शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या १० लाख नाघ्यो

मङ्गलबार, १३ असोज २०७७, १४ : ५३
मङ्गलबार, १३ असोज २०७७

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभरी मृत्यु भएकाहरुको सङ्ख्या दश लाखभन्दा बढी पुगेको छ । विश्वलाई नै प्रभावित पार्नेगरी नौ महिना अगाडिदेखि फैलिएको महामारीका कारण मानवीय क्षतिसँगै अन्य क्षेत्रमा पनि व्यापक नोक्सानी भएको छ । 

कोरोना महामारीले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँजेको छ भने विश्वका नेताहरुको परीक्षा लिएको छ । त्यसैगरी विज्ञानलाई पनि कोरोना महामारीले चुनौती दिदै निरिह बनाएको छ । “मृत्यु भएकाहरुको यो केबल सङ्ख्या मात्रै होइन, यसमा मानवीयताको कुरा छ, लाखौ मानिसको प्रेम जोडिएको छ, त्यसैले पनि यो धेरै फराकिलो र गहिरो छ,” चिकित्सा इतिहासका प्राध्यापक होवार्ड मर्केलले भने ।

मिचिगन विश्वविद्यालयमा कार्यरत मर्केलले यही कोरोना महामारीकै क्रममा ८४ बर्षिया आफ्नी आमालाई गुमाएका थिए । “निधन भएकाहरुको सङ्ख्यामा कोही हाम्रा दाइ छन्, कोही भाइ छन्, कोही हाम्रा दिदिबहिनी छन्, कोही बुवा आमा हुनुहुन्छ, त्यसैले यसले धेरैलाई प्रभावित पारेको छ । हामीमा मानवीयता छैन भने मात्रै यो सङ्ख्याले कुनै असर पार्दैन, नत्र यसले विक्षिप्त पार्दछ,” उनले बताए ।

जोन हकिङ्स विश्वविद्यालयले सोमबार सार्वजनिक गरेको मृतकहरुको सङ्ख्या जेरुसेलम वा अस्टीनकोभन्दा धेरै भएको पनि उनले बताए ।  त्यसैगरी सन् २००४ मा हिन्द महासागर क्षेत्रमा आएको भूकम्प र आँधीले गरेको क्षतिभन्दा धेरै मानवीय क्षति भएको पनि उल्लेख गरिएको छ । 

औसतमा दैनिक पाँच हजार मानिसको कोरोनाभाइरसका कारण मृत्यु भइरहेको विवरणहरु सार्वजनिक भइरहेका छन् ।  बेलायत र युरोपेली मुलुकहरुमा महामारीको दोस्रो चरण चलिरहेको छ । संसारका अधिकांश देशहरुमा अहिले पनि दैनिक रुपमा हजारौ मानिसको मृत्यु भइरहेको छ । पछिल्लो विवरणअनुसार कोरोनाका कारण विश्वभरी कुल मृतकको सङ्ख्या १० लाख ६ हजार ४७१ पुगेको छ ।  त्यसैगरी कुल सङ्क्रमितको सङ्ख्या भने तीन करोड ३५ लाख ५७ हजार ९५९ पुगेको अधिकारीहरूले जानकारी दिएका छन् । 

कुल सङ्क्रमितमध्ये दुई करोड ४८ लाख ८२ हजार १८६ जना सङ्क्रमणमुक्त भएका छन् भने ७६ लाख ६९ हजार ३०२ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।  कुल सङ्क्रमितमध्ये ६५ हजार ३२५ जना मात्रै गम्भीर अवस्थामा छन् भने अरु ७६ लाख तीन हजार ९७७ जनाको अवस्था सामान्य रहेको छ ।  सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् भने त्यसपछि भारत, ब्राजिल, रुस कोलम्बीया, पेरु, स्पेन, मेक्सिको, अर्जेन्टीना र दक्षिण अफ्रिका क्रमशः अग्र दश मुलुकमा रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप