शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चाडपर्वमा बजार अनुगमन बढाइयो

शुक्रबार, ०९ असोज २०७७, १७ : २८
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । सरकारले दशैं लगायतका चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । साधारणतया विभागले ४/५ वटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको छ । विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकी छँदै विभागले अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिइएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताए । खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललिपपुरमा समेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताए ।

त्यस्तै विषयत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिति बढाउन निर्देशन दिएको उनले बताए । यस्तै, सबै प्रदेश र स्थानीय तहलाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको बताए ।

बजार अनुगमन व्यवसायीहरुलाई आतंक फैलाउने र तत्काल जरिवाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले स्पष्ट पारे । बढी मूल्य लिने, मूल्य सूचि नराख्ने, गुणस्तरीय बस्तु विक्री वितरण नगरी उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारवाहीको दायरामा ल्याउने उनले बताए ।

विभागले चाडपर्व तथा कोरोना संक्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यपछि क्रमशः सबै प्रदेशहरुमा बजार निरीक्षण अधिकृतहरुलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताए । साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालन गरीने समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप