केन्द्रीय संस्करण

लगातारको वर्षाले तरकारी खेती सखाप

person explore access_timeअसोज ९, २०७७ chat_bubble_outline0

लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो ।

बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ ।

 त्यसैगरी रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । 

भदौ निगल्दोको वर्षा र अहिले लगातार चार  दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्लबारदेखि लगातार चोटिलो पानी पर्दै आएको छ ।

“तरकारीका बेला पानीले गलाएर पहेँलिएका छन्, नयाँ रोपिएका बेर्ना चोटिलो पानीले सोतर बनाएर लडाएको छ”, जिल्लाको भङ्गाहा नगरपालिका–४ रामनगरका किसान गङ्गाराम महतो भन्छन्, “खेतबारी गिलिएर जोतखन र गोडमेल गर्न नसकिने भएको छ, चाँडै उत्पादन लिने आलु पनि अब रोप्न पाइने आस म¥यो ।”

सधैँजसो दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी लगाइने तरकारी खेती यसपालि लगातारको वर्षाले गलाएपछि मुखमै रहेका यी पर्वमा तरकारीको हाहाकार नै हुने र मूल्य आकाशिएर सर्वसाधारण उपभोक्ताले किनेर खाने स्थिति नरहने महतोसहितका किसानको भनाइ छ ।

लगातारको वर्षाले तरकारी बाली खेतबारीमै गलाएपछि किसान पिरोलिनसँगै  बजारमा तरकारीको मूल्य आकाशिएको छ । किसानका खेतबारीमा तरकारी नभएपछि बजारु उपभोक्ता पनि महङ्गाइको मारमा परेका छन् । लगातारको वर्षाले हातमुख जोर्ने काम अत्यन्त मङ्हगो भएको सर्वसाधारण उपभोक्ता बताउँछन् । महोत्तरीका १५ स्थानीय तहका कार्यालयहरुको आँकडाअनुसार जिल्लामा १० हजार हेक्टर क्षेत्रफलमा तरकारी खेती लगाइँदै आइएको देखिन्छ ।

लगातारको वर्षाले जिल्लाका ग्रामीण सडक मात्र नभएर मुख्य सडक नै हिलाम्मे भएका छन् । पछिल्लो तीन दिनको वर्षाले जिल्लामा सडक स्तरोन्नति र सम्भारका भइरहेका काम पनि रोकिएको छ । 

बर्दिवास–रामगोपालपुर–जलेश्वर, सम्सी–मनरा–जलेश्वर, सम्सी–लोहारपट्टी–जनकपुर, जलेश्वर–रौजा–बर्दिवास र अन्य धेरै सडकमा हिलो जमेर साना सवारी साधन (साइकल, मोटरसाइकल, जीप, भ्यान) पनि चल्न सकेका छैनन् ।

तरकारी बाली र सडक यातायातमा असजिलो बढे पनि पछिल्लो वर्षाले पोटाउन लागेको धानबालीलाई भने अमृतकै काम गरेको किसान बताउँछन् । जिल्लामा यसपटक ४० हजार हेक्टर क्षेत्रफलमा हिउँदे धान खेती गरिएको कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालय महोत्तरी जलेश्वरले जनाएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.