बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैङ्कद्वारा आन्तरिक ऋण उठाउन सुरु, २० अर्बको लागि ९० अर्बको आवेदन

सोमबार, १२ असोज २०७७, १० : ३६
सोमबार, १२ असोज २०७७

काठमाडौँ । आर्थिक वर्ष २०७७/७८ को बजेटले व्यवस्था गरेको २ खर्ब २५ अर्बको आन्तरिक ऋणका लागि सरकाले कार्यतालिका स्वीकृत गरेको छ । नेपाल राष्ट्र बैङ्कले पठाएको प्रस्तावलाई बिहीबार अर्थ मन्त्रालयले स्वीकृत गरेर फिर्ता पठाएसँगै चालु आर्थिक वर्षको लागि राष्ट्र बैङ्कले कार्यतालिका सार्वजनिक गरेको हो । अघिल्लो वर्ष वैशाख अन्तिममा मात्रै कार्यतालिका स्वीकृत गरे पनि यो वर्ष बजारमा तरलता बढेपछि सुरुम्र कार्यतालिका सार्वजनिक गरेर ऋणपत्र निष्कासन सुरु गरेको हो । बिहीबार मन्त्रालयले आन्तरिक ऋण निष्कासन तालिकाका साथै पहिलो चौमासको बोलकबोल तालिकासमेत स्वीकृत गरेर पठाएको राष्ट्र बैङ्क राष्ट्रऋण विभागकी कार्यकारी निर्देशक डा. नीलम तिमिल्सिनाले जानकारी दिइन् । 

प्रकाशित कार्यतालिका अनुसार पहिलो चौमासको कात्तिकसम्म ५७ अर्ब, दोस्रो त्रैमास अन्तर्गत मंसिरदेखि फागुनसम्म ५६ अर्ब र तेस्रो त्रैमास अन्तर्गत चैतदेखि असारसम्म १ खर्ब १२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ । कुल आन्तरिक ऋणमध्ये ७० अर्बको ट्रेजरी बिल, १ खर्ब ५० अर्बको विकास ऋणपत्र, ४ अर्ब रुपैयाँको नागरिक बचतपत्र र १ अर्ब रुपैयाँको वैदेशिक रोजगार बचतपत्र विक्री गरिनेछ ।

७० अर्बको ट्रेजरी विलमध्ये ९१ र १८२ दिन अवधिको ऋणपत्र २१/२१ अर्ब र ३६४ दिनको ऋणपत्र २८ अर्बको ऋणपत्र बिक्री हुनेछ । त्यस्तै, १ खर्ब ५० अर्बको ऋणपत्र मध्ये ५ वर्ष अवधिको ३० अर्ब, ६ वर्ष अवधिको २० अर्ब, ७ वर्ष अवधिको ३० अर्ब, ८ वर्ष अवधिको ३० अर्ब, ९ अर्ब अवधिको २० अर्ब र १० वर्ष अवधिको २० अर्ब रुपैयाँ बराबरको बिक्री हुने राष्ट्र बैङ्कको कार्यतालिकामा उल्लेख गरिएको छ । नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको अवधि भने ५/५ वर्षको हुनेछ ।

पहिलो बोलकबोलमा ४.​५ गुणा माग

नेपाल राष्ट्र बैङ्कले आन्तरिक ऋणको बिक्री सुरु गरेको छ । बोलकबोल कार्यतालिका अनुसार कात्तिकसम्म ५७ अर्ब ऋण उठाउने जिम्मा पाएको बैङ्कले ९ वर्ष अवधिमो २० अर्ब रुपैयाँ बराबरको ऋणपत्रको लागि बोलकबोल गरेको हो । २०८६ “घ” नाम दिइएको उक्त ऋणपत्रका लागि आइतबार बैङ्क तथा वित्तीय संस्थाहरु बोलकबोलमा सहभागी भएका थिए । सो ऋणपत्रको निष्कासन सोमबार दिउँसो हुनेछ । बोलपत्रमा कम ब्याजदर कबोल गर्ने बैङ्क तथा वित्तीय संस्थाहरुको कबोल स्वीकार गरिनेछ ।

२० अर्बका लागि आइतबार भएको बोलकबोलमा ९० अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । उक्त ऋणपत्रको कटअफ ब्याजदर ४.७७ प्रतिशत रहेको राष्ट्र बैङ्क स्रोतले जनाएको छ । ९ वर्ष अवधिको ऋणपत्र भएकोले यो कटअफ मूल्यलाई राष्ट्र बैङ्कले तुलनात्मक रुपमा न्यून मानेको छ ।

अब आगामी २१ गते १० अर्ब रुपैयाँ बराबरको ७ वर्षे अवधिको २०८४ “घ” निष्कासन हुनेछ भने कात्तिक २० गते १० वर्ष अवधिको २० अर्ब रुपैयाँ बराबरको २०८७ “घ” नामको ऋणपत्र निष्कासन गरिनेछ ।

ट्रेजरी बिल अन्तर्गत असोज २७ गते ३ अर्ब रुपैयाँ र कात्तिक ३ गते ४ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाइनेछ । दुबै बिलको अवधि ३ सय ६४ दिन तोकिएको छ । यो चौमासमा नागरिक बचतपत्र र बैदेशिक रोजगार बचतपत्र भने बिक्री गर्ने कुनै कार्यतालिका छैन ।

तरलता बढेपछि सुरुमै कार्यतालिका

सामान्यतया सरकारले बजेटमा तय गरेको आन्तरिक ऋणसम्बन्धी उठाउनको लागि बजारको तरलता र वित्तीय सन्तुलनलाई प्रभाव नपार्ने गरी राष्ट्र बैङ्कले कार्यतालिका बनाउँछ । अर्थ मन्त्रालयले स्रोतको आवश्यकता अनुसार त्यस्तो कार्यतालिकालाई परिमार्जनसहित अन्तिम रुप दिने काम गर्छ । तर अर्थले स्वीकृत नदिएसम्म राष्ट्र बैङ्कले त्यस्तो ऋणपत्र बिक्री गर्न पाउँदैन ।

अघिल्लो वर्ष पनि राष्ट्र बैङ्कले आर्थिक वर्षको सुरुमै कार्यतालिका बनाएर अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो । अघिल्लो वर्ष राष्ट्र बैङ्कले बैशाखमा मात्रै कार्यतालिका स्वीकृत भएको थियो । सोही कारण आर्थिक वर्षको अन्तिम चौमासमा मात्रै सबै ऋण उठाइएको थियो ।

अघिल्लो वर्ष आर्थिक वर्षको सुरुदेखि नै बजारमा तरलता अभावकै अवस्था थियो । तरलता अभावका कारण बिकास ऋणपत्र वा ट्रेजरी बिलको ब्याजदर महँगो हुने अवस्था देखिएपछि सरकारले सुरुदेखि नै ऋण उठाउन अग्रसर देखिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप