बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्याद नाघेको स्नेकर, ट्याङ र ओरियो बिस्कुटमा रि–लेबलिङ गर्ने दुईवटा कम्पनी शिल

कलंकी र बाफलका ३ वटा गोदाममा करोडौंको सामान फेला
बिहीबार, १५ असोज २०७७, १७ : ५१
बिहीबार, १५ असोज २०७७

काठमाडौँ । महानगरीय अपराध महाशाखामा तीन साताअघि एउटा सूचना आयो । सूचना यस्तो थियो– ‘म्याद नाघेको स्नेकर, ट्याङ, ओरियो बिस्कुट र युनिलिभरको उत्पादन रि–लेवलिङ गरेर बिक्री भइरहेको छ ।’ 

सो सुराकको आधारमा प्रहरी काठमाडौं–१४ स्थित कलंकी लिंकरोडमा रहेको एउटा घरमा पुग्यो । सो घरमा पुगेपछि प्रहरी नै चकित भए । त्यहाँ, बच्चादेखि ठूलासम्मले मन पराउने स्नेकर, ओरियो बिस्कुट र पानीमा घोलेर खाने पेय पदार्थ ट्याङ धमाधम रि–लेबलिङ हुँदै थियो । 

महानगरीय अपराध महाशाखाबाट खटिएका डीएसपी दुर्गाराज रेग्मी कमाण्डको टोलीले रि–लेवलिङ गरिरहेका सबैलाई पक्रेको छ । पक्राउ परेपछि मजदूरले भने– ‘साहुजी बाफलस्थित आयन डिस्ट्रब्यूटर्समा हुनुहुन्छ ।’ प्रहरी टोली बाफल पुग्यो । त्यहाँ अरु दुइवटा गोदाम भेटियो । 

महानगरीय अपराध महाशाखा र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले कलंकीको विष्णुलक्ष्मी इन्टरपाईजेज र बाफलको आयन डिस्ट्रब्यूटर्समा सिल गरेको छ ।  

मिति गुज्रेका स्नेकर चकलेट, बिस्कुट र ट्याङको पुरानो लेवल मेटेर नयाँ लेवल प्रिन्ट गर्ने समूहका पाँच जनालाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । 

पक्राउ पर्नेमा आयन डिस्ट्रब्यूटर्सकी सञ्चालिका पुष्पादेवी अग्रवाल, रौनक गोत्रा, रौतहटका पप्पु शर्मा, महोत्तरीका श्यामप्रसाद सिंह र रौतहटकै मुन्ना ठाकुर छन् । 

रौतहटका पप्पु विष्णुलक्ष्मी इन्टरप्राईजेजका स्टोर किपर हुन् । मुन्ना आयन डिस्ट्रब्यूटर्सका लेखापाल हुन । भारतीय नागरिक गोत्राचाहिँ आयन डिस्टब्युटर्सको बाफल शाखाका ब्रान्च मेनेजर हुन् ।  

रि–लेवलिङको धन्दा चलाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने अर्का सञ्चालक धादिङ घर भएका शंकर बयलकोटी चाहिँ फरार छन् । उनी कालो धन्दा चलाउने विष्णुलक्ष्मी इन्टरपाईजेजका मेनेजर हुन् । 

कालो धन्दा चलाउने समूहमाथि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले थप अनुसन्धान शुरु गरेको छ । कसुरमा संलग्नलाई ‘रि–लेबलिङ गरेको र अखाद्य वस्तुलाई खाद्य’ भनेर बिक्री गरेको कसुरमा मुद्धा चलाइने विभागका निरीक्षण अधिकृत ध्रुव खनालले रातोपाटीलाई बताए ।  

अखाद्य वस्तुलाई खाद्य भनेर बिक्री गरेमा ३ लाख जरिवाना  र रि–लेवलिङ गरेको कसुरमा १ लाख जरिवाना, ३ महिनादेखि ३ वर्षसम्म कैद वा दुवै साजय हुने व्यवस्था छ । उपभोक्ता संरक्षण ऐनअनुसार विभागका निरीक्षण अधिकृतले उनीहरुलाई थुनामा राख्न सक्छन् । 

‘१५ हजार तलब दिन्थे’–स्टोर किपर
विष्णुदेवी इन्टरप्राइजेजका नाममा कालो धन्दा चलाउने शंकर बयलकोटीले सोही घरमा आफ्नो परिवार पनि राखेका छन् । ६० हजारमा भाडामा लिएको सो घरमा कर्मचारी पनि त्यहाँ बस्छन् ।  

मासिक १५ हजार तलबमा काम गर्ने गरेको स्टोर किपर पप्पु शर्माले बताए । उनले भने– ‘मिति नाघेको सामान कहाँबाट ल्याउँथे हामीलाई थाहा छैन, यहाँ रि–लेबलिङ गरेपछि बजारमा पठाउँथे ।’ 

‘मिति गुज्रेको पुरानो लेवलाई पहिलो थिनरको सहयोगले मेटाउँथ्यौं’ पप्पुले भने– ‘अनि, मेसिनमा मिति सेट गरेर प्रिन्ट हान्थ्यौं ।’  पप्पु १ वर्षदेखि त्यहाँ कार्यरत छन् । रौनक गोत्रासहितको समूहले २ वर्षदेखि सो काम गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । 

३ वटा गोदाममा करोडौं मूल्य बराबरका क्याटबरी, ओरियो बिस्कुट, प्रिङ्गल्स, साबुन, सेनिटाइजर, बर्नभिटा र युनिलिभरका कस्मेटिक सामान ‘रि–लेबलिङ’ गरेको अवस्थामा प्रहरी र वाणिज्य विभागले सिल गरेको हो ।  

ओरियो बिस्कुट मन्डेलेज इन्टनेशनलको उत्पादन हो । ट्याङ पनि अहिले सोही कम्पनीको स्वामित्वमा छ । मल्टिनेशनल कम्पनी मार्स इन्कर्पोरेटेडको उत्पादन हो, स्नेकर्स । प्रिङ्गल्को स्वामित्व मल्टिनेशनल कम्पनी केल्लोग्सको हातमा छ ।  

सो सामान मुद्दा टुंगिएपछि नष्ट गरिने वाणिज्य विभागका अनुगमन प्रमुख उप–सचिव सागर मिश्रले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप