मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असुरक्षित गर्भतन गराउने क्रम बढ्दो

शनिबार, १० असोज २०७७, १४ : ३४
शनिबार, १० असोज २०७७

सरकारले कानूनी रुपमा गर्भपतनलाई मान्यता दिएको भए पनि चेतनाको अभावमा असुरक्षित गर्भपतन गराउने गर्दा कतिपयले ज्यान नै गुमाउने गरेका छन् । गर्भपतनको कानूनी पक्षबारे ज्ञान नहुँदा असुरक्षित गर्भपतन हुने गरेको चिकित्सकहरु बताउँछन् ।
 
गर्भवती महिलाको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा तोकिएको स्वास्थ्य संस्थामा गर्भपतन गराउन सकिन्छ । प्रचलित कानूनले तोकेको परिधिमा रहेर गरिने गर्भपतन सेवालाई सुरक्षित गर्भपतन सेवा भनिन्छ । भरतपुर अस्पतालका सिनियर कन्सल्ट्यान्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सुरक्षित गर्भपतन सेवामा गर्भपतनसँगै गर्भ निरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भ निरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचारसमेत पर्ने बताए । 
 
कानूनी व्यवस्थाअनुसार १२ हप्तासम्मको गर्भ र जबरजस्ती करणी एवं हाडनाता करणीबाट रहन गएका १८ हप्तासम्मको गर्भपतन गर्न पाइन्छ । गर्भपतन गराएमा महिलाको ज्यानमा खतरा पर्ने भएमा वा शारीरिक वा मानसिक रुपले स्वास्थ्यमा असर पर्ने अवस्थामा वा विकलाङ्ग बच्चा जन्माउन सक्ने अवस्था भएमा योग्यता प्राप्त चिकित्सकको रायमा जुनसुकै अवधिको गर्भपतन गराउन पाइने व्यवस्था रहेको उनले जानकारी दिए । 

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार गत आव २०७६÷७७ मा जिल्लामा पाँच  हजार दुई जनाले सुरक्षित गर्भपतन गराएका छन् । यसमध्ये ८७९ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७५÷७६ मा सुरक्षित गर्भपतन गराउने चार हजार ६३६ मध्ये ४६४ जना २० वर्षमुनिका छन् । यसैगरी आव २०७४÷७५ मा यो सङ्ख्या चार  हजार ४८१ रहेको छ । त्यसमध्ये ३४६ जना २० वर्षमुनिका थिए । 
 
विगतमा भन्दा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको भएपनि असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या त्यो भन्दा ठूलो हुनसक्ने उनको आँकलन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप