शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लाको सीमा अध्ययन प्रतिवेदन सार्वजनिक नहुनुले सरकारको नियतमाथि गम्भीर प्रश्न खडा भयो : काँग्रेस

शुक्रबार, ०९ असोज २०७७, २० : ५९
शुक्रबार, ०९ असोज २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली काँग्रेसले हुम्लामा नेपाल–चीन सीमा अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा हुम्लाको नाम्खामा चीनद्वारा नेपाली सीमा मिचिएको वास्तविकता अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली हुम्लाको सदरमुकाम सिमिकोट फर्किएको २४ घण्टा पुग्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ ।

स्थलगत भ्रमणको अध्ययन टोली सदरमुकाम सिमिकोट फर्किएपछि स्थानीय प्रशासनले दिएको विवरणको आधारमा संघीय सरकारले सीमासम्बन्धी वास्तविक विवरण सार्वजनिक नगरिनु रहस्यमय भएको काँग्रेस जनाएको छ ।

परराष्ट्र मन्त्रालयले हतारमा टिप्पणी गर्नु, सहायक प्रजिअलाई स्पष्टीकरण सोध्नु र स्थलगत अध्ययनको विवरण सार्वजनिक गर्न ढिलाई गर्नुले सीमा मिचिएको छैन भन्ने सरकारको धारणामाथि आशंका उब्जिएको शर्माले बताए ।

 विज्ञप्तिमा भनिएको छ, 'नेपालको सार्वभौमिकता र सीमा सम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा वास्तविकता सार्वजनिक गर्न गरिएको विलम्वले सरकारको नियत माथि गम्भीर प्रश्न खडा भएको छ । अविलम्व वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

लिमी उपत्यकामा चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण गरेको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको थियो । टोलीको रिपोर्ट नआउँदै सरकारले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएको थियो । 

त्यसलाई हतारको टिप्पणी भनेको काँग्रेसले स्थलगत भ्रमणमा गएको टोली सदरमुकाम फर्किए पश्चात वास्तविकता बाहिर नआएकोमा प्रश्न उठाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप