बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व शाकाहारी दिवस : शाकाहारी किन हुने

बिहीबार, १५ असोज २०७७, १२ : १७
बिहीबार, १५ असोज २०७७

-वचन शाह ‘विराम’

विश्वमा मूलतः तीन प्रकारका खाद्य जीवनशैली अँगालेका मानिस पाइन्छन् । मांसाहारी, शाकाहारी र पूर्ण शाकाहारी (भेगन) । असङ्ख्य किसिमका शाकाहारी भोजनहरू भएकाले यसको परिभाषा गर्न गाह्रो छ । भेगनहरू माछा, मासु, अण्डा साथै दूध र दूधजन्य पदार्थ र महसमेत खाँदैनन् । कतिपयले जनावरका छालाबाट निर्मित जुत्ता, ब्याग इत्यादि प्रयोग गर्दैनन् । प्राणीबाट यस्ताबाट यस्ता वस्तु प्राप्त हुने भएकाले यसको उपभोगले हिंसा बढाउने उनीहरूको तर्क पाइन्छ । यस किसिमका शाकाहारीको सङ्ख्या एकदमै न्यून छ । शाकाहारी र मांसाहारीबीच पहिलेदेखि नै बहस चल्दै आएको हो ।

शाकाहारी किन हुनुपर्छ त ? यस विषयमा अनेक खाले यथार्थपरक तर्कहरू पाइन्छ । शाकाहारी जीवनशैली अँगाल्नु कुनै धार्मिक मान्यताभन्दा मुख्यतः शारीरिक र वातावरणीय स्वास्थ्य लाभका पक्षहरूसँग सम्बन्धित छ । वैज्ञानिक दृष्टिले हाम्रो शारीरिक संरचना शाकाहारी भोजनका लागि हो । किनभने मांसाहार भोजन गर्ने प्राणीको आन्द्राको लम्बाइ छोटो हुन्छ भने तुलनात्मक रूपमा मानिसको आन्द्रा धेरै लामो हुन्छ । 
मांसाहारी र शाकाहारी प्राणीबीच शारीरिक भिन्नता :
१. मांसाहारीका दाह्रा हुन्छन्, शाकाहारीको दाँत हुन्छन् ।

२. मांसाहारीका नङ्ग्रा हुन्छन्, शाकाहारीका नङ हुन्छन् ।

३. मांसाहारीले अँध्यारोमा पनि आँखा देख्न सक्छन्, तर शाकाहारीले देख्दैनन् ।

४. मांसाहारीको शरीरबाट पसिना आउँदैन, शाकाहारीको आउँछ ।

५. मांसाहारीले पानी चाटेर पिउँछ, शाकाहारीले घट्घट पिउँछ ।

६. मांसाहारीको आन्द्रा लम्बाइ छोटो हुन्छ, तुलनात्मक रूपमा शाकाहारीको लामो हुन्छ ।

७. मांसाहारी जन्मनासाथ आँखा खुल्दैन, शाकाहारीको खुलेको हुन्छ ।
यी माथिका तथ्यबाट मानिस प्राकृतिक रूपले नै जन्मजात शाकाहार प्राणी भएको वैज्ञानिक पुष्टि हुन्छ । त्यसैले मांसाहार मानिसको शरीरका लागि उचित हुँदैन ।

हामीले खाने कुनै पनि खानेकुरा पचाउनका लागि त्यो लामो प्रक्रियाबाट गुज्रनुपर्ने हुन्छ । मानव शरीरमा मासु पचाउने पाचनरसहरूको यथेष्टता नभएकाले पचाउन धेरै समय लाग्ने गर्दछ । मानव शरीर एउटा यन्त्र जस्तै कार्य गर्दछ । कुनै यन्त्रलाई आराम नदिई लामो समयसम्म चलाइराखेमा निश्चय पनि त्यसको कार्यक्षमता र जीवन अवधि घट्न जान्छ । यस कारणले मांसाहारीभन्दा शाकाहारीमा रोग प्रतिरोधात्मक क्षमता बढी भएको पाइन्छ । मांसमा रहेक अत्यधिक भिटामिन ‘ए’लाई विषविहीन पार्ने क्षमता मानव कलेजोमा नभएको कारण पनि प्रकृतिले मानिसलाई शाकाहारी विकसित गराएको हुनुपर्छ । हाम्रो शरीरमा उच्च रक्तचाप, हृदयघात, पक्षघात, युरिक एसिड, कब्जियत, पायल्स, पत्थरी, कलेजो तथा मिर्गौलासम्बन्धी रोग लगायत आन्द्राको शत–प्रतिशत क्यान्सर मांसाहारकै कारण हुने गरेको पुष्टि हुँदै आएको छ । यसैगरी मानवशरीरमा लाग्ने सर्ने र नसर्ने ७० प्रतिशत रोगहरूको कारक मांसहार नै भएको कुरा विभिन्न अध्ययन अनुसन्धानहरूले देखाइसकेका छन् । मानिसको शरीर प्राकृतिक रूपले नै शाकाहारी भएकाले मांसाहार गर्नु भनेको “मकै पिस्ने मिलमा ढुङ्गा पिस्नु जस्तै हो । त्यसैले मांसाहार हाम्रो शरीरका लागि हानिकारक भएकै कारण डाक्टरहरूले पनि शाकाहारी हुन सल्लाह दिएका छन् । 

विदेशी जीवनशैली पछ्याउने क्रममा मांसाहार भोजन भोग हिन्दू संस्कृतिमा पनि व्यापक रूपमा बढेको पाइन्छ । यद्यपि उनीहरूको तुलनामा नेपाली समाजमा पशु वध गर्ने, काट्ने, भण्डारण गर्ने र पकाउने विधि स्वस्थ्यकर छैन भनेर विभिन्न स्वास्थ्य निकायहरूले सचेत गराउँदै आएका छन् । खासमा पशु वध गर्नुअघि त्यो स्वस्थ्य वा निरोगी छ, छैन भनेर जाँच्ने, सफा स्थानमा वध गरेपछि त्यसलाई फ्रोजन  गर्ने जस्ता विधिहरू हामीकहाँ अपनाइँदैन । यसले मासुलाई झनै विषाक्त बनाउँछ । वस्तुभाउलाई बाँच्नका लागि विभिन्न प्रकारका दाना औषधि दिइन्छ, जसको रासायनिक अंश त्यसका शरीरमै हुन्छ । जति पकाए पनि नष्ट नहुने ती विकार तत्त्व हाम्रो शरीरमा पस्ने खतरा हुन्छ ।

अब कुरा गरौँ वातावरणीय पक्षको,
फ्रेन्ड्स अफ अर्थ नामक संस्थाका अनुसार विश्वमा १ केजी चिकेन उत्पादन गर्न ३.५ केजी दाना खपत हुन्छ भने १ केजी पोर्क उत्पादन गर्न ८ केजी आहार चाहिन्छ । विश्ववमा मांस उत्पादन गर्न करिब १०० गुणा धेरै पानीको खपत भएको छ । वनस्पतिजन्य खाद्य वस्तु उत्पादन गर्दाको तुलनामा मासु र मासुजन्य वस्तु उत्पादन गर्दा अनुमानित ५० प्रतिशत बढी हरितगृह ग्यास निष्काशन हुन्छ अर्थात १ केजी मांस उत्पादन गर्न ३६.४ केजी कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ । फलस्वरूप वातावरणीय उष्णता अथवा पृथ्वीको औसत तापमान वृद्धि हुँदै गएको छ । यसले विभिन्न वातावरणीय विपत्तिहरू निम्त्याउन सक्छ । मासांहारीकै कारणले वातावरणमा ठूलो क्षति भइरहेको आरोप छ । मांस उत्पादनका प्रयोजनले पालिने अत्यधिक जनावरको चरनका कारण जङ्गल क्षेत्र नष्ट भइरहेको छ । धेरै किसिमका जीव तथा वनस्पति लोप हुने खतरा पनि बढेको छ । मांसाहारहरूले अरू जीवजन्तुलाई आफ्नो भोग्यवस्तु ठानेर सहअस्तित्वको मान्यतालाई कुल्चेका छन् ।

मांसाहारी वस्तुको भोगमा कता कता हिन्दु संस्कृतिको बलि प्रथा पनि जिम्मेवार रहेको छ । हिन्दूको पवित्र ग्रन्थ ऋग्वेदमा देउताका लागि त्याग, उपहार, नैवेद्य, दान आदि चढाउनुलाई बलि भनिएको छ । अझ बलिको अर्थ हामीमा भएको दोषः काम, क्रोध, लोभ, मोह र ईष्र्या त्याग्नु भन्ने बुझिन्छ । देउतालाई कुनै प्रिय वस्तु चढाउनुलाई पनि बलि भनेर बुझिन्छ । सबै प्राणी देवी देउताका सन्तानसरह भएको कुरा शास्त्रहरू नै बताउँछन् । कुन चाहिँ मातापिताले आफ्ना सन्तानको निर्मम हत्या हिंसा रुचाउँछन् होला ? हत्या गर्ने ठाउँ त कि नर्क हो कि वधशाला । देवी देउताको मन्दिरमा जीवहत्या हिन्दुले विश्वास गरेका शास्त्रको विरुद्ध हो र अधर्म हो ।  त्यो जनावरले आफूलाई बलि दिन र मासु खान भनी अनुरोध नगरेको वा अनुमति नदिएको हुनाले पशुबलि दिनु र मासु खानु मानवीय स्वतन्त्रता र अधिकारको होइन ।

हिन्दु शास्त्रीय मान्यताअनुसार मानवको उत्पत्ति क्रमशः मत्स्य (माछा) अवतार, कुर्म (कछुवा), नरसिंह (सरीसृप) अवतार, बराह (बँदेल, सुँगुर), बामन अवतार (पुड्के मानव), परशुराम अवतार र अन्ततस्पूर्ण मानव राम अवतार भएको हो । यसर्थ पहिलो अवतार माछा विष्णुका अवतार हुन् जसलाई अधिकांश हिन्दुवादीहरूले भोजनका रूपमा प्रयोग गर्न अलिकति पनि हिचकिचाउँदैनन् भने सुँगुर छुन नि पाप लाग्छ भन्छन् । गाईलाई लक्ष्मी मानेर पूजा गर्ने हिन्दुहरू आफ्नै विष्णुको प्रथम, द्वितीय र तृतीय अवतारहरूको हत्या र तिनीहरूका मांस भोजन पनि तिनकै शास्त्रानुकूल छैन भन्ने अनविज्ञ छन् । अब सबै अवतारहरूप्रति गाईसरह आस्था पाल्ने कि ?
विश्वमा सरदर शाकाहारीको सङ्ख्या ३९५ प्रतिशत रहेको छ । भारतमा सबैभन्दा बढी अर्थात् ३०–३५ प्रतिशत जनसङ्ख््या शाकाहारी रहेको अनुमान गरिएको छ । बौद्ध धर्ममा पशु हिंसा र मांस सेवन पूर्ण रूपमा बन्देज गरिएको छ भने हिन्दूमा छैन । हिन्दू धर्ममा पनि पूजाआजा परेको दिन मात्र हैन कि अरू दिन बन्देज गर्न आवश्यक छ ।

विश्वका केही प्रसिद्ध व्यक्तित्वहरू पनि शाकाहारी भएका पाइन्छन् । गणितिज्ञ पाइथागोरस (ईपू ५७०–४९५) शाकाहारी थिए र उनले शाकाहारी अभियान नै चलाएका थिए । उन्नाइसौँ शताब्दीसम्म शाकाहारी भोजनलाई पाइथागोरियन भोजन पनि भनिन्थ्यो । दार्शनिक प्लेटो पाइथागोरसका अनुयायी थिए । लिओनार्दो दा भिन्ची, अल्बर्ट आइन्स्टाइन, महात्मा गान्धी, राजेन्द्र प्रसाद, लिओ टोल्स्टाय, मार्क ट्वेन इत्यादि व्यक्तिहरू शाकाहारी नै थिए ।
अन्त्यमा, शाकाहारी भोजनबाट हाम्रो शरीरलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्व प्राप्त गर्न सकिने भएकाले मासु र मासुजन्य पदार्थबिना स्वस्थ जीवनयापन गर्न सकिन्न भन्ने कुरा वैज्ञानिक तवरले गलत प्रमाणित भइसकेको छ । शाकाहारी भोजनको गुणगान मात्र गरेर हुँदैन, नियमित सन्तुलित शाकाहारी भोजन मात्र मांसाहार भन्दा सर्वोत्तम मानिन्छ । तपाईं आफू कस्तो खानपिन, रहनसहन र जीवनशैली अपनाउने भन्नमा पूर्ण स्वतन्त्र हुनुहुन्छ तर सोको निर्णय सदैव आफू र आफ्नो वातावरण हित अनुकूल तथा वैज्ञानिक होस् ।
   (लेखक त्रिचन्द्र क्याम्पसका बीएस्सी माइक्रोबायोलोजीका विद्यार्थी हुन् ।)            
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा