शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पाहुनाको स्वागतमा जुट्यो नगरकोट, तस्विर र भिडियोमा हेर्नुहोस्

शुक्रबार, १६ असोज २०७७, १३ : १९
शुक्रबार, १६ असोज २०७७

नगरकोट । यति बेला विगतका वर्षमा भए पर्यटकीय स्थल नगरकोटमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्थ्यो । शुक्रबार साँझदेखि आइतबार बिहानसम्म स्वदेशी पाहुनाहरुले धेरै होटलका कोठा भरिन्थ्यो । विदेशी पाहुना त सधैँ जसो नगरकोट आउने नै थिए ।

यो वर्षको पर्यटक आउने मुख्य समयमा नै कोरोना भाइरसका कारणले विश्व आक्रान्त बनेपछि यहाँको पर्यटन गतिविधि पनि ठप्प भए । चार तारेदेखि साना होटल, रिर्सोटका करिब १ हजार कोठामा बस्ने पाहुना भएनन् । ‘६७ वटा होटल र रिसोर्टमा कार्यरत १ हजार ३ सय जना कर्मचारी बेरोजगार भए,’ नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङले भने ।

भक्तपुरको चाँगुनारायण र काभ्रेको मण्डनदेउपुर नगरपालिका भूभागमा बनेका होटल र रिसोर्ट बन्द भएसँगै कर्मचारी र होटल मजदुरको दैनिकी सकसपूर्ण बन्यो ।

बैङ्कबाट ऋण लिएर पर्यटन व्यवसाय सुरु गरेकाहरुको अवस्था झनै कष्ठकर भयो, एकतिर होटलको सरसफाइ र अर्कातिर कर्मचारीलाई धान्न मुस्किल भएको होटल मेरीगोल्डका सञ्चालक गोकुल लामिछानेले बताए । ‘अहिलेपनि कोभिडको त्रास बाकीँ नै रहेकाले बाह्य देशका पर्यटक आउने अवस्था छैन । अझै दुई वर्ष पर्यटन व्यवसाय समस्यामा हुने देखिन्छ,’ लामिछानेले भने ।

मालिक, कर्मचारी मात्रै होइन स्थानीयलाई पनि असर

तारेदेखि साना गरेर ६७ वटा होटल संचालन गर्ने व्यवसायीलाई बन्दले निकै असर गर्यो । साथै ती होटलमा कार्यरत रहेका १ हजार ३ सय जना कर्मचारी र श्रमिकहरुको रोजिरोटी खोसियो । ‘करिब ४ हजारको रोजगारीमा प्रत्यक्ष असर पुग्यो,’ होटल मिस्टीक माउण्टेनका प्रोर्पटी म्यानेजर धिरज तामाङ्गले भने ।

पछिल्लो समय नगरकोटका होटलहरुमा योग्यताका आधारमा स्थानीयहरुले नै काम पाएका थिए । अर्को तर्फ मण्डनदेउपुर नगरपालिकाको देउपुर, सल्लेबास, रानीबन, गैरीगाउँ, हलेदे, ढाडागाउँ किसानका कृषिजन्य उत्पादन नगरकोटमा बिक्री हुँदै आएको थियो ।

भक्तपुरको चाँगुनारायण, काभ्रेको बनेपा साथै काठमाडौको शंखरापुर नगरपालिका किसानहरुको कृषि र पशुजन्य उत्पादन नगरकोटका होटलमा बिक्री हुने गरेको थियो ।

यसरी गर्दै छन् होटलहरुले स्वास्थ्य सुरक्षा

स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्दै नगरकोटका होटल पाहुनाको स्वागतमा जुटिसकेका छन् । होटलमा बस्ने आउनेहरुलाई स्वास्थ्य सुरक्षाको प्रत्याभूति दिन हरेक होटलले मुख्य प्रवेशद्वारमा नै सेनेटाइजरको व्यवस्था गरेका छन् । त्यसपछि शरिको तापक्रम हेरेर रिसेप्सनमा पुगेपछि मास्क र पन्जा लगाउन दिने व्यवस्था गरिएको पर्यटन विकास समितिका अध्यक्ष गुरुङले रातोपाटीलाई बताए ।

हरेक कोठलाई पाहुना गएपछि सरसफाइ, सेनेटाइजेशन गर्ने र नयाँ आउने पाहुनालाई बस्न योग्य बनाउने कार्य समेत प्रायः होटलहरुले गरेका छन् । कर्मचारीहरुलाई पूर्णरुपमा स्वास्थ्य सुरक्षा सामाग्री लगाएर पाहुनाको सेवामा समर्पित हुन व्यवस्थापन पक्षले निर्देशन जारी गरेको देख्न सकिन्छ ।

होटल व्यवस्थापनले स्वदेशी पाहुनालाई आर्कषित गर्न आफु खुसी न्यूनतम १०देखि २० प्रतिशतसम्म छुट दिने जानकारी आएको पर्यटन विकाश समितिका अध्यक्ष गुरुङको भनाइ छ ।

नगरकोटमा पर्यटनको विकाश भएको लामो समय भएपनि त्यसको संस्थागत विकास अझैं हुन् सकेको देखिदैंन् । सुरुवातमा व्यवसायीले मात्र फाइदा लिएको भन्ने आरोपलाई क्रमशः घटाउन व्यवसाय गर्नेहरु लागिपरेका छन् ।

स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिएर खरिद गर्ने र रोजगारीमा स्थानीयलाई राख्ने चलन अहिले देख्न सकिन्छ । तर, विभिन्न कारणले पर्यटकको आगमन घट्दा त्यसको असर सबैलाई परेको उनीहरुको भनाइ छ । राजधानी नजिकको गन्तव्य भएरपनि समयमै भक्तपुर नगरकोट सडकको काम नसकिदा व्यवसायमा ठूलो असर परेको छ । अर्कोतर्फ फोहर व्यवस्थापन दिर्घकालिन रुपमा होस भन्ने व्यवसायीहरुको माग छ । हाल चाँगुनारायण नगरपालिका, स्थानीय र व्यवसायीको पहलमा गाडीमा फोहार राखेर काठमाडौंको ल्याडफिल्ड साइटमा पु¥याउने काम हुँदै आएको पर्यटन विकास समितिले जानकारी दिएको छ ।

अतिक्रमण गरेर बनेका घर टहरा हटाइपछि नगरकोट चोकमा सुरु भएको बस पार्क बनाउने कार्यलाई जारी छ । खानेपानीको समस्या समाधान गर्नसमेत सम्बन्धित नगरपालिकाहरुले पहल गर्नुपर्दछ ।

नगरकोट क्षेत्रलाई पर्यटनको हबको रुपमा विकाश गर्न सके तीन जिल्लाका चार नगरपालिका स्थानीयहरुलाई समेत फाइदा पुग्ने देखिन्छ । चाँगुनारायण नगरपालिका भक्तपुर, मण्डनदेउपुर र बनेपा नगरपालिका काभ्रे र शंखरापुर नगरपालिका काठमाडौंसम्मलाई यस क्षेत्रमा भएको पर्यटन विकासले अप्रत्यक्ष प्रत्यक्ष रुपमा अहिलेपनि लाभ पुग्ने होटल क्लब हिमालयका जनसम्पर्क प्रमुख रोहित मोक्तानले बताए ।

स्तरोन्नतीको क्रममा रहेको भक्तपुर–नगरकोट–कुन्ताशेबीस सडकखण्डलाई सम्पन्न गर्न नसक्नु ठुलो असर हो । स्थानीयको जिवनयापनलाई सुधार गर्दै ग्रामीण पर्यटन र आर्थिक रुपमा अगाडी बढाउन् तरकारी खेती, पशुपालन, होमस्टे, सीप मुलक तालिम दिन जरुरी छ ।

वनभोज खान नगरकोट जानेको संख्या धेरै भए पनि पानी र शौचालयको अभाव अझै पनि छ । त्यसैले सामान्य शुल्क लिएर ती आवश्यकताको पुरा गर्नुपर्दछ । एक रात बस्ने स्वदेशी पाहुनालाई दुई रात र विदेशी पाहुनालाई चार रात बस्ने वातावरण बनाउने हो भने सबैलाई फाइदा हुन सक्छ ।

तामाङ, गुरुङ, क्षेत्री बाहुनलगायतका समुदायको बसोबास रहेको यस क्षेत्र वरपर स्थानीय कला संस्कृतिको जर्गेना गर्दै ती कुरा पर्यटहरुलाई देखाउन जरुरी छ । पदमार्ग, साइकल यात्रा, जंगल यात्रा, पहाड चढाइ जस्तो कुरा हुन सकिरहेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप