शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युट्युवमा फिल्मको कारोबार धरासायी बन्दै, विकल्पको खोजी

बिहीबार, १५ असोज २०७७, ०९ : ५२
बिहीबार, १५ असोज २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को त्रास बढ्दो छ । वैश्विक महामारीको रुपमा फैरिएको यो भाइरसको संक्रमण नेपालमा पनि दैनिकजसो एक हजारभन्दा बढीमा देखिन थालेको छ ।

नेपालमा कोरोनाभाइरस पहिलो पटक गत चैत्रमा देखिएको थियो । नेपालमा संक्रमण देखिनुपूर्व यसको रोकथामका लागि भनेर सरकारले गत फागुनबाटै मेला, महोत्सव, पार्टीप्यालेस, चलचित्र घर, फिल्म छायाङ्कनलगायत भिडभाड हुने काममा प्रतिबन्ध लगाएको थियो । त्यस यता नेपाली फिल्म क्षेत्रका गतिविधि ठप्पजस्तै छ ।

धेरै क्षेत्रमा लगाएको प्रतिबन्ध सरकारले अहिले हटाए पनि फिल्मलगायत मनोरञ्जनात्मक गतिविधिमाथिको प्रतिबन्ध अझै कायमै छ । जसका कारण छायाङ्कन, प्रदर्शनलगायत फिल्मी गतिविधि ठप्प छन् ।

केही फिल्मकर्मी काममा फर्किने तरखरमा रहे पनि सरकारबाट अझै अनुमति नपाएकोले अलमलमै छन् ।

प्रदर्शनका लागि पाइपलाइनमा रहेका केही चलचित्र यसबीचमा डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक भए । लकडाउनको सुरुवाती समयमा फिल्मको डिजिटल व्यवसाय चम्किएको थियो । डिजिटल प्लेटफर्म मार्फत फिल्मको कारोबार गर्दै आएका विभिन्न कम्पनीले लकडाउनको समय भटाभट फिल्म बाहिर ल्याएका थिए ।

तर केही समयपछि यो क्रम सेलाउन पुग्यो । लकडाउन, निषेधाज्ञा र त्यसपछि पनि सवारी साधनमा जोरबिजोर प्रणालीका कारण कयौं मानिस आफ्नो घरमै रहन बाध्य भएपनि फिल्मको डिजिटल ब्यवसाय फस्टाउन नसकेको ब्यवसायी बताउँछन् ।

युट्युवमा राम्रो छैन

चैत्रयता बुढासुब्बा डिजिटलले युट्युवमार्फत धेरै फिल्म सार्वजनिक गरेको छ । यो अवधिमा बुढासुब्बाका मात्र करिब ९ फिल्म युट्युवमा आएका छन् ।

चैत्रमै अभिनेत्री पूजा शर्मा, सौगात मल्ल र आकाश श्रेष्ठ अभिनित ‘पोई प¥यो काले’ सार्वजनिक गरेको बुढासुब्बाले त्यसपछि ‘लभ फरएभर’, ‘मेरो दिल’, ‘रुमालै छ चिनो’, ‘धुलो’, ‘लभ यु हमेसा’, ‘लव डायरिज’लगायत फिल्म ल्याएको छ ।

कोरोनाको कहरका कारण घरमै सीमित रहनेका लागि समय बिताउन सजिलो पनि होस्, ब्यवसाय पनि हुन्छ भन्ने उद्देश्यले बुढासुब्बाले फिल्महरु युट्युवमा ल्याएको हो । तर सोचेअनुरुप युट्युवमा ब्यवसाय हुन नसकेको र कोरोनाको कहर अगाडि र पछाडिको कारोबारमा खासै फरक नरहेको बुढासुब्बाले जनाएको छ ।

‘अहिले युट्युवको कारोबार राम्रो छैन,’ बुढासुब्बाका मेनेजर विश्व खड्काले भने ‘युट्युवले पनि गुगल एडबाट पैसा दिने हो । उसकै एड घटेको छ ।’

अहिलेको समय च्यानलको सब्सक्राइबर बढ्छ र घरमा रहेकालाई समय बिताउन सजिलो होस् भनेर नयाँ फिल्म युट्युवमा ल्याइएको उनको भनाइ छ ।

‘सब्सक्राइबर र भ्युज बढेका छन् । तर आम्दानी भने बढेको छैन, उल्टै घटेको छ,’ खड्काले थपे, ‘युट्युवमा साउथ र हिन्दी फिल्ममात्र कति हेर्नु ! दर्शकले नयाँ नेपाली फिल्म पनि हेर्न पाउनु प-यो नि ।’

बुढासुब्बाका खड्काको जस्तै बिचार फिल्मको डिजिटल कारोबार गर्दै आएको हाइलाइट नेपालका जनक तामाङको पनि छ । पछिल्लो समय सबैभन्दा बढी फिल्मको डिजिटल अधिकार किन्ने हाइलाइटले लकडाउनको सुरुवाती समयमा सौगात मल्ल अभिनित फिल्म ‘पन्चेबाजा’ सार्वजनिक गरेको थियो । त्यसपछि हाइलाइटले ‘हुर्रे’, ‘झ्यानाकुटी’, ‘ह्यापी न्यु इयर’ र ‘जुन त लग्यो ताराले’ मात्र फिल्म बाहिर ल्याएको छ ।

‘लकडाउनको सुरुवाती समयमा केही फिल्म युट्युवमा ल्याइएको थियो । त्यसपछि युट्युव एडको समस्या देखिएकोले हामीले फिल्महरु सार्वजनिक गरेनौँ,’ तामाङले भने, ‘कोरोनाको समय युट्युवबाट समेत पैसा थोरै आउने भएकोले फिल्म सार्वजनिक गर्न समस्या भएको हो ।’ युट्युवको ब्यवसाय राम्रो नभएकोले आफुहरु विकल्पको खोजीमा लाग्न थालेको तामाङले सुनाए ।

‘युट्युव प्लेटफर्म समाजसेवा मात्र’

फिल्मको डिजिटल कारोबार गर्दै आएका कतिपय कम्पनीले युट्युव प्लेटफर्म पछिल्लो समय ब्यवसाय भन्दा पनि समाजसेवा भएको बताउन थालेका छन् । फिल्मको डिजिटल कारोबारमा बुढासुब्बा र हाइलाइटसँग प्रतिस्पर्धा गर्दै आएको ओएसआर डिजिटलले समाजसेवाका लागि युट्युवमा फिल्म राख्ने गरेको बताउँदै आएको छ । लकडाउनको समय ‘प्रेम दिवस’, ‘अनुराग’ ल्याएको यसले त्यसपछि ‘चङ्गा चेट’ ल्याएको छ ।

‘लकडाउन र त्यसपछिको परिस्थितिमा धेरैजसो मानिस घरमै रहने देखेर युट्युवमा केही फिल्म सार्वजनिक गरेको हो,’ ओएसआर डिजिटलका ओम अग्रवालले भने, ‘व्यवसाय त छैन । सर्वसाधारणको सुविधाका लागि भने उपयुक्त भएको छ ।’

अहिले युट्युवले ८० प्रतिशत आम्दानी रकम घटाएको उनको भनाइ छ । अग्रवालले थपे, ‘यस्तो समयमा फिल्म सार्वजनिक गर्ने मन त थिएन तर, घरमा बसेकालाई समय बिताउन सजिलो होस् भनेर केही नयाँ फिल्म सार्वजनिक गरेको हुँ ।’

अहिलेको समय युट्युवमा फिल्म व्यावसायिक भन्दा पनि सेवामुलक उद्देश्यले रिलिज हुने गरेको अग्रवाल बताउँछन् ।

डिजिटल कारोबारमा को-को छन्

युट्युव लगायत डिजिटल प्लेटफर्ममा नेपाली फिल्मको कारोबार गर्ने अग्रणी कम्पनी आधा दर्जन जति छन् । तीमध्ये बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटल, डिसहोमलगायत प्रमुख हुन् । बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र ओएसआर डिजिटलले युट्युवमार्फत फिल्मको कारोबार गर्दै आएका छन् । डिसहोमले भने आफ्नो छुट्टै च्यानल संचालन गरेर फिल्मको कारोबार गर्दछ ।

यी बाहेकका साइराम पिक्चर्स र हाइटेकजस्ता केही कम्पनी पनि छन् । जो फाट्ट फुट्ट फिल्म कारोबारमा देखिने गरेका छन् ।

चलचित्र घर बन्द भएको र लकडाउनको मौका छोपेर सुरुवाती समयमा बुढासुब्बा डिजिटल, हाइलाइट नेपाल र  ओएसआर डिजिटलले युट्युवबाट धमाधम नयाँ फिल्म सार्वजनिक गरेका थिए ।

तर, युट्युव कारोबार राम्रो नभएको भन्दै केही समयपछि फिल्म सार्वजनिक गर्ने क्रम रोकियो । अहिले युट्युव मार्फत फिल्म सार्वजनिक गर्नु भनेको बाहिरबाट हेर्दा व्यवसायजस्तो देखिने भए पनि खासमा समाजसेवा सरह भएको ब्यवसायीहरु बताउँछन् ।

के छन् विकल्प ? 

हुन त फिल्मको डिजिटल कारोबारका लागि पछिल्लो समय युट्युवमात्र छैन । यसको विकल्पको रुपमा डिस होम, नेट टिभी, एपलगायत देखिएका छन् । युट्युवको कारोबार घट्दै जान थालेपछि फिल्मको डिजिटल राइट किन्ने कम्पनी पनि आफुले लिएका फिल्महरु युट्युवमा ल्याउनु अगाडि यस्ता प्लेटफर्ममा प्रयोग गर्न थालेका छन् ।

बुढासुब्बा डिजिटलले पनि अहिले आफ्नो फिल्महरु डिसहोममा बिएम टिभी नामक च्यानल खोलेर सार्वजनिक गर्न थालेको छ । युट्युवको अलावा आफुले आफ्नै च्यानलबाट समेत फिल्म सार्वजनिक गर्ने गरेको बुढासुब्बाका म्यानेजर विश्व खड्काले बताए । बुढासुब्बाले नेट टिभीको ‘भिडियो अन डिमान्ड’ भन्नेमा समेत फिल्म राख्ने गर्दछ ।

हाइलाइट नेपालका जनक तामाङले पनि युट्युवको अलावा आफुले डिसहोम, एप लगायतमा फिल्महरु उपलब्ध गराउने गरेको बताए । तामाङले भने, ‘अहिलेको समय डिजिटल प्लेटफर्ममा पे–च्यानल पनि राम्रो बन्दै गएको छ ।’

डिस होममा धेरै फिल्म

पछिल्लो समय फिल्मको कारोबारका लागि डिजिटल प्लेटफर्ममध्ये डिस होम राम्रो मानिएको छ । डिसहोमले दर्शकलाई फिल्म सशुल्क र निःशुल्क दुवै तरिकाले हेर्न मिल्ने गरी ल्याउने गरेको छ । डिस होमको च्यानल नम्बर १०८ मा पैसा तिरेर फिल्म हेर्न सकिन्छ भने च्यानल नम्बर १०३ मा फ्रिमा फिल्महरु राख्ने गरिन्छ । डिसहोमले लकडाउन यता पे–च्यानलमा केही नयाँ र फ्रि–च्यानलमा नयाँ तथा पुराना गरेर दुई दर्जनबढी फिल्म राखिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप