शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्वेका राजा हेराल्ड बिरामी विदामा बस्ने

सोमबार, १२ असोज २०७७, २२ : ४५
सोमबार, १२ असोज २०७७

एजेन्सी । नर्वेका ८३ वर्षीय राजा हेराल्ड पाँचौँ एक हप्ता विरामी विदामा बस्नुहुनेभएको यहाँको दरबारले जानकारी गराएको छ ।  गत हप्ता श्वासप्रश्वासको समस्या देखिएपछि अस्पताल भर्ना भई उपचारपछि सोमबार घर फर्किएका उनलाई एक साता आराम गर्न चिकित्सकले सल्लाह दिएको बताइएको छ ।

अस्पतालद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, “उहाँको स्वास्थ्य अवस्थाको अस्पतालले समीक्षा गरिरहेको छ । हेराल्ड आगामी अक्टोबर ४ गतेसम्म विदामा बस्नुहुनेछ ।” उनान्तीस बर्षदेखि नर्वेको राजागद्दीमा रहेका राजा हेराल्डलाई शुक्रवार बिहान ओस्लो विश्वविद्यालय अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई श्वासप्रश्वासको समस्या रहेको बताइएको तर उनलाई कोभिड–१९ सङ्क्रमण भने नभएको दरबारले उल्लेख गरेको छ ।  उनको अनुपस्थितिमा राजकुमार हाकनले अस्थायी रूपमा जिम्मेवारी सम्हाल्ने व्यवस्था गरिएको छ । 

सन् १९६४ को टोकियो ओलम्पिकमा भाग लिएका उनी युवाअवस्थामा जलक्रिडामा रमाउने गर्थे । राजा हेराल्डलाई नर्वेजियालीहरूले एकताका प्रतिकका रूपमा हेर्छन् । उनले स्वास्थ्यमा देखिएको समस्याका कारण तत्काल गद्दी त्याग्ने विचार लिइनसकेको बताइएको छ । उनलाई जनवरीमा पनि चक्कर लागेपछि अस्पतालमा एक हप्ता राखिएको थियो । 

करिब २० वर्ष पहिले उनको मुत्राशयमा क्यान्सर देखिएपछि शल्यक्रिया गरिएको थियो । त्यसपछि सोही दशकमा मुटुको ‘भल्भ’ को पनि उपचार भएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप