बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

यी नेपाली जसले गाउन जानेका छन् ६५ देशका राष्ट्रगान

शनिबार, १० असोज २०७७, १४ : ५८
शनिबार, १० असोज २०७७

कोरोना महाव्याधि नभएको भए यतिबेला गायक रामजी नेपाली देशदेशावर यात्रारत हुन्थे । चीनको वुहानबाट कोरोना भाइरसको फैलावट बढ्दै जाँदा उनको विश्वयात्रा भने अपर्झट रोकियो । भारतका सात प्रान्त घुमेर बङ्गलादेश जाने क्रममा गत पुसमा सिलुगढीबाट नेपाल फर्किए ।

विभिन्न देशका राष्ट्रगान गाउँदै सन् २०१५ देखि विश्वयात्रामा निस्किएका उनको यस वर्ष बङ्गलादेश, श्रीलङ्का, माल्दिभ्सलगायतका देश पुग्ने योजना थियो । कोरोनाले निम्त्याएको विषम स्थितिका कारण उनको विश्वयात्रा अहिले स्थगनमा छ, फेरि कहिले शुरु हुन्छ ठेगान छैन ।

बागलुङ नगरपालिका–६ भीरलाङ्खुरीका ४१ वर्षीय उनको सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य थियो । कोरोनाकै कारण अब यात्राको त्यो योजना र लक्ष्य पछि धकेलिने निश्चित छ । ‘विश्व बन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावना’को सन्देशसहित उनी विश्वयात्रामा थिए ।

“स्थिति प्रतिकूल हुँदा पनि मैले कुनै तनाव लिइनँ, यो समयको मैले राम्रो सदुपयोग गरेँ”, उनले भने, “अहिले म ६५ देशका राष्ट्रगान गाउन सक्ने भएँ, आउँदो डेढ÷दुई वर्षभित्र १९४ देशकै राष्ट्रगान गाउँछु ।” नेपालीले अहिले पूर्वी युरोपेली देश अलबानियाको राष्ट्रगान सिकिरहेका छन् । बन्दाबन्दी र निषेधाज्ञाको समय सिर्जना र साधनामा बिताएको उनले सुनाए । 

भाइचारा र सद्भावनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रगान गाउँदै विश्वयात्रामा हिँडेको नेपालीले बताए ।
 हालसम्म उहाँले भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डको भ्रमण गरिसकेका छन् । “पहिलो विदेश यात्रा सन् २०१७ मा बेल्जियमबाट शुरु गरेँ, प्रवासी नेपालीहरुसँगको समन्वयमा युरोप पुगेँ”, उनले भने ।

उनले आइफिल टावरमा पुगी फ्रान्सको राष्ट्रगान गाएको स्मरण गरे । बेल्जियम, स्पेन र नेदरल्याण्डका विभिन्न शहर र सार्वजनिकस्थलमा समेत राष्ट्रगान गाएको नेपालीले बताए । 
बुद्ध र सगरमाथाको देशका रुपमा नेपालको चिनारी बोकेर विदेश पुग्दा गौरवबोध भएको नेपालीले सुनाए । 
यसैबीच, विश्व पर्यटन दिवसको सन्दर्भमा यही असोज ११ गते गायक नेपालीले एकै मञ्चबाट ५० देशका राष्ट्रगान गाउने कार्यक्रम तय गरिएको छ । कोरोना सङ्कटका बेला विश्व एकता र भातृत्वको सन्देश दिने उद्देश्यले सो कार्यक्रम राखिएको आयोजक नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप