शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सहाना प्रधानलाई घरेलु बुहार्तन र पार्टीमोह

शनिबार, १० असोज २०७७, ०८ : ३५
शनिबार, १० असोज २०७७

पुष्पलालका दुई जना आमा थिए । उनकी आफ्नी आमा तर्फ तुलसीमायाबाट पाँच छोरा र दुई छोरी जन्मेका थिए । साथै उनकी कान्छी आमा पूणर्मायापट्टिबाट चार छोरा र तीन छोरी थिए । उनीहरू सबै एउटै घरमा बस्थे । ती सन्तानमध्ये घरमा सबैभन्दा धेरै घोटिनेचाहिँ सहिद गङ्गालाल अर्थात् जेठा छोराकी विधवा पत्नी हसिना थिइन् । त्यस घरमा पुष्पलालका बुबा र सहाना मात्र रोजगारमा थिए । परिवारका बाँकी अरू सबै सदस्य बेरोजगारी नै जस्ता थिए । तर पुष्पलालका एक जना भाइले चाहिँ ट्युसन पढाएर केही आम्दानी ल्याउने गर्थे । वास्तवमा दिउँसो कमाएर ल्याएको साँझ र बिहान खानुपर्ने अवस्थामा त्यो परिवार पुगिसकेको थियो ।

सहाना प्रधानले बिहे गरेपछि घर चलाउन अनेक उपाय झिक्न थालिन् । हुन त उनी पढाउने काम पनि गरिरहेकै थिइन् । बाहिरको मात्र नभएर घरेलु काम पनि उनले धेरै गर्नुपथ्र्यो । त्यस बेला उनी काम गरेर थाक्तिन थिइन् । भित्र र बाहिर गरेर उनी दैनिक १६ घण्टासम्म काम गर्ने गर्थिन् । उनको काम गराइले उनका सासूससुरा पनि उनीप्रति खुसी हुन थालेका थिए । पुष्पलाल सबैका लागि असल, सरल र विनम्र थिए । 

त्यसमाथि उनले आफ्नी पत्नीलाई नसघाउने त प्रश्नै थिएन । वास्तवमा उनी नारी शोषणका विरोधी पनि थिए । तर उनका घरमा पुरुषलाई मात्र मान्ने प्रवृत्ति भएकाले उनले घरेलु काममा सहानालाई सघाएको कसैले मन पराउँदैन थिए । त्यसैले उनी बुबाआमाको आँखा छलेर आफ्नी पत्नीलाई बेलाबखत घरेलु काममा सघाउने गर्थे ।
••
पढेकी बुहारी भनेर सहानालाई उनका ससुराले कदर गर्थे । ससुराकै आग्रहमा सहानाले घरैमा ससुरालाई अङ्ग्रेजी पनि पढाएकी थिइन् । ‘हाँसेर कोही बोल्यो भने ‘एस्एस्’ भन्नु र अँध्यारो मुख लगाएर बोल्यो भने ‘नोनो’ भन्नु’ भनेर सहानाले आफ्नो ससुरालाई सुरुका दिनमा पाठ सिकाएकी थिइन् । 

बिहेपूर्व नै सहानाका ससुरा भक्तलाल श्रेष्ठसँग उनको सौहार्दता थियो । राणा मास्ने जुलुसमा पनि उनीहरू सँगै हिँडेका थिए । भक्तलाल अखिल नेपाल न्यून वैकल्पित सरकारी कर्मचारी सङ्घका अध्यक्ष थिए । भक्तलालको सभापतित्वमा भएको समारोहमा सहानाले भाषण पनि ठोकेकी थिइन् । साथै त्यति बेला भक्तलालको भाषणको गाइड अथवा भनौँ, निर्देशक पनि सहाना नै थिइन् । त्यतिखेर सहानाको इसारामा भक्तलालले भाषण गर्थे । सहानाका परिवारभित्र सानोले ठूलोलाई आदर गर्नुपर्ने परम्परा थियो । खास गरेर बुहारी जातिले सासूससुरालाई दिनहुँ ढोग्नुपर्ने हुन्थ्यो । पढेकी बुहारी भएकीले ससुराले विशेष गरेर सहानाको कदर गर्थे र भन्थे— ‘तिमीले मलाई दिनदिनै ढोग्नु पर्दैन ।’

ससुराले मात्र नभएर सहानालाई उनकी जेठानी हसिनाले पनि खुबै माया गर्थिन् । जेठानी र सहाना खुबै मिल्थे । सहाना आफ्नी जेठानीलाई भान्साको काम सघाइरहन्थिन् । उनी जेठानी दिदीलाई भाउजू भनेर सम्बोधन गर्थिन् । ‘भाउजू म के सघाऊँ’ भनेर सहानाले सोधेको प्रश्नको उत्तरमा ‘जाऊ तिम्रो लेख्ने, पढ्ने काम हो । भान्साको काम तिम्रो होइन, मेरो हो’ हसिनाले भन्ने गर्थिन् ।
••
२०११ सालको भाइटीकाका दिन सहानादम्पती सन्तानका बाबुआमा भएका थिए । पहिलो चोटिका सन्तानका रूपमा उनीहरूले छोरीको मुख हेर्न पाएका थिए । अनि ती छोरीको नाउँ उषा राखियो । सहानाले छोरी पाएपछि उनलाई पार्टीको काम गरेर घर खान सारै असजिलो भएको थियो । त्यति बेला उनलाई चारतिर काम गरेर अरूहरूलाई रिझाउन निकै गाह्रो थियो । उनका ससुरा पनि उनलाई पार्टीमा काम नगरे हुन्थ्यो भन्ने मानसिकतामा थिए । पछिल्ला दिनमा सहानाका ससुराले उनलाई ‘घर र स्कुलको मात्र काम गरे पुगिहाल्यो नि’ भन्ने गर्थे । तर सहानालाई पार्टीको काम छाड्न मन थिएन । ‘यही सङ्गठनले मलाई चिनायो र म यहाँसम्म आइपुगेँ म कसरी पार्टी छोडौँ’ भन्ने भावनाले सहानाभित्र जरा गाडिसकेको थियो ।

सहाना अनेक जुक्ति झिकेर पनि पार्टीको काममा जाने गर्थिन् । उनको जुक्तिले नभ्याएको बेला उनी भागेर पनि पार्टीको काममा जाने गर्थिन् । पार्टीको काममा हिँड्दा उनी कहिले त खाली खुट्टा पनि घरबाट निस्किने गर्थिन् । भनौँ, घरबाटै जुत्ता लगाएर जाँदा जुत्ता बजेको आवाज आउँछ भनेर उनी जुत्ता बोकेर घरबाट निस्कने गर्थिन् । 
घरबाट कसैले नसुन्ने र नदेख्ने ठाउँमा पुगेर मात्र उनी जुत्ता लगाउने गर्थिन् । उनी यसरी हिँडेको देखेर उनका ससुरालाई असह्य हुन थालेको थियो । त्यसैले एक दिन त उनका ससुराले पुष्पलाललाई भनेका पनि थिए— ‘माहिला ! पार्टीभित्र तँ एक जना मात्र गए हुँदैन र ! तँ गएपछि सहानालाई पनि सँगसँगै लिएर जानुपर्छ र ? तिमीहरूले मात्र पार्टीको काम कति गर्ने ? पार्टीका लागि तिमीहरूले जति गर्नुथ्यो गरिहाल्यौ नि !’

आफूप्रतिको ससुराका व्यवहारले सहाना खिन्न थिइन् । ससुराकै कारणले उनलाई पार्टीमा गएर बराबर काम गर्न धेरै अप्ठ्यारो परिरहेको थियो । अनि एक दिन उनले आफ्ना पतिलाई विनम्रतापूर्वक भनिन्— ‘घरमा मलाई निकै कडा गरिन थालिएको छ । अब मेरो विषयमा पनि बुबासँग बोलिदिनुहोस् न !’ बुबाप्रति तेर्सिएको सहानाका कुरामा पुष्पलालको सकारात्मक उत्तर नै जाँदैनथ्यो । किनभने उनी आफ्ना बुबाका परमभक्त थिए । त्यसैले पुष्पलालले उल्टै आफ्नी पत्नीलाई भनेका थिए— ‘हेर सहाना ! यो घरको लडाइँ हो । अनि यो लडाइँमा मलाई नमिसाऊ । यो तिम्रो निजी लडाइँ हो । यसमा तिमी आफैँ लड्नुपर्छ । यस विषयमा बुबासँग तिमीले नै मात्र बोल्नुपर्छ । तिमीले बोल्नुपर्ने कुरा मैले बोल्दा राम्रो हुन्छ र ?’

जतिसुकै बाधा अडचन आए पनि सहानालाई पार्टीसँग अति नै मोह थियो । त्यसैले उनले पार्टीको कामबाट हात झिक्न नै सकिनन् । 
ससुरा र पतिका कुराले उनलाई दिग्दार लाग्न थालेको थियो । आफूले गर्दै आएको काममा बाधा अड्चन आउन थालेपछि उनी सिथिल हुन थालेकी थिइन् । क्रमशः उनको भावना घरपरिवारसँग विपरीत हुन पनि थालेको थियो । त्यही बीजको अङ्कुर पलाउँदै गयो । अन्ततः उनीहरू घरबाट छुट्टिएर बेग्लै बस्न थाले । 

सहिद गङ्गालाल अर्थात् जेठा दाजुकी विधवा हसिनालाई घरमा धेरै नै शारीरिक शोषण थियो । त्यसैले सहानाका ढिप्पीले उनीहरू हसिनालाई पनि आफूहरूसँगै लिएर घरबाट निस्केका थिए । वास्तवमा हसिना पनि आफ्ना देवरदेउरानीसँग भुतुक्कै थिइन् । 

मूलघरमा दिनहुँको कचकच भएपछि नै पुष्पलाल र सहाना छुट्टिएर बेग्लै बसेका थिए । वास्तवमा सहानालाई पनि बेग्लै बस्ने रहरचाहिँ थिएन । उनीहरूलाई बेग्लै बस्नुपर्ने बाध्यता त परिस्थितिले स्थापित गरेको थियो । तर त्यसपछि पनि उनीहरूलाई आर्थिक अवस्थाले आक्रान्त पार्न छोडेको थिएन । 

पुष्पलालले अर्थ उपार्जन गर्ने कुरै थिएन । उनी बिहान झिसमिसेमा कतिखेर घरबाट हिँड्थे र त्यसरी घरबाट चम्पट ठोकेपछि कतिखेर घरमा आएर खान्थे, सुत्थे सहानालाई पत्तै हुँदैनथ्यो । उनको त्यो रीत निरन्तर दोहोरिने गर्थ्यो । यदि सहानाले सीताराम हाईस्कुलमा पढाउन नछोडेको भए उनीहरूको आर्थिक अवस्था राम्रै पनि हुने थियो । 
••
पुष्पलाल र सहानाको दाम्पत्य जीवन पनि विचित्रकै थियो । उनीहरूको भेटघाट हुन पनि साइत चाहिन्थ्यो । पुष्पलाल कहिले महिनौँदिन हराउँथे । उनीहरू एक महिनासम्म सँगसँगै बसेको इतिहास सहानाले पाउनै सकेकी थिइनन् । यति हो, पुष्पलाल सहानाको कदर गर्थे । उनी सहाना र छोरी उषाको मायामा डुब्दाडुब्दै पनि आफ्नो समयको समन्वय मिलाउन नसक्ता घरबाट टाढाटाढै हुन्थे । तर त्यही परिवेशमा उनीहरूको घरमा पुत्ररत्नको पनि उदय भयो । अथवा भनौँ, २०१४ साल माघ २६ गते उनीहरूको छोरा उमेशलालको जन्म भयो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप