बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी कार्यालयमा विरोधपत्र दर्ता गर्ने पौडेल समूहको तयारी : पौडेल–सिटौलाबीच ‘गोप्य’ छलफल

आइतबार, ११ असोज २०७७, १० : ५७
आइतबार, ११ असोज २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको निष्पक्षतासँग जोडिएका पछिल्ला निर्णय सच्याउन माग राखेर पार्टीको केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गर्ने भएको छ ।

शनिबार बसुन्धरास्थित एक पार्टी प्यालेसमा पौडेल पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठकको निर्णयपछि आइतबार दिउँसो पार्टी कार्यालयमा विरोध पत्र दर्ता गर्न लागिएको हो ।

विरोध पत्रमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादवसहित २७ जनाको हस्ताक्षर रहेको छ  । केन्द्रीय सदस्य कल्याण गुरुङका अनुसार पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेतको समर्थनमा विरोध पत्र दर्ता गर्ने प्रयास भइरहेको छ ।

त्यसका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलाबीच आइतबार साढे ९ बजेबाट छलफल भइरहेको छ । छलफल भइरहेको स्थान भने खुलाइएको छैन ।

सिटौलामा समूहलाई सामेल हुन नचाहे पनि पदाधिकारी र सदस्यहरू गरी २७ जनाद्वारा हस्ताक्षरित विरोध पत्र दर्ता गर्ने पौडेल समूहको तयारी छ । विरोधपत्र पछि संस्थापन पक्षले निर्णय नसच्याए चरणबद्ध विरोधका कार्यक्रम लिएर जाने पनि पौडेल पक्षको तयारी छ । त्यसका लागि गत साउनदेखि नै पौडेल पक्षले गृहकार्य गरिरहेको छ ।

तर सिटौला आफ्नो समूहलाई छुट्टै अघि बढाउने भन्दै पौडेलसँगको मोर्चाबन्दीबाट सामेल नहुने निष्कर्ष निकालेको छ ।

शनिबार पौडेल समूहले बसुन्धरा बैठक राखेकै समयमा सिटौला समूहको बैठक सिटौला निवासमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको थियो  । सिटौलामा समूहलाई सामेल हुन नचाहे पनि पदाधिकारी र सदस्यहरू गरी २७ जनाद्वारा हस्ताक्षरित विरोध पत्र दर्ता गर्ने पौडेल समूहको तयारी छ ।

विरोधपत्र पछि संस्थापन पक्षले निर्णय नसच्याए चरणबद्ध विरोधका कार्यक्रम लिएर जाने पनि पौडेल पक्षको तयारी छ । त्यसका लागि गत साउनदेखि नै पौडेल पक्षले गृहकार्य गरिरहेको छ ।

गुरुङका अनुसार विरोध पत्रमा विधानविपरित गठन भएका केन्द्रीय विभागको खारेजी र क्रियाशील सदस्यतासम्बन्धी निर्णयहरू खारेज हुनुपर्ने माग राखिएको छ ।

‘महाधिवेशनको पूर्वसन्ध्यामा संगठनमा एकता र विश्वासको वातावरण अभिवृद्धि गर्दै धारिलो र शक्तिशाली सांगठनिक अभियानका माध्यमबाट सरकारका गलत क्रियाकलापप्रति खबरदारी गर्ने तथा संगठनको आन्तरिक जीवनलाई सुदृढ बनाउनुपर्ने हो,’ विरोध पत्रमा भनिएको छ ।

यसको बदला, अविश्वास, अनेकता र आशंकाको बादल मडारिएर संस्थापन र इतरपक्षका नाममा ध्रुवीकरण निम्तिनुका साथै पार्टी, लोकतान्त्रिक प्रणाली र राष्ट्रप्रतिको जिम्मेदारी छायामा पर्ने काम भइरहेको पत्रमा उल्लेख छ ।

गुरुङका अनुसार पौडेल पक्षले विरोध पत्रमा विधानविपरीत गरेको निर्णयदेखि नेतृत्वको कमजोरीले पार्टी भोग्नु परेको क्षतिका घटनाक्रमसम्म समावेश गरेको छ ।

सिटौला समूहका केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेलले सभापति देउवाका पछिल्लोपटक कदमविरुद्ध एक ठाउँमा उभिनुपर्ने राय राखेका थिए । तर सिटौला समूहको शनिबारको भेलाले आफू फरक ढंगले जानुपर्ने निष्कर्ष निकालेको छ ।

विभाग खारेजीको विपक्षीमा रहेको सिटौला समूहलाई पौडेलसँग मोर्चाबन्दी गर्न कठिन छ । सिटौला पक्षकै करिब ४०–५० जना नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाले विभागीय जिम्मेवारी दिएको देखिन्छ ।

पार्टीका ४७ केन्द्रीय विभाग मध्ये २० वटा गठन गरेका देउवाले करिब ९ सय जनालाई विभागीय जिम्मेवारी दिइसकेका छन् । यसले महाधिवेशनको निष्पक्षतामाथि आशंका उब्जाएको संस्थापन इतरको भनाइ छ ।

त्यसैले नै सिटौला समूहका केन्द्रीय सदस्यहरू गगन थापा र प्रदीप पौडेलले सभापति देउवाका पछिल्लोपटक कदमविरुद्ध एक ठाउँमा उभिनुपर्ने राय राखेका थिए । तर सिटौला समूहको शनिबारको भेलाले आफू फरक ढंगले जानुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय सदस्य शिव हुमागाईँ विभागीय प्रमुखको जिम्मेवारीमा रहेकाले पौडेलसँगको मोर्चाबन्दीमा सामेल हुन सिटौला समूह आनाकानी गरिरहेको देखिन्छ ।

तर पौडेल समूह १९ गते सोमाबारका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा आक्रम रुपमा प्रस्तुत हुने तयारीमा देखिन्छ ।

त्यसका लागि आज विरोधपत्र दर्ता गरेर एक हप्तामा विभाग गठन लगाएका निर्णय फिर्ता लिन देउवालाई दबाब दिन कस्सिएको छ । संस्थापन पक्षले महाधिवेशनका सम्बन्धमा छलफल गर्न भनि १९ गते बैठक बोलाएको छ ।

उक्त बैठकमा ९ वटा भ्रातृ संस्थाहरूको म्याद थप गरिएको अनुमोदन र तत्कालीन राप्रपाका नेता सुनीलबहादुर थापासहित काँग्रेस प्रवेश गर्ने नेताहरूको जिम्मेवारीबारे निर्णय हुने देखिन्छ  ।

थापालाई सहमहामन्त्रीसहित ५ जनालाई केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित सदस्यमा केन्द्रीय समितिमा भित्र्याउने संस्थापनको तयारी छ । यी तीनै विषयमा पौडेल समूहको प्रश्न उठाउँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप