बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारको सुशासन : सेवकलाई लाभमाथि लाभ, सचेतकलाई लातमाथि लात

शनिबार, १७ असोज २०७७, ०७ : ५८
शनिबार, १७ असोज २०७७

२०२८ सालको झापा विद्रोहका एक कमाण्डर मोहनचन्द्र अधिकारी र त्यसका सदस्य केपी ओली २०३० साल असोज २३ गते रौतहटबाट पक्राउ परे । पक्राउ लगत्तै उनीहरु झापाली विद्रोही भएको भेद खुल्यो । यसपछि प्रहरीले उनीहरु दुवैलाई एउटै हत्कडी लगायो । दुवैलाई एकै स्थानमा राखेर एउटै लौराले यातना दियो । झापा विद्रोहका एक प्रारम्भकर्ता एवं पूर्व मन्त्री राधाकृष्ण मैनाली लिखित ‘नलेखिएको इतिहास’ पुस्तकको पृष्ठ २२ मा उल्लेख भए अनुसार तत्कालीन सरकारले अधिकारी र ओली दुवैलाई फाँसीको सजाय माग गर्दै राजकाज मुद्दा चलाएर रौतहटबाट काठमाडौं गोलघरमा ल्यायो ।

काठमाडौं ल्याउँदा समेत उनीहरुलाई एउटै हत्कडी लगाइएको थियो । गोलघरमा राखेपछि राजकाज मुद्दा फिर्ता लिएर फौजदारी मुद्दा मात्र चलाइयो । ओपिएमसिएमडटजिओभीडटएनपी/प्राइमिनिष्टरमा उल्लेख भए अनुसार पक्राउ परेपछि ओली एकैचोटी २०४४ साल असार ११ गते मात्र जेलबाट रिहा भए । वरिष्ठ राजनीतिज्ञ मैनालीका भनाइमा रिहा हुनु अघि ओलीलाई पोखरा जेलमा राखिएको थियो । काठमाडौं हनुमान ढोकामा झिकाएर तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले पटक–पटक छलफल गरेपछि उनी र ओली रिहा भएका थिए । त्यसबेला मोहनचन्द्र अधिकारी छुट्न सकेनन् । नेपालको ‘नेल्सन मण्डेला’को उपमा पाएका अधिकारी ०४६ को जनआन्दोलन सुरु हुनु केही समयअघि पुस २०–२१ गते मात्र छुट्न सके ।

कुनै समय ओलीले गुरु मानेका, सँगै पक्राउ परेका, एउटै हत्कडीले बाधिँएका, एउटै कटवासको लठ्ठीले यातना भोगेका, चार वर्षसम्म केन्द्रीय कारागार सुन्धाराको गोलघरमा सँगै कोचिएका अधिकारी गलेको शरीर लिएर काठमाडौंको स्युचाटारमा जीवन घिसारीरहेका छन् । यता प्रधानमन्त्रीका रुपमा ओलीले दोस्रो कार्यकाल व्यतित गरिरहेका छन् । २०२८ सालदेखि देश विदेशमा प्रचारित र स्थापित अधिकारी प्रधानमन्त्री ओलीको प्राथमिकतामा परेका छैनन् । परेका हुन्थे भने मानको खातिर मान नै सही, उनलाई  राष्ट्रिय सभामा लगेर एक थान सांसद दिएको भए केही फरक पर्ने थिएन । यसले नेताहरुकै प्रतिष्ठा बढाउने थियो । किनभने यही सरकारले नै कम्युनिष्ट पार्टीको सदस्यता नै नलिएकाहरुलाई ०७४ फागुनमा उम्मेदवार बनाएर राष्ट्रिय सभामा पुर्‍याएको कोहीबाट छिपेको छैन । ०४८ सालको निर्वाचनपछि अधिकारीलाई तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले राष्ट्रिय सभाको सदस्य बनाएर सम्मान गरेका थिए ।

कुनै समय ओलीले गुरु मानेका, सँगै पक्राउ परेका, एउटै हत्कडीले बाधिँएका, एउटै कटवासको लठ्ठीले यातना भोगेका, चार वर्षसम्म केन्द्रीय कारागार सुन्धाराको गोलघरमा सँगै कोचिएका अधिकारी गलेको शरीर लिएर काठमाडौंको स्युचाटारमा जीवन घिसारीरहेका छन् । यता प्रधानमन्त्रीका रुपमा ओलीले दोस्रो कार्यकाल व्यतित गरिरहेका छन् । २०२८ सालदेखि देश विदेशमा प्रचारित र स्थापित अधिकारी प्रधानमन्त्री ओलीको प्राथमिकतामा परेका छैनन् । परेका हुन्थे भने मानको खातिर मान नै सही, उनलाई  राष्ट्रिय सभामा लगेर एक थान सांसद दिएको भए केही फरक पर्ने थिएन ।

राजनीतिज्ञ मैनालीका शब्दमा ओलीले उनलाई स्थायी समिति सदस्य बनाउने आश्वासन दिएपछि उनी ०७१ फागुन १८ गते एमालेमा फर्किएका थिए । तर, दुई वर्ष पर्खदा समेत उनलाई दिइएको आश्वासन पूरा गरिएन । यसपछि मैनालीले ०७३ माघमा आफ्नो संस्मरणात्मक पुस्तक प्रकाशित गरे । जहाँ मैनालीले आफुले संगत गरेका नेताहरुका सवल र दुर्वल दुवै पक्ष केलाएका छन् । त्यसमा ओली पनि पर्छन् । पुस्तकमा ओलीको सामान्य आलोचना गरेपछि ०७५ जेठ ३ गते नेकपा एमाले र माओवादीबीच औपचारिक एकता हुँदा झापा विद्रोहको संस्थापक सचिव मैनालीलाई केन्द्रीय सदस्यको सूचीबाटै हटाइयो । आफुले पुस्तकमा ओली चरित्रको चित्रण जस्ताको तस्तै गरेकाले केन्द्रीय सदस्यको सूचीबाट हटाइएको मैनाली जिकिर गर्छन् ।  ‘प्रधानमन्त्री ओली यति प्रतिशोधात्मक मान्छे हुन कि टिम मिलेर जानुपर्छ । सामुहिकताले चल्नुपर्छ भनेर सुझाव दियो भने कहाँ त्यसरी हुन्छ ? यी सबलाई तह लगाई दिनु पर्छ भन्छन्’, रातोपाटीसँग कुराकानी गर्दै मैनाली भन्छन्, ‘यो लेखेर राख्नुस्, ओलीको शैलीले नेपालको कम्युनिष्ट आन्दोलन नै संकटमा पर्दैछ । सत्तामा गएका कम्युनिष्टहरु सच्चिएनन भने आउँदो पिढीले कम्युनिष्ट आन्दोलनको नाम लिन पनि लाज लाग्ने अवस्था आउन सक्छ ।’

प्रधानमन्त्री ओलीले च्यापेका डा. युवराज खतिवडा र उपप्रधानमन्त्री इश्वर पोखरेलका सम्धी डा. उपेन्द्र कोइरालाको नियुक्तिमाथि नियुक्ति दुई प्रतिनिधि उदाहरण मात्र नियाल्ने हो भने पनि मैनालीले भने जस्तो तस्विर प्रष्टै देख्न सकिन्छ । खतिवडा २०१३ साल साउन ३० गते झापामा जन्मिएका हुन् । झापामै जन्मे हुर्केका वरिष्ठ अधिवक्ता हरीप्रसाद उपे्रतीका अनुसार खतिवडा मेची क्याम्पस भद्रपुरबाट स्नातक गरेर काठमाडौं आएका हुन् । उनी विद्यार्थी कालभरी अखिलको नेता भएर हिँडेका पनि होइनन् । मैनाली पनि उप्रेतीसँग सहमत छन् । उनका शब्दमा बरु यसबेला महान्यायाधिवक्ताको कुर्सीमा रहेका अग्नी खरेल विद्यार्थीकालमै संगठनमा आवद्ध थिए । ‘वाम राजनीतिमा खतिवडाभन्दा खरेल निकट सहयोगी हुन् । मैले खतिवडाको नाम ०५८ सालतिर मात्र पार्टीभित्र सुनेको हुँ’, मैनाली भन्छन् ‘तर, नेकपा एमाले हुँदा होस् कि अहिले नेकपामा, सबैभन्दा बढी फाईदा खतिवडाले नै उठाइरहेको देखिन्छ ।’

‘वाम राजनीतिमा खतिवडाभन्दा खरेल निकट सहयोगी हुन् । मैले खतिवडाको नाम ०५८ सालतिर मात्र पार्टीभित्र सुनेको हुँ’, राधाकृष्ण मैनाली भन्छन् ‘तर, नेकपा एमाले हुँदा होस् कि अहिले नेकपामा, सबैभन्दा बढी फाइदा खतिवडाले नै उठाइरहेको देखिन्छ ।’

विकिपिडियामा भेटिने खतिवडाको ‘बायोग्राफी’ अध्ययन गर्दा तत्कालीन राजदरवारले २०५८ सालमै  उनलाई सुप्रवल गोरखा दक्षिण बाहु दिएको थियो । ०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले असक्षमको आरोप लगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई पदबाट वर्खास्त गरे । त्यसको साता दिनपछि असोज २५ गते दरबारले लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनायो । प्रधानमन्त्री चन्दको कार्यकालमा खतिवडा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएर त्यो पदमा ०६२ सम्म रहे । 

पछिल्लो पटक खतिवडाको ‘भाग्य’ चाहिँ ०६६ जेठमा तत्कालीन एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि थप चम्किने मौका पायो । त्यसबेला खतिवडा कोलम्बोस्थित यूएनडीपीको क्षेत्रीय कार्यालयमा कार्यरत थिए । प्रधानमन्त्री नेपालले उनलाई बोलाएर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाए यताका ११ वर्षमा खतिवडाले १० वटा वटा आर्कषक पद प्राप्त गरिसकेका छन् । योजना आयोगको उपाध्यक्ष छँदै खतिवडालाई राष्ट्र बैंकको गर्भनर बनाइयो । त्यहाँ उनले पुरै कार्यकाल बिताए । ०७४ फागुन १४ गते ओलीले उनलाई अर्थमन्त्रीको जिम्मेवारी सुम्पिए । यसपछि त्यही महिनाको २० गते राष्ट्रिय सभामा निर्वाचित गरियो । खतिवडाले एकसाथ अर्थमन्त्री र राष्ट्रियसभा सदस्यको दुई वटा आर्कषक पद पाए ।

०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी औपचारिक रुपमा एक भएसँगै खतिवडालाई पार्टीको केन्द्रीय सदस्य बनाइयो । यो उनलाई पाचौं पुरस्कार थियो । जब कि एमालेको नर्वौ महाधिवशेनमा  एक मत अन्तरले मात्र पराजित पुरुषोत्तम पौडेल जस्ता पुराना नेताहरुलाई केन्द्रीय सदस्यको सूचीमा अटाइएन ।

०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी औपचारिक रुपमा एक भएसँगै खतिवडालाई पार्टीको केन्द्रीय सदस्य बनाइयो । यो उनलाई पाचौं पुरस्कार थियो । जब कि एमालेको नर्वौ महाधिवशेनमा  एक मत अन्तरले मात्र पराजित पुरुषोत्तम पौडेल जस्ता पुराना नेताहरुलाई केन्द्रीय सदस्यको सूचीमा अटाइएन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले २०७६ फागुन ८ गते राजीनामा दिनु परेपछि प्रधानमन्त्री ओलीले खतिवडालाई सरकारको प्रवक्ता तोकेर त्यस मन्त्रालयको समेत भारी बोकाए । यहाँ पनि उनले सञ्चार मन्त्रालय र प्रवक्ताको दोहोरो जिम्मेवारी पाए । जस्तो कि खतिवडाले राजीनामा दिएपछि सरकारको प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई तोकिएको छ । यद्यपि सञ्चार तथा सूचना मन्त्रालयको जिम्मेवारी ज्ञवालीलाई दिइएको छैन । प्रधानमन्त्री आफैंले राखेका छन् । ज्ञवाली मन्त्रिपरिषदका निर्णयहरु जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय त जान्छन, त्यसपछि आफ्नै परराष्ट्र मन्त्रालयमा फर्कन्छन् । यसबाट प्रधानमन्त्रीको खतिवडा मोह छर्लङ्ग हुन्छ । यसै सिलसिलामा खतिवडाकाे भनाइ बुझ्न रातोपाटी प्रतिनिधिले गरेको फोन एक पटक कटाए । अर्को पटक उठाएनन् । एसएमएसको पनि प्रतिक्रिया दिएनन् ।

प्रधानमन्त्री ओलीले खतिवडालाई ०७६ फागुन २० गतेभित्र पुनः राष्ट्रिय सभामा लैजान खोजेका थिए । त्यसका लागि प्रधानमन्त्री पार्टी नै विभाजन गराउन समेत तयार भएका थिए । तर, पार्टीका बहुमत सदस्यका सामु उनको केही चलेन । त्यसैले ६ महिनासम्मका लागि मन्त्रीमा पुनः सपथ खुवाएर अर्थमन्त्रीमा निरन्तरता दिए । खतिवडालाई यो आठौं पुरस्कार थियो । कानुनी अडचनका कारण खतिवडा गत भदौ १९ गते राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिएको १० दिन भित्रैमा प्रधानमन्त्री ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका थिए । जब कि त्यस पदमा त्यसअघि नै पुर्व अर्थ सचिव लालशंकर घिमिरेलाई नियुक्ति दिइसकिएको थियो । गत असोज १५ गतेको मन्त्रिपरिषद बैठकबाट खतिवडालाई अमेरिकाको राजदुत सिफारिस गरेर १० औं पटक पुरस्कृत गरियो । खतिवडालाई सरकारले ०७३ मा प्रसिद्ध प्रवल जनसेवा श्री र २०७० सालमा सुकिर्तीमय राष्ट्रदीप दिएर राष्ट्रपतिबाट सम्मानित गराएको थियो । यसलाई समेत गणना गर्ने हो भने सात वर्षमा खतिवडालाई १२ औं पटक पुरस्कृत गरिएको छ । 

असोज १५ गतेको मन्त्रिपरिषद बैठकबाट खतिवडालाई अमेरिकाको राजदुत सिफारिस गरेर १० औं पटक पुरस्कृत गरियो । खतिवडालाई सरकारले ०७३ मा प्रसिद्ध प्रवल जनसेवा श्री र २०७० सालमा सुकिर्तीमय राष्ट्रदीप दिएर राष्ट्रपतिबाट सम्मानित गराएको थियो । यसलाई समेत गणना गर्ने हो भने सात वर्षमा खतिवडालाई १२ औं पटक पुरस्कृत गरिएको छ । 

एक जना पुराना बाम नेताका अनुसार सत्तामा पुगेका नेताहरुले कम्युनिष्ट आन्दोलनको अन्तरवस्तु नै परिवर्तन गरेका छन् । यसले गर्दा आन्दोलनभित्र रगत, पसिना बगाएका, त्याग, सर्मपण गरेका कार्यकर्ताहरु उनीहरुका नगरमा अयोग्य भएका छन् । अहिले सत्ताको नेतृत्वमा बसेकाहरुलाई आफुसँग सिधा आँखा जुधाएर बोल्न नसक्ने, चाकडी गर्नेहरुको बथान चाहिन्छ । ‘त्याग, समर्पण गरेका अधिकाशं पुराना कार्यकर्ताहरु नेताहरुको अतिरिक्त चाकडी गर्दैनन्’, ३० को दशकमै कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य भइसकेका उनी भन्छन्, ‘नेताहरुले आफ्नो आर्दश गुमाउँदै गएकाले यस्तो भद्रगोल अवस्था आएको हो ।’

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा उपेन्द्र कोइरालाको अर्को रोचक उदाहरण पढौं ।  सत्तासँग निकट हुनुको मस्ती कोइरालाले पनि खतिवडाले जतिकै लिइरहेका छन् । उनलाई २०७७ भदौ ५ गते अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्यमा नियुक्त गरेको थियो । कोइरालालाई त्यस बैंकको अध्यक्ष बनाउने प्रपञ्च मिलाएर सञ्चालक समिति सदस्य नियुक्त गरिएको  छ । रक्षामन्त्री पोखरेलका जेठा छोराले कोइरालाको छोरी बिबाह गरेका छन् । नियुक्ती चर्को विवादमा परेपछि कोइरालाले ४१ दिनसम्म सपथ लिएनन । विवाद ओझेलमा पर्दै गएर उनलाई बाणिज्य बैंकको अध्यक्ष बनाउने सुनिश्चित भएपछि अस्ति  असोज १५ गते सपथ लिएका छन् । सम्धी कोइरालाको यो नियुक्ती आठौं हो ।

अब एकछिन कोइरालाले अहिलेसम्म पाएका नियुक्तिको सूची हेरौ ।

२०५१ साल मंसिरमा तत्कालीन नेकपा एमालेको अल्पमतको सरकार गठन भयो । मनमोहन अधिकारी प्रधानमन्त्री निर्वाचित भए । पार्टीले निर्णय गरेर प्रधानमन्त्री अधिकारीको राजनीतिक सल्लाहकार इश्वर पोखरेललाई बनायो । भलै त्यसबेला पोखरेलको छोरो र कोइरालाको छोरीबीच विवाह भएको थिएन । एमाले नेतृत्वमा सरकार बनेपछि कोइराला खाद्य संस्थानको महाप्रबन्धक भए । महाप्रबन्धक पछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको प्रमुख बनाइए । त्यसपछि उनलाई विराटनगरकै स्नातकोत्तर क्याम्पस प्रमुखको जिम्मेवारी दिइयो । २०६१ मा इश्वर पोखरेल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री भएको बेला कोइराला आयल निगमको कार्यकारी अध्यक्ष नियुक्त भए ।

आयल निगमको कार्यकाल पूरा भएपछि उनलाई पुनः उच्च माध्यमिक शिक्षा परिषदको उपाध्यक्ष नियुक्त गरियो । जसले कक्षा ११ र १२ का विद्यार्थीहरुको परीक्षा लिने, पाठयक्रम निर्धारण गर्ने काम गर्छ । उच्च माध्यामिक शिक्षा परिषदको उपाध्यक्ष हुन्जेल कोइराला पाचौं पटक पुरस्कृत हुँदै थिए ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलका सम्धी डा उपेन्द्र कोइरालाले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपति पडकाए । यसबेला उनी निकै ठूलो विवादमा आएका  थिए । तर, त्यसलाई सामसुम बनाइयो । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिना भित्रै कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउने गरी आठौं पटक पुरस्कृत गरिएको छ ।

जानकारहरुका भनाईमा शिक्षा परिषदको उपाध्यक्षबाट बाहिरिएको केही समयपछि उनलाई उद्योगी राजेन्द्र खेतानको लक्ष्मी बैंकको अध्यक्ष बनाइयो । पुनः कोइरालाले मध्यपश्चिमान्चल विश्वविद्यालयको उपकुलपति पडकाए । यसबेला उनी निकै ठूलो विवादमा आएका  थिए । तर, त्यसलाई सामसुम बनाइयो । मध्यपश्चिमान्चल विश्वविद्यालयको भीसीको कार्यकाल  सकिएको केही महिना भित्रै कोइरालालाई राष्ट्रिय बाणिज्य बैंकको अध्यक्ष बनाउने गरी आठौं पटक पुरस्कृत गरिएको छ । यि घटना एकाध प्रतिनिधि उदाहरण मात्र हुन । यस्तो फेहरस्ती निकै लामो उतार्न सकिन्छ ।

आफुलाई टिबीले समातेपछि २०२९ साल कात्तिक ओलीलाई झापाली विद्रोहीको सचिव पद हस्तान्तरण गरेका, गोलघरमा सँगै रहँदा उनको स्याहार सुसारमा खटेका मैनालीको विश्लेषणमा एमसिसी र अमेरिकन दाताहरुबाट रकम ल्याउँछन् भन्ने विश्वासमा उनले खतिवडालाई राजदुत बनाएका हुन् । ‘स्वास्थ्य अहिलेकै अवस्थामा रहयो र अन्तराष्ट्रिय सम्वन्ध सन्तुलनमा राख्न सके भने नेकपाको महाधिवेशनबाट ओली पार्टी अध्यक्ष पनि आफैं हुन्छन् र अर्को निर्वाचनबाट प्रधानमन्त्री पनि आफैं हुन्छन । तपाईहरु हेर्दै जानु होला, महाधिवेशनबाट ओलीले माधव नेपाललाई दोस्रो र प्रचण्डलाई तेस्रो वरियातामा राख्छन्’, मैनालीको निश्कर्ष छ ‘त्यसका लागि ओलीले पैसाको जोहो गरिरहेका छन् । एमसिसीमा ७३ अर्बको खेल छ । उनले त्यो हेरिरहेका छन् ।’ ओली २०२९ साल कात्तिकदेखि फागुनसम्म झापा विद्रोहीको दोस्रो सचिव भएका थिए । यसपछि सिपी मैनालीले त्यो जिम्मेवारी लिएका थिए ।

आफुलाई टिबीले समातेपछि २०२९ साल कात्तिक ओलीलाई झापाली विद्रोहीको सचिव पद हस्तान्तरण गरेका, गोलघरमा सँगै रहँदा उनको स्याहार सुसारमा खटेका मैनालीको विश्लेषणमा एमसिसी र अमेरिकन दाताहरुबाट रकम ल्याउँछन् भन्ने विश्वासमा उनले खतिवडालाई राजदुत बनाएका हुन् । ‘स्वास्थ्य अहिलेकै अवस्थामा रहयो र अन्तराष्ट्रिय सम्वन्ध सन्तुलनमा राख्न सके भने नेकपाको महाधिवेशनबाट ओली पार्टी अध्यक्ष पनि आफैं हुन्छन् र अर्को निर्वाचनबाट प्रधानमन्त्री पनि आफैं हुन्छन । तपाईहरु हेर्दै जानु होला, महाधिवेशनबाट ओलीले माधव नेपाललाई दोस्रो र प्रचण्डलाई तेस्रो वरियातामा राख्छन्’, मैनालीको निश्कर्ष छ

नेकपाका केन्द्रीय सदस्य टंक कार्कीका शब्दमा संविधान निर्माण यता भएका गतिविधिहरुको आत्मसमीक्षा गर्ने बेला भएको छ । ‘हामीसँग प्रणाली ठिक हुँदाहुँदै पनि हामीले  निर्माण गरेका संरचना, संस्था र मुल्यहरु प्रणालीसँग संगति राख्ने भएनन’, नेपाली वामपन्थी आन्दोलनमा लामो समयदेखि नेतृत्व तहमा क्रियाशील रहँदै आएका तथा चीनका लागि नेपालका राजदुत रहिसकेका कार्की भन्छन् ‘आत्मसमीक्षाको निश्कर्षबाट हामीले पक्रनु पर्ने दिशा एकिन हुन सक्छ । नेताहरु जनताको अपेक्षा नुसार नचले पनि पुर्नजागरण भने जागृत भइहेको छ । मानिसहरु प्राधिकारमाथि प्रश्न गर्न थालेका छन, जो जायज पनि हो ।’

यथार्थ के देखिदैछ भने प्रधानमन्त्री ओली र उनी निकटहरुले सेवकहरुलाई अति च्याप्ने र उनीहरुको कार्यशैलीमाथि सचेत गराउनेहरुलाई घृणा गर्ने, उनीहरुलाई दपेट्ने काम गरिरहेका छन् । यो शैलीले मुलुकलाई उठ्नै नसक्ने गरी भड्खालोको दिशातिर उन्मुख गराइरहेको त छ नै, साथसाथै विश्व कम्युनिष्ट आन्दोलनको इतिहासमा नै एउटा नौलो र विद्रूप किसिमको भाष्य निर्माण गरिरहेको प्रतीत हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माधव बस्नेत
माधव बस्नेत
लेखकबाट थप