शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैंका लागि तत्काल २ हजार मात्र खसी–बोका ल्याइने

मङ्गलबार, १३ असोज २०७७, १६ : ११
मङ्गलबार, १३ असोज २०७७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक दशैंका लागि २ हजार वटामात्र खसीबोका र च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । गत वर्षहरुमा तीन हजारका दरले खसीबोका र च्याङ्ग्रा ल्याइरहेको खाद्यले यस पटक कोभिड–१९ लाई हेरेर २ हजार वटामात्र ल्याउन लागेको हो । 

कोभिड–१९ का कारण अधिकांश उपभोक्ताहरु गाउँमा रहेको र रोगको संक्रमण र सन्त्रास कायमै रहिरहेको अवस्थामा बजारको माग समेत घट्न सक्ने पक्षलाई ध्यानमा राख्दै यसवर्ष २ हजार वटा मात्र खसीबोका र च्याङ्ग्रा ल्याउन लागिएको खाद्यका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले जानकारी दिए । 

यद्यपि बजारको माग र आवश्यकता भए साबिकै परिमाणमा तत्काल थप एक हजार खसीबोका समेत खरिद गरी ल्याइने खनालले रातोपाटीसँग बताए ।  ‘गत वर्षहरुमा जस्तै यसवर्ष पनि खाद्यले तीन हजार खसी बोका र च्याङ्ग्रा नै ल्याउने योजना बनाएको थियो । तर यस पटक कोभिड–१९ का कारण बजार माग घट्छ कि भनेर हामीले प्रारभिक चरणमा एक हजार कटौती गर्ने निर्णय गरेका हौं । तर आवश्यक र माग रहे थप त्यो एक हजार पनि तत्काल ल्याउँछौं’ खनालले भने । 

त्यसो त पूर्ण बजारलाई धान्ने गरी खाद्यले कहिले पनि खसी बोका ल्याउने नगरेको भन्दै खनालले बजारको मूल्यलाई नियन्त्रण गर्न मात्र प्रतिनिधिको रुपमा खसी,बोका र च्याङ्ग्रा उपलब्ध गराउँदै आएको बताए । यसवर्ष बजार आफै सन्तुलित हुने अवस्थामा खाद्यले त्यतिधेरै खसी,बोका र च्याङ्ग्रा ल्याउनुनपर्ने उनको भनाई छ ।

प्रारम्भिक रुपमा ल्याइने २ हजार खसी, बोका र च्याङ्ग्राहरुमध्ये यसवर्ष १ हजार हेटौंडा र दाङ, १ हजार च्याङ्ग्रा मुस्ताङबाट ल्याउने तयारी खाद्यले गरेको छ । कम्पनीले यसवर्ष पनि दशैंँका लागि तीन हजार खसी,बोका र च्याङ्ग्रा खरिदका लागि अनुमानित कुल ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप