शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संगिताको बयान- ‘हातमुख जोर्न बच्चाको मुन्द्रा लुट्थेँ’

शुक्रबार, १६ असोज २०७७, १४ : २२
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । खेलिरहेका बच्चालाई ‘म तिम्रो आमाको साथी हुँ’ भन्दै कानको मुन्द्रा लुट्ने ‘अपराध ट्रेन्ड’ ले प्रहरी हैरान थियो । पछिल्लो दुई महिनायता मुन्द्रा लुटपाटका घट्ना बाक्लै हुन थालेपछि महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीका लागी सो घटना टाउको दुखाईको विषय बन्यो । 

एक वर्षदेखी ‘मुन्द्रा लुट्ने धन्दा’ चलाउँदै आएकी ३४ वर्षीय संगिता खत्री अहिले टेकुस्थित काठमाडौं प्रहरीको हिरासतमा छिन् । निर्वाध मुन्द्रा लुटिरहेकी उनी आफैंलाई ‘अहिलेसम्म कति लुटेँ’ भन्ने याद छैन् ।  काठमाडौं धोवीधाराकी रैथाने संगिताले म्याग्दीको बेनी नगरपालिका घर भएका एक पुरुषसँग ८ वर्षअघि विवाह गरिन् । बच्चा पनि भयो । सँगै जिउने बाचा गरेर सिउँदो रंगाएका पुरुषले ‘डिभोर्स’ दिए । हक लाग्ने छोरा पनि संगितालाई दिएनन् । 

माइतिघर फर्कंदा समाजले कुरा काट्थे । उनी माछापोखरीस्थित दिदीसँग बस्न थालिन् । ‘हातमुख जोर्ने’ उपाय नै नभएपछि मुन्द्रा लुट्न थालेको संगिताले प्रहरीलाई बताएकी छिन् । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘आर्थिक संकटले गर्दा खान लाउन समस्या भएपछि लुट्न थालेको उनको भनाई छ ।’ 

कक्षा ९ सम्म पढेकी संगिताले श्रीमानसँगको सहारा टुटेपछि बच्चाको मुन्द्रा लुट्न थालिन् । ‘अहिलेसम्म २५ जना बच्चाको मुन्द्रा लुटेको उजुरी आएको छ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्रसिंह राठौरले भने–‘आरोपीले अपराध स्वीकार गरेको अवस्था छ ।’ 

लुट्दै बेच्दै

संगिताले लुटेको मुन्द्रा ललितपुरको कनिबहालस्थित सुन–चाँदी प्रशोधन गर्ने मुरली विकलाई बेच्ने गरेकी थिइन् । काभ्रेको रोशी गाउँपालिका घर भएका ३० वर्षीय मुरलीले प्रतिमुन्द्रा तीनदेखि चारहजार सम्ममा चोरीको मुन्द्रा किनेर गाल्थे । चोरीको सुन किन्ने विकलाई पनि प्रहरीले पक्रेको छ । 

मुरली विक र संगीता ।

गालेर बनाएको १ थान सिक्री प्रहरीले बरामद गरेको छ । गालेर ढिक्का बनाएको सुनका टुक्रा पनि बरामद गरिएको प्रहरी उपरिक्षक (एसपी) राठौरले रातोपाटीलाई बताए ।  चोरीको मुन्द्रा गालेर आधा तोला सुन चाहिँ एकजना भारतीय ब्यापारीलाई बेचेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । ती व्यापारी अहिले फरार छन् । 

बौद्ध क्षेत्रबाट ‘लुट धन्दा’ शुरु गरेकी संगिताले ४ देखी ८ वर्षसम्मका बच्चालाई टार्गेट गर्थिन् । ‘आमाको साथी हुँ’ भनेर बच्चाको ध्यान खिचेपछि पैसा दिएर, आईसक्रिम खुवाएर तथा केही पैसा दिएर एकन्तमा भुलाउँदै उनले मुन्द्रा लुट्ने गरेकी थिइन् । 

हिँड्दै रेकी 
ठमेल गल्कोपाखास्थित गल्लीमा ९ वर्ष र ६ वर्षका दुईजना बालबालिका खेलिरहेका थिए । ०७७ साउन ३ मा दिउँसो हिँड्दै त्यहाँ पुगेकी संगिताले उनीहरुलाई फकाईन् । अनि, ६ आनाको सुनको मुन्द्रा लुटेर भागिन् ।  कोटेश्वर भाटभटेनी सुपरस्टोरको पछाडि ९ वर्षीया अनिशा तोलाङे, ६ वर्षीया दिपिका बुढा र ८ वर्षीया जुबिदा ऐर खेलिरहेका थिए ।

साउन ११ मा हिँडदै त्यहाँ पुगेकी संगिताले ‘तिमीहरुको आमाको साथी हुँ’ भनिन् । अनि, चकलेट दिएर ६ आनाको मुन्द्रा लुटिन् । संगिता बस चढेर हिँड्थिन् । हिँड्दै जाँदा मुन्द्रा लगाएका बच्चाको रेकी गरेर लुट्थिन् । अनि आफ्नो बाटो लाग्थिन् । 

यो पनि पढौं :

 


 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप