३२
शुक्रबार, ०९ असोज २०७७

नर्सिङ काउन्सिलकी सदस्यसमेत रहेकी जिता बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा हङ्गामा गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको छ । असोज ६ गते साँझ २ घण्टा १५ मिनेटसम्म उनले वीर अस्पतालको ट्रमा सेन्टरमा अभद्र व्यवहारसहित हङ्गामा गरेको भिडियो रातोपाटीलाई प्राप्त भएको हो ।

जुम्लाबाट गोविन्द केसीलाई काठमाडौँ ल्याइएपछि उनको समर्थनमा नाराबाजी गर्न ट्रमा सेन्टर पुगेकी नर्सिङ काउन्सिलको सदस्यसमेत रहेकी बरालले ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा रहेका डाक्टर तथा नर्सहरुलाई थुक्ने, तथानाम गाली गर्ने र सरसामान फ्याकेर फुटाउने काम गरेको भिडियोमा देख्न सकिन्छ ।

सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीलाई जुम्लाबाट काठमाडौँ ल्याएपछि उनको समर्थनमा सरकारविरुद्ध प्रदर्शन गर्न काउन्सिलको सदस्यसमेत रहेकी बरालसहितका केही व्यक्ति राष्ट्रिय ट्रमा सेन्टरको हातामा पुगेकी थिइन् । नाराबाजी गर्दासमेत अस्वभाविक हाउभाउ देखाएकी बराल त्यसपछि सेतो कोट नै लगाएर ट्रमा सेन्टरभित्र पसेकी थिइन् । आफूलाई श्वास फेर्न गाह्रो भएको भन्दै भित्र गएर त्यहीँ भित्र नाच्ने, गीत गाउने र डाक्टर तथा नर्सलाई गालीगलौज गर्ने गरेकी थिइन् । रातोपाटीलाई प्राप्त भिडियोमा उनले डाक्टर तथा नर्सलाई थुकेको प्रष्ट देख्न सकिन्छ ।

‘म बलात्कारीलाई मात्रै चिन्छुु’

ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा अस्वभाविक रुपमा देखापरेकी बरालले आफूले बलात्कारीलाई मात्रै चिन्ने भन्दै पटकपटक बलात्कारी शब्दको प्रयोग गरेकी थिइन् । ट्रमा सेन्टरमा हंगामा भएपछि पुुगेको प्रहरीको टोलीलाई पनि उनले बलात्कारीको संज्ञा दिइको सो दिन इमरजेन्सी कक्षमा कार्यरत डाक्टरले बताए ।

‘सेतो कोटको शक्ति देखाउँछुु’

नर्सिङ काउन्सिलको सदस्यसमेत रहेकी बरालको आबद्धता ट्रमा सेन्टर वा वीर अस्पतालसँग छैन । तर पनि उनी सेतो कोट लगाएर नै लगाएर ट्रमा सेन्टरभित्र छिरेकी थिइन् । उनले अस्वभाविक हर्कत देखाउन थालेपछि उनलाई शान्त गर्न डाक्टर र नर्सहरुले उनीमाथि पानी खन्याएका थिए । बरालले उनीमाथि पानी खन्याउने डाक्टर तथा नर्सलाई गाली गर्दै उनीहरुमाथि केस गर्ने र सेतो कोटको शक्ति देखाउने चेतावानीसमेत दिएकी छिन् ।

ज्ञानेन्द्र शाहीले थुम्थुमाएपछि भइन् शान्त

ट्रमा सेन्टरमा हंगामा गरेपछि बरालले ज्ञानेन्द्र शाहीलाई बोलाइदिन आग्रह गरिन् । त्यसपछि कुनै व्यक्तिले आफूलाई सामाजिक अभियन्ता बताउने ज्ञानेन्द्र शाहीलाई फोन गरेर बोलाइ दिएपछि शाही ट्रमा सेन्टर आइपुगे । अनि शाहीले थुम्थुमाएपछि मात्रै बराल शान्त भइन् र शाहीसँगै बाहिर निस्किइन् ।

भिडियो डिलिट गर्न ज्ञानेन्द्र शाहीको धम्की

काउन्सिलकी सदस्यसमेत रहेकी बरालको हर्कत धेरैजसो बिरामीका आफन्तहरुले क्यामेरामा कैद गरेका थिए । तर जब ज्ञानेन्द्र शाहीको समूूह पुुग्यो, त्यसपछि उक्त समूहले त्यहाँ रहेका प्रत्येक व्यक्तिको मोबाइल खोसेर भिडियो डिलिट गर्न लगाएको थियो ।

मदिरा वा नसालु पदार्थ सेवन गरेको आशंका

गोविन्द केसीको आन्दोलनमा समर्थनका लागि भन्दै ट्रमा सेन्टर पुुगेकी बरालले मदिरा वा अन्य कुनै नसालुपदार्थ सेवन गरेको वीर अस्पतालमा कार्यरत एक डाक्टरले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए । त्यसदिन के भएको थियो भन्ने रातोपाटीको प्रश्नमा बरालले मदिरा वा अन्य कुनै नशालु पदार्थको सेवन गरेको हुनसक्ने उनले बताए ।

भिडियो हेर्दा त मानसिक अवस्था पनि कमजोर हो जस्तो देखिन्छ नि भन्ने प्रश्नमा ती डाक्टरले भने, ‘मानसिक समस्या केही क्षण वा केही समयका लागि मात्रै हुँदैन । उहाँ अहिले सामान्य अवस्थामा नै हुनुहुन्छ । त्यसकारण मदिरा वा अन्य कुनै नसालु पदार्थको सेवन गरेको जस्तो हामीलाई लाग्छ ।’

जीता सम्पर्कमा आउनै चाहिनन्

यस विषयमा के भएको हो भनेर जिताले प्रयोग गर्दै आएकी ९८५६०३०xxx को नम्बरमा सम्पर्क गर्दा बिहान मोबाइलको स्वीच अफ थियो भने ८ः३० बजे मोबाइल अन भएपनि उनले फोन उठाइनन् । ज्ञानेन्द्र शाहीको ९८६३५४५xxx नम्बर पनि स्वीच अफ रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप