शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा ओली–प्रचण्ड

शुक्रबार, ०९ असोज २०७७, १० : ४०
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनगर्ठनको अन्तिम तयारीमा लागेका छन् । त्यसका लागि दुई नेता लगातारभेटवार्ता र संवादमा जुटेका छन् । बिहीबार मात्रै झण्डै तीन घण्टा छलफल गरेका दुई नेताले शुक्रबार पनि भेटवार्ता गर्दैछन् ।

‘दुई अध्यक्षबीच आज हिजोकै निरन्तरतास्वरुप भेटवार्ता भएको हो’,प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले भने, ‘आजको छलफलपछि उहाँहरु टुङ्गोमा पुग्ने सम्भावना छ ।’

बिहीवार दिउँसो ओली र प्रचण्डबीच बालुवाटारमा झण्डै तीन घण्टा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा मन्त्रिमण्डल पुनर्गठनमा अपनाइने मापदण्डका बारेमा छलफल भएपनि पात्रका बारेमा भने सहमति जुट्न सकेको थिएन ।

‘मन्त्रिमण्डल पुनगर्ठनबारे दुई अध्यक्षबीचमा बिहीबारबाट औपचारिक रुपमा छलफलको सुरुवात भएको छ । छिटटै यसबारे उहाँहरु ठोस निर्णयमा पुग्ने बुझिएको छ’, प्रचण्ड निकट एक स्थायी समिति सदस्यको भनाइ छ । 

यसअघि गत आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई थप प्रभावकारी बनाउन आवाश्यक रहेको भन्दै मन्त्रिमण्डल हेरफेर गर्न प्रस्ताव गरिएको थियो । जसमा विभिन्न तीन विकल्पमा छलफल भएपनि कुन विकल्प कार्यान्वयन गर्ने भन्नेमा दुई अध्यक्षलाई नै निर्णय गर्ने जिम्मा दिइएको थियो ।

सचिवालयले निर्णय नगरेपछि उचित मापदण्ड तय गरेर त्यसैका आधारमा मन्त्रिमण्डल हेरफेर गर्न नेताहरु सहमत हुदै दुवै अध्यक्षलाई जिम्मेवारी दिएका थिए । बिहीबार दुई अध्यक्षबीचको छलफलमा पनि सबै मन्त्री फेर्ने वा दुई वर्ष पुरा भएकालाई हटाउने र वाँकी राख्ने तथा राम्रा काम गरेकालाई राख्दै अन्यलाई फेरवदल गर्ने भन्ने विकल्पमा छलफल भएपनि निर्णय भैनसकेको बताइएको छ ।

अध्यक्ष प्रचण्ड दुई वर्ष कार्यकाल पुरा गरेका सवै मन्त्रिहरु फेर्नुपर्ने पक्षमा छन् भने ओली त्यसो गर्र्ने पक्षमा छैनन् । प्रचण्डको यस्तो प्रस्तावमा अर्का वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पनि सहमत छन् ।

प्रधानमन्त्री समेत रहेका ओली र अध्यक्ष प्रचण्डबीचको भेटवार्तामा सकभर समावेशी ढंगको नयाँ मन्त्रिमण्डल बनाउनेबारेमा कुराकानी भएको बताइएकोे छ ।

गत आइतबारपछि सोमबार नबसी मंगलबार बसेको सचिवालय बैठकले पार्टी एकताका सन्र्दभमा १० दिन भित्र ठोस कार्ययोजना ल्याउन अध्यक्षद्वय र महसचिवलाई निर्देशन दिएको थियो । त्यस्तै खाली रहेका संवैधानिक तथा राजनीतिक नियुक्तिहरु संविधानको मर्मअनुसार चाडो गर्न सरकारलाई सुझाव दिएको थियो । ओली प्रचण्डबीचको बिहीबारको भेटवार्तामा समेत यसबारे छलफल भएको बुझिएको छ । ओली र प्रचण्डबीच शुक्रबारको भेटवार्तापछि सचिवालय बैठक बोलाएर निर्णय गर्ने तयारी छ । स्थायी समिति सदस्य सुवास नेम्वाङले दुई अध्यक्षबीच छलफल भइरहेकाले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनगर्ठन हुने बताए ।

‘अध्यक्षद्वयबीच कुरा भइरहेको छ । सम्भवतः आज भोलि नै मन्त्रिमण्डल पुनर्गठन हुन्छ’, नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप