शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाका मेयर भन्छन्–अब लकडाउन हैन, कोरानासँग लड्दै काम गरौँ

मङ्गलबार, १३ असोज २०७७, १६ : ०१
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । सबैभन्दा धेरै जनघनत्व रहेको काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । काठमाडौंमा जारी निषेधाज्ञा हटाउनुका साथै लामो दुरीको सवारी सञ्चालन हुन थालेपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको केन्द्र बनेको छ । 

पछिल्लो समय देशभरीको कोरोना संक्रमणको आँकडाको तुलना गर्दा उपत्यकामा दैनिक ५० देखि ६० प्रतिशत हाराहारी कोरोना संक्रमित फेला पर्न थालेका छन् । उपत्यकामा नगर प्रमुखहरुमा समेत कोरोना संक्रमण हुन थालेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य उपचारपछि फर्किएका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ आइसोलेसनमा रहेका छन् । 

राजधानी प्रवेश गर्ने प्रमुख नाकाको रुपमा रहेको नागढुङ्गा नाका काठमाडौंको चन्द्रागिरी नगरपालिका अन्तर्गत पर्छ । सो नगरपालिकामा ६ जनाको संक्रमणबाट निधन भएको छ । २५ जना अस्पताल र ८५ जना होम आइशोलेशनमा छन् । चन्द्रगिरी नगरपालिकामा हालसम्म ३ सय ९० जना संक्रमित भइसकेका छन् । 

नगरप्रमुख घनश्याम गिरीले मनमोहन अस्पताल र अर्को एक अस्पतालमा गरेर ७ सय आइसोलेन बेड तयार पारेको र घरमा बस्न नमिल्ने संक्रमितलाई अस्पतालको आइसोलेशनमा राखिएको बताए ।  नगरप्रमुख गिरीले कारोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारबाट कुनै साथ नपाएको बताए । उनले भने– ‘नगरपालिकाको तर्फबाट हामीले हेल्थ डेस्क राख्ने, भेहिकल स्प्रे टनेल बनाउने, सार्वजनिक रुपमा पीसीआर टेष्टको व्यवस्था गरेपनि संघीय सरकारले खासै सहयोग गरेन ।’  

सरकारको कोरोना रोकथामका लागि निश्चित अवधारणा नभई महिनैपिच्छे फरक–फरक अवधारणा आएका कारण कोरोना संक्रमण फैलिएको उनले दावी गरे । उनले भने–‘कोरोना रोकथामका लागि महिनै पिच्छे फरक–फरक अवधारणा आउनुभएन । एउटा निश्चित अवधारणा तोकेर जानुपर्छ । काठमाडौं छिर्ने नाकाहरुमा पीसीआर टेष्टको व्यवस्था गर्नुपर्ने हो कि वा अन्य के गर्ने हो एउटा राष्ट्रिय किसिमको अवधारणा आउनुपर्छ । केन्द्र सरकार अन्यौलमा छ । नगरपालिकाभित्र हामीले जे सक्छौँ त्यो आफूखुसी ग¥यौँ, हामीले केही सहयोग पाएनौँ ।’

सरकारले अलि छिटो लकडाउन खुला गरेका कारण उपत्यकामा संक्रमण बढेको उनको दावी छ ।  यता काठमाडौं प्रवेश गर्ने नाका रहेको दक्षिणकाली नगरपालिमामा भने थोरै मात्र संक्रमित फेला परे ।  हालसम्म ३७ जना कोरोना पोजिटिभ देखिएकोमा अब दुई तीन जना निको हुन बाँकी रहेको र अरु सबै निको भएर फर्किएको नगरप्रमुख मोहन बस्नेतले रातोपाटीलाई बताए । 

उनले कोरोना संक्रमण बढिरहेका बेला पनि सरकारले लकडाउन खोल्नु अप्ठेरो भित्रको सफ्टेरो खोजिएको उल्लेख गरे ।  उनले भने–‘कोरोनासँग सामाजिक दुरी कायम गरेर अब जीवन यापन गर्नुपर्ने भएको छ । कुनै पनि सरकारले एक्लै यसलाई रोक्न सक्ने अवस्था छैन र सरकारले काम गर्न सकेन भन्ने पक्षमा म छैन । आम जनता मिलेर यो संक्रमणबाट बच्नका लागि प्रयास गर्नुपर्छ । त्यसका लागि आवश्यक स्रोत साधन तीन तहका सरकारले उपलब्ध गराइदिनुपर्छ ।’

सामाजिक दुरी कायम गर्नुपर्छ भनेपनि सर्वसाधारणले नमानेको उनले बताए । दक्षिणकाली नगरपालिकामा ३० बेडको क्वारेन्टाइन तयार गरेको छ भने सोही नगरपालिकाको चाल्नाखेलमा २० बेडको आइसोलेसन तयार पारिएको छ ।  यता, काठमाडौंकै अर्को नाका शंखरापुर नगरपालिकामा ४५ जना कोरोना संक्रमित फेला परे । यो नगरपालिकामा स्थानीय दुई अस्पतालमा ४० बेडको आइसोलेसन तयार पारिएको मेयर सुर्वण श्रेष्ठले बताए । 

बाहिरबाट आएका मानिसलाई अस्पतालको क्वारेन्टाइनमा राख्ने गरिएको छ भने घर भएकाहरुलाई घरमा राख्ने व्यवस्था गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।  यो नगरपालिकालाई नगर अस्पताल निर्माणका लागि संघीय सरकारले १० लाख रुपैयाँ र प्रदेश सरकारले ३० लाख दिनेबारेको पत्र आइपुगेको उल्लेख गरे । 

शंखरापुर नगरपालिकामा एउटा पनि सरकारी अस्पताल नभएका कारण एउटा स्वास्थ्य केन्द्रलाई स्तरोन्ती गर्ने, एकजना डाक्टर राख्ने, फार्मेसी, ल्याव, एक्सरे मेसिन सहितको अस्पताल बनाउने तयारी भइरहेको श्रेष्ठले बताए ।  अहिले कोरोना संक्रमितको उपचारका लागि पिपल्स लाइफ केयर र सुष्मा कोइराला मेमोरियल अस्पतालको तर्फबाट डाक्टरहरुको सहयोग लिएर काम गरिरहेको उनले बताए । अहिले कोरोना संक्रमित बोक्नका लागि एउटा एम्बुलेन्स पनि तयार पारेको उनले बताए । 

सरकारले अब लकडाउन गर्न नहुनेमा उनको जोड छ । उनले भने–‘लकडाउन मात्र बढाएर गाह्रो हुन्छ, बढाउनुहुन्न् । लकडाउन बढाउँदाखेरी मान्छेको रोजीरोटी नै गुम्ने भयो । आर्थिक कारोबार केही पनि नहुने भयो । दशैं नजिक आइसकेको छ । कसैको धान भित्र्याउनुपर्ने, खेतीपाती गर्नुपर्ने, विकास निर्माण ठप्प भएका कारण विकास निर्माणको काम गर्नुपर्ने अवस्था छ ।’

शंखरापुर नगरपालिकाले हरेक शुक्रबार कोरोना संक्रमणको शंका लागेका ब्यक्तिलाई निःशूल्क पीसीआर परिक्षणको व्यवस्था समेत गरेको छ ।  यसअघि उपत्यकामा कडा निषेधाज्ञा गर्नुपर्छ भनेर मत राख्ने नगरप्रमुखहरु अब लकडाउन हैन, कोरोनाबाट जोगिएर नियमित काममा फर्कनुपर्ने बताइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप