सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन निर्देशन दिएको छ । धितोपत्र बजारको रुपमा एकमात्रै कारोबार गर्दै आएको नेप्सेले बजारमा सूचीकृत भएर नियमित रुपमा कारोबार गर्दै आएका कम्पनीहरुलाई नियमानुसार लाग्ने वार्षिक नवीकरण शुल्क असोज मसान्तभित्रै बुझाउन निर्देशन दिएको हो ।
नेप्सेले सूचीकृत संस्थासँग संस्थाको चुक्ता पुँजीको आधारमा दुई खालको शुल्क निर्धारण गर्दै आएको छ । नेप्सेले नवीकरण शुल्कबापत ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएको कम्पनीलाई १ लाख रुपैंया र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई ५० हजार रुपैंया शुल्क निर्धारण गरेको छ । म्युचुअल फण्डका हकमा भने यो शुल्कमा ५० प्रतिशत छुट गरिएको छ ।
म्युचुअल फण्डहरुले ५० करोड रुपैंया भन्दा बढी चुक्ता पुँजी भएमा ५० हजार रुपैंया र सोभन्दा कम चुक्ता पुँजी भएको कम्पनीलाई २५ हजार रुपैंया शुल्क तोकेको छ ।
धितोपत्र सूचीकरण नियमावली २०७५ ले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र आफ्नो सूचीकरण नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार तोकिएको समयभित्र नवीकरण नगरेमा नेप्सेले त्यस्ता धितोपत्रको कारोबार रोक्का गर्नसक्ने समेत सो नियमावलीमा व्यवस्था छ । नेप्सेले समयमा शुल्क नबुझाएमा १० प्रतिशतका दरले जरिवाना लाग्ने समेत प्रष्ट पारेको छ ।