शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको त्रासबीच काठमाडौँमा यसरी सञ्चालन हुँदैछ विद्यालय, तस्विरमा हेर्नुहोस्

बुधबार, १४ असोज २०७७, १५ : ०७
बुधबार, १४ असोज २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा दिननुदिन कोरोनाभाइरसको महामारी बढिरहेको छ । देशभर दैनिकरुपमा फेलापरेका संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा नै फेला परिरहेका छन् । सक्रिय संक्रमितहरु बढिरहेका बेला सरकारले पुनः लकडाउन हुनसक्ने चेतावनी पनि दिइरहेको छ ।

कोरोनाभाइरसको महामारीबाट सबै क्षेत्र प्रभावित छन् । यसबाट सबैभन्दा ठूलो मारमा विद्यार्थीहरु पनि परेका छन् । पहिलो लकडाउन शुरु भएयता उनीहरुको पाठनपाठन सहजरुपमा अघि बढ्न सकेको छैन । महामारीका कारण यो शैक्षिक सत्र नै खेर जाने त होइन भन्ने चिन्ता थपिएको छ । निजी विद्यालयले वैकल्पिक शिक्षाको रुपमा अनलाइन माध्यमबाट कक्षाहरु जसोतसो सञ्चालन गरिरहेका छन् । तर, सरकारी विद्यालयहरुमा पठनपाठन गर्ने निम्न वर्गीय विद्यार्थीहरुको भने पठनपाठन ठप्प जस्तै नै छ ।

यही विषयलाई ध्यानमा राखेर महामारीकै बीचमा विद्यार्थीको सिकाइ प्रक्रियालाई अघि बढाउन शिक्षा मन्त्रालय नयाँ निर्देशिका नै जारी गरेको छ । जसमा यो शैक्षिक सत्रलाई खेर जान नदिन पाठ्यक्रमलाई परिमार्जन गरी वैकल्पिक शिक्षाका विकल्पहरु प्रस्तुत गरिएको छ ।

सरकारले जारी गरेको नयाँ निर्देशिकाअनुसार चन्द्रागिरी नगरपालिका–७ स्थित प्रभात माध्यमिक विद्यालयले आशिंकरुपमा भए पनि पठनपाठनलाई शुरु गरेको छ । विद्यालयका अधिकांश विद्यार्थीहरु निम्न वर्गीय परिवारका रहेको र अनलाइन कक्षाा मार्फत वैकल्पिक सिकाइ सम्भव नभएपछि नगरपालिकाको निर्देशनअनुसार विद्यालय सञ्चालन गरिएको त्यहाँका शिक्षकहरु बताउँछन् ।

गत असोज १ गतेदेखि विद्यालयमा कक्षाहरु सञ्चालन भइरहेका छन् ।  विद्यालयकी शिक्षका शारदा ढकाल भन्छिन्, ‘हामीले अनलाइन कक्षा पनि सञ्चालन गर्ने प्रयास नगरेको होइन । तर, यहाँ पढ्ने बालबालिको आर्थिक स्तर निम्न वर्गीय रहेको छ । २ प्रतिशत मात्र अनलाइन कक्षामा सहभागी हुने देखियो । त्यही भएर आशिंकरुपमा भए पनि विद्यालयमा कक्षा सञ्चालन गर्न थालेका हौँ ।’

तर, विद्यार्थीहरुलाई स्कूलसम्म बोलाउनु पनि ठूलै कष्ट सहनुपरेको उनले सुनाइन् । अभिभावकहरुलाई भेटेर बालबालिकालाई विद्यालय पठाउनका लागि निश्चिन्त पार्न परेको उनले बताइन् । ‘बच्चालाई मास्क लगाएर पठाइदिनुहोस्, हामी बच्चालाई छुँदैनौँ भनेर सम्झाउने प्रयास गरेका थियौँ,’ उनले भनिन्, ‘यतिसम्म पनि बच्चाहरु आइदिएका छन् हामी खुसी छौँ ।’ विद्यालयमा सकेसम्म सुरक्षाका उपायहरु अपनाएर कक्षा सञ्चालन गरिरहेको पनि उनले बताइन् ।

अर्का शिक्षक गोविन्द रुपाखेतीका अनुसार विद्यालयमा ८५० विद्यार्थी रहेकामा हालसम्म करिब ५५० जनाको निःशुल्क भर्ना गरिएको जानकारी दिए । अहिले बिहान १० देखि १२ बजेसम्म प्राथमिक तहलाई १२ बजेदेखि २ बजेसम्म माध्यमिक तहका विद्यार्थीहरुको अध्यापन भइरहेको उनको भनाइ छ । एक हप्ता एउटा कक्षाको एकवटा कक्षा लिइरहेको उनले बताए । वडा नम्बर ७ मा हालसम्म संक्रमण नदेखिएको कारण अन्य ठाउँभन्दा यहाँ सुरक्षित रहेको पनि उनले जिकिर गरे । अब कक्षा ११ र १२ को पनि पढाइ सुरु गर्ने तयारी गरेको उनको भनाइ छ ।

यता, कक्षा ८ मा अध्ययनरत लक्ष्मी जैसीले विद्यालय आएर पढ्न पाउँदा रमाइलो लागेको बताइन् । उनले धेरैको पढाइ छुटेकाले अब सुरक्षाको उपाय अपनाएर विद्यालयहरु खोल्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप