शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जमीन भासिएर पहिरो जाँदा ३०० घर जोखिममा

सोमबार, १२ असोज २०७७, २१ : ३२
सोमबार, १२ असोज २०७७

शीतगङ्गा नगरपालिका वडा नम्बर ११ र १२ मा जमीन भासिएर पहिरो जाँदा सो क्षेत्र जोखिममा परेको छ । वडा नम्वर १२ को कोठिया मैदान र ११  ढुङ्गेसेरा क्षेत्रमा स्थलगत अवलोकन गरेको जिल्ला विपद् व्यवस्थापन समितिले झण्डै तीन सय घर पहिराको जोखिममा रहेकोे निर्णय गरेको छ ।
 
सदरमुकाम सन्धिखर्कमा बसेको समितिको बैठकले पहिराबाट भएको क्षतिको विवरण संकलन गर्न र आवश्यकताको पहिचान गर्न सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाको संयोजकत्वमा एक समिति बनाएको छ । 

घर भत्किएका र पहिराको जोखिम रहेको गाउँलाई स्थानान्तरण गर्न ठाउँको खोजी गर्न  नगरपालिकाका प्रमुख सूर्यप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । 

उक्त स्थानमा जमीन धुजाधुजा भएर फाटेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताए । पहिरो खस्ने क्रम अहिलेसम्म रोकिएको छैन । सबै गाउँको जमीन भासिएकाले सबैलाई सुरक्षित स्थानमा लगेर राख्नुपर्ने समितिको बैठकले निष्कर्ष निकालेको छ । 

कोठिया मैदानमा २६ घर पूर्ण रुपमा भत्किएका छन् । छयालीस घर पहिराको उच्च जोखिममा र झण्डै एक सय घर  जोखिममा  छन् ।  ढुङ्गेसेरा क्षेत्रमा जमीन भासिँदा  पाँच घर पूर्ण रुपमा भत्किएका छन् । एघार घर पहिराको उच्च जोखिममा रहेको र झण्डै दुई सय घरको सो क्षेत्र नै पहिराको जोखिममा रहेको वडा नम्वर ११ का वडाध्यक्ष कपिल आलेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप