मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा स्क्रबटाइफस र डेङ्गुका बिरामी बढे

शनिबार, १० असोज २०७७, १३ : ५७
शनिबार, १० असोज २०७७

कोरोना सङ्क्रमणका बेला यहाँ स्क्रबटाइफस र डेङ्गुका बिरामी बढेका छन् । भरतपुर अस्पतालमा दुई महिनामा ६९ जनालाई स्क्रबटाइफस र २४ जनालाई डेङ्गु देखिएको छ ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार साउन र भदौमा परीक्षण गरिएका ३ सय ४५ जनाको नमूनामा ६९ जनामा स्क्रबटाइफस देखिएको हो ।  सोही अवधिमा ३ सय १५ जनाको परीक्षण गर्दा २४ जनामा डेङगु देखिएको छ । 
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार सबै रोगको तथ्याङ्क सङ्कलन भईरहेको छ । मुसामा हुने एकप्रकारको माइट भन्ने सङ्क्रमित किर्नाको माध्यमबाट ओरियन्टिया सुुत्सुगामुसी भन्ने व्याक्टेरियाको कारणले स्क्रब टाइफस हुने भरतपुर अस्पतालका डा. महेन्द्र अग्रहरिले जानकारी दिए । यो रोग वर्षाको समयमा देखिन्छ । उक्त किर्नाले टोकेको सामान्यतया ५ देखि २० दिनभित्र यो रोगको लक्षण देखिन थाल्छ । यसमा विशेषरी उच्च ज्वरो आउने, शरीरमा टोकेको ठाउँमा घाउ हुने, जण्डीस हुने, पेट दुख्ने अग्रहरिले बताए ।  

यसै गरी एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्ये एक डेङ्गु हो । यसको सङ्क्रमणमा शुरूआती दिनमा शरीरमा रातो रातो डावर आउने, एक सय डिग्री भन्दा वढी ज्वरो आउने, गिजा र पिसाबमा रगत देखिने जस्ता लक्षण देखा पर्ने डा. अग्रहरिको भनाइ छ ।

जिल्लाका शहरी क्षेत्रमा अहिले पानी भरिएको छ । त्यसले रोग थप बढ्न सक्ने भरतपुर अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका डा. भोजराज अधिकारीले बताए । उनका अनुसार पानी सुक्दै जाँदा रोगको प्रकोप वढ्दै जाने खतरा छ । जिल्लामा हरेक वर्ष यतिवेला दुबै रोगका बिरामी बढ्ने गर्दछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप