शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बबरमहलमा बब्लुलाई कुट्दा प्रहरीको त्रुटि देखियो, अधिकृतलाई कारवाहीको सिफारिस

शुक्रबार, १६ असोज २०७७, २२ : २७
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुँदा काठमाडौंको बवरमहल र बिजुलीबजारमा भएको कुटपिटमा संलग्न प्रहरी कर्मचारीको त्रुटि देखिएको छ ।

कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै प्रदर्शनमा सहभागी बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि अनावश्यक बल प्रयोग गरेको प्रहरीको छानविन प्रतिवेदनको निष्कर्ष छ ।

घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालयले एसएसपी किरण बज्रचार्यको नेतृत्वमा छानविन समिति बनाएको थियो ।

समितिले शुक्रवार महानगरीय प्रहरी कार्यालयका डिआइजी विश्वराज पोखरेललाई छानविन प्रतिवेदन बुझाएको छ ।

असोज १ मा बवरमहलमा बब्लुमाथि इन्सपेक्टर केशर न्यौपाने नेतृत्वको टोलीले निर्घात कुटेका थिए ।

हन्ड्रेड्स (१००) ग्रुपमार्फत बब्लुले निशुल्क कपडा र रत्नपार्कमा खाद्यान्न वितरण गर्दै आएका छन् । शरीरमा एकसरो कपडा नहुनेहरुका लागि उनले ‘कपडा बैङ्क’ को शुरुवात गरेका छन् ।

असोज २ मा बिजुलीबजारमा मनिष श्रेष्ठलाई प्रहरीले रक्ताम्मे हुनेगरी कुटेको थियो ।

छानविन समितिले घटनामा प्रहरीको त्रुटि देखिएको निष्कर्ष निकाल्दै कुटपिटमा सहभागी ‘इन्सपेक्टर सहित दुई जनालाई सजाय गर्नुपर्ने देखिएको’ भन्ने व्यहोराको प्रतिवेदन बुझाएको छ ।

‘छानविन समितिले सुझाव प्रतिवेदन दिएको छ’ महानगरीय प्रहरी कार्यालयका डिआईजी विश्वराज पोखरेलले रातोपाटीसँग भने– ‘प्रतिवेदनको आधारमा दोषी देखिएका प्रहरी कर्मचारीलाई कारवाही गर्छौ ।’

समितिले २ जनालाई कारवाहीको सिफारिस गर्दै अन्यलाई रिफ्रेशर तालिम र भिड नियन्त्रण तालिम दिनुपर्ने आवश्यकता औंल्याएको छ । बिजुलीबजारमा कुटिएका मनिषलाई प्रहरी जवानले कुटेको देखिएको छ ।

बब्लुलाई सिनियर प्रहरी अधिकृतले कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरी प्रधान कार्यालयको निर्देशनमा महानगरीय प्रहरी कार्यालयले सो घटनाबारे छानविन गरेको थियो ।

यो पनि...



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप