शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आउटसोर्सिङ कम्पनी सामाजिक सुरक्षा कोषमा जानैपर्ने, नगए नवीकरण नहुने

मङ्गलबार, १३ असोज २०७७, १३ : १०
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । अन्य व्यवसायिक संस्थाहरुका लागि श्रमिकको आपूर्ति गर्ने (आउटसोर्सिङ) कम्पनीहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकरण र योगदान अनिवार्य गरिएको छ । श्रम विभाग र विभाग अन्तर्गत रहेको ११ वटै श्रम कार्यालयहरुले सामाजिक सुरक्षा कोषमा सूचीकरण र नियमित योगदान नगरेका त्यस्ता कम्पनीले आउटसोर्सिङ गर्ने अनुमतिपत्रको नवीकरण नगरिदिने व्यवस्था गरेका हुन् । 

अहिले ७ सय भन्दा बढी आउटसोर्सिङ कम्पनीहरु क्रियाशील छन् । ती कम्पनीले कर्मचारी भर्ना गर्ने, आवश्यक तालिम दिने र सम्बन्धित रोजगारदाता निकायमा खटाउने काम गर्दै आएका छन् । आउटसोर्सिङ सञ्चालन गर्न विभागबाट अनुमति लिनुपर्ने व्यवस्था रहेकोमा कोषले विभागसँग सूचीकरण र योगदान अनिवार्य गराउनको लागि पहल गरेको थियो । 

सामाजिक सुरक्षा कोषका निर्देशक नेत्र पन्थीले आउटसोर्सिङ कम्पनीहरु सामाजिक सुरक्षा कोषमा आउँदा एकैपटक लाखौं श्रमिक सूचीकृत हुने अवस्था रहेको बताए । एउटै आउटसोर्सिङ कम्पनीले दशौं हजारसम्म श्रमिकको आपूर्ति गर्दै आएको भन्दै यी सबै कम्पनीहरु सूचीकृत हुन आउँदा यसले योगदानकर्ताको संख्यामा एकैपटक ठूलो मात्रामा वृद्धि हुने बताए । अहिले त्यस्ता कम्पनीहरुले सेक्युरिटि गार्ड लगायत र अन्य प्राविधिक र प्रशासनिक कामका लागि समेत श्रमिकको आपूर्ति गर्दै आएका छन् । 

सामाजिक सुरक्षा कोषले अरु नियामक निकायहरुसँग पनि छलफल अघि बढाइरहेको छ । सामाजिक सुरक्षा ऐनले कोषमा अनिवार्य रुपमा सहभागी हुनुपर्नेगरी गरेको व्यवस्थालाई टेक्दै कोषले राष्ट्र बैंक, बीमा समिति लगायतका नियामकीय निकायसँग छलफल अघि बढाएको पन्थीले बताए । 

अनिवार्य भनिएको सामाजिक सुरक्षा कोषमा सहभागी हुन अहिले पनि कर्मचारी र रोजगारदाताहरु हिच्कििचाइरहेका छन् । सोही कारण अहिलेसम्म पनि उल्लेख्य रुपमा सहभागी भएका छैनन् । अहिलेसम्म १२ हजार श्रमिकमार्फत् १ लाख ७५ हजार श्रमिक सूचीकृत भए पनि योगदानमा सहभागी भएकाको संख्या ६४ हजार मात्रै छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप