शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

'हुम्लाको प्राकृतिक सौन्दर्य र चरम गरिबीले मेरो साहित्यिक ऊर्जालाई जगायो'

दाइजो निरुत्साहित गर्न पुरानो पहिरनमा विवाह गरेँ
शनिबार, १७ असोज २०७७, १० : ४२
शनिबार, १७ असोज २०७७

धीरेन्द्र प्रेमर्षि गीतकार, सङ्गीतकार र साहित्यकार पनि हुन् । उनी पत्रकारका रूपमा पनि चिनिएका छन् । धेरैजसो मैथलीभाषा र संस्कृतिमा कलम चलाउने उनले नेपालमा गीत, गजल समेत लेखका छन् । विसं २०२४ मा सिराहको गोविन्दपुर १ बस्तीपुरमा जन्मिएका उनको पूरा नाम धीरेन्द्र झा हो । साहित्य सिर्जनका सन्दर्भमा उनले नामका पछाडि प्रेमर्षि थपेका हुन् ।

पछिल्लो समय नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत रहेका उनी शास्त्रीय तथा परम्परागत सङ्गीत विभागको प्रमुखसमेत रहेका छन् । विसं ०५४ देखि ०५६ सम्म फिल्मी म्यागजिन कामनाको सम्पादकसमेत रहेका उनी मैथली साहित्य र संस्कृति विकासका लागि निरन्तर लागिपरेका छन् ।

मैथली र नेपाली साहित्य जे भए पनि देशकै सम्पत्ति ठान्ने र यसका लागि केही गुन लगाउन सकिन्छ कि भनेर अहोरात्र खटिने उनी सिस्नोपानी नेपालका उपाध्यक्ष पनि हुन् । उनै धीरेन्द्र प्रेमर्षिका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।

मेरो खाना
मिथिला स्टाइलको माछाको तरकारी र भात मेरो मनपर्ने खाना हो । माछाकै स्टाइलमा बनाउने करेलाको भरुवा पनि मनपर्छ । मन नपर्ने खानेकुरा केही छैन ।

साथीभाइ कम र परिवारसँग बढी रेस्टुरेन्ट जान्छु । छोराहरु चिकेन आइटम बढी मनपराउने र श्रीमती भेज भएकाले दुवैलाई बराबर साथ दिन्छु ।

पहिले बाध्य भएर पकाउनु पथ्र्याे अहिले श्रीमतीले नै पकाउँछिन् । त्यसैले पकाउन रुचि छैन ।

मेरो फिट्नेस
अहिलेसम्म फिट्नेसको कुनै रुटिङ छैन । आवश्यक परेको जस्तो पनि लागेको छैन । कहिलेकाहीँ हल्का एक्सरसाइज त गर्छु । तर नियमित होइन ।

मेरो पोसाक
धोती, कुर्था र दौरासुरुवाल मेरो मनपर्ने पोसाक हो । सानैदेखि यो पोसाकमा रुचि थियो । म काठमाडौँ २३, २४ वर्षको उमेरमा आएको थिएँ । त्यो समय रेडियो नेपालमा समाचार पढ्न जाँदा पनि धोती र कुर्था नै लगाउँथे ।

अहिले सामान्य पाइन्ट, सर्ट जस्ता पोसाक प्रयोग गर्छु । तल पाइन्ट लगाए भने माथी कुर्था टाइपको लगाउँछु । फर्मल कार्यक्रममा कोटपाइन्ट लगाउँछु ।

दौरासुरुवाललाई अहिले राष्ट्रियतासँग जोडिन्छ । मेरो विचारमा कुनै पोसाकलाई राष्ट्रियताको दाम्लो बनाउनु हुन्न । त्यसैले जुनदिन दौरासुरुवाल लगाएर कार्यक्रम वा अफिस आउने उर्दी हुन्थ्यो । त्यो दिन म जन्नथिएँ ।

कालो, सेतो र सादा कलरको पहिरन पहिले मनपथ्र्याे । पछिल्लो समय चेक पनि प्रयोग गर्छु । पहिरनमा ब्रान्डेड हेर्दिनँ । मनपरेको, राम्रो लागेको किन्छु । 

मेरो अध्ययन 
अध्ययन र लेखन रुचिको विषय हो । यसका लागि यही र यति समय भन्ने छैन । अनुसन्धानमूलक विषयमा लेख्न पु¥यो भने त्यसका लागि आवश्यक सन्दर्भसामग्री पुस्तक पढ्छु । आख्यान, कथा, उपन्यासहरु पढ्छु ।

मनपर्ने, चर्चा भएका किताब खोजेर समेत पढ्ने गरेको छु । मेरो अध्ययनको समय प्रायः बेलुका हो । कहिलेकाहीँ बिहान पनि पढ्छु । अध्ययनका लागि मेरो त्यस्तो केही रुटिङ पनि अहिलेसम्म छैन ।

मेरो फुर्सद
फुर्सद केलाई भन्ने । कुनै समय यस्तो थियो । म १८, २० घण्टा काम गर्थें । अहिले त्यो हिसाबले केही फुर्सद छ । तर पनि केही न केहीमा लागिरहेको हुन्छु ।

फुर्सद भयो भने परिवार, आफन्तलाई समय दिने, साथीभाइ भेट्ने गर्छु । घुम्नसमेत निस्कने गर्दछु ।

मूलतः पेसा मेरो नोकरी (सरकारी जागिर) रह्यो । २०४३ बाट मैले कृषि विभागअन्तर्गत विभिन्न कार्यालयमा रहेर ३१ वर्ष काम गरे । खरिदारको जागिर हुम्लाबाट सुरु गरेको थिए । त्यसपछि २०४५ सुब्बा भएँ ।

मेरो खेलकुद
विद्यार्थी जीवनमा फुटबल धेरै खेल्थेँ । फुटबलमा पनि गोलकिपर बन्थे । एक समय क्यारिमबोर्ड पनि खेल्थेँ । समय, परिस्थितिले खेलका लागि अनुकुलता दिएन । त्यसैले खेल छुट्यो । 

अहिले हेर्न थालेको छु । क्रिकेट हेरेर आनन्द लिन्छु । भारतको क्रिकेट खेलाडी प्रायः चिन्ने भएकाले उनीहरुको म्याच हेर्छु ।

मेरो मोबाइल
उठाएको पनि पैसा लाग्ने बेलादेखि नै मोबाइल बोक्दै आएको छु । अहिले दुईवटा मोबाइल छन् । एउटा नर्मल र अर्काे सामसुङ ब्रान्डको ग्यालेक्सी नोट नाइन । 

फोन गर्ने, उठाउनेबाहेक मेरो मोबाइलमा धेरै काम हुन्छन् । अनलाइन समाचार, साहित्य पढ्ने, मैथली साहित्य सोध्नेहरुको लागि जबाफ दिने, गीत, गजल जस्तो छोटा सामग्री लेख्ने ।

इमेल, फेसबुक लगायत सामाजिक सजाल चलाउन र बैङ्किङ काम गर्न पनि मेरो मोबाइल प्रयोग हुँदै आएको छ । 

मेरो टिभी
टिभी हेर्छु । टिभीमा नेपाली र भारतीय समाचार हेर्छु । समय बिताउन फिल्म पनि हेर्छु । राताको समय निन्द्रा परेन भने पनि उठेर साउथ इन्डियनका एक्सन फिल्महरु हेर्छु । 

मेरो चलचित्र
फिल्म कहिलेकाही हेर्छु । क्लासिकल खालका फिल्म खोजीखोजी हेर्ने गरेको छु । पहिला पहिला हिरो र हिरोइनको नामले पनि फिल्म हेर्थे ।  एक समय त्यस्तो पनि थियो, आएका सबै फिल्म समेत हेर्थें ।

अहिले विशेष, नाम चलेको र चर्चामा रहेका फिल्म मात्र हेर्छु । खासखास फिल्म हलमै गएर हेर्छु । पछिल्लो समय हेरेको फिल्म यादव भट्टराईको निर्देशन रहेको ‘भोर’ हो ।

धेरै पहिले म कामनाको सम्पादक समेत भएको थिएँ । त्यो समयमा जानकारीका लागि धेरै फिल्म हेर्थें । त्यो कट्कर समय पनि थियो । फिल्म हेरेर तीन घण्टा बिताउन निकै गाह्रो हुन्थ्यो ।

मेरो पेसा
मूलतः पेसा मेरो नोकरी (सरकारी जागिर) रह्यो । २०४३ बाट मैले कृषि विभागअन्तर्गत विभिन्न कार्यालयमा रहेर ३१ वर्ष काम गरे । खरिदारको जागिर हुम्लाबाट सुरु गरेको थिए । त्यसपछि २०४५ सुब्बा भएँ ।

त्यो समय जागिर प्रथामिकतामा नभए पनि खान दिएको छ भनेर जागिर गरिरहे । तर मेरो रुचि कलाकारिता साहित्यमा भएकोले त्यतातिर बढी क्रियाशील रहे । जागिर बाँच्नका लागि मात्र गरेँ । 

जतिखेर म जागिर खान गएको थिए । त्यो समय म नेपालगन्जमा दाइसँग बस्थे । सुर्खेतमा विज्ञापन निस्किएको थियो । मैले पनि भरे । नाम निस्कियो । अन्तरवार्ता दिन जाँदा सुर्खेतको बबई खोला तरेर जानुपथ्र्यो । त्यहाँ बाढी आएको थियो । पुल पनि थिएन । जिउभरी चिन्डो बाधेर अरूले तानेर खोलो तार्दिएका थिए । त्यो खोला तरेपछि मृत्युको मुखमा पुगेर फर्किएको आभास भयो ।

अहिले पनि त्यो दिन सम्झँदा जिउनै सिरिङ्ग भएर आउँछ । ज्यानको बाजी थापेर जागिर खाएँ । जागिरबाट मैले कुनै अपेक्षा नराखेकाले त्यो साधारण जिउने आधार मात्र भयो ।

मेरो साहित्य 
साहित्यमा मेरो सानैदेखि रुचि थियो । सानामा नाटक खेल्थेँ, गीत गाउँथे । साहित्यमा मूल लेखन भने जागिरको सिलसिलामा हुम्ला पुगेपछि सुरु भयो ।

हुम्ला प्राकृतिक सौन्दर्यले भरिपूर्ण थियो । तर त्यहाँ गरिबी, चरम अभाव लगायत थुप्रै समस्या थिए । त्यसले एउटा विरोधाभास अवस्थाको सिर्जना गर्दथ्र्याे । त्यो वातावरणले मभित्रको साहित्यिक क्षमता र ऊर्जालाई जगाउने काम ग¥यो ।

मैथली गीत लेखनको सुरुवात पनि मेरो त्यहीँबाट भएको थियो । त्यहीँबाट नेपालीमा कथा, कविता लेख्न थालेँ । नाटकसमेत मञ्चन गराएँ । त्यो नाटक मञ्चन हुम्लाको इतिहासमा पहिलो भयो । म साहित्यकार बन्नुमा हुम्लाकै देन हो ।
२०४६ मा जागिरको सिलसिलामा जनकपुर झरेपछि मैथलीको महिमा थाहा पाए । मेरो टर्निङ प्वाइट त्यहीँ सावित भयो ।

त्यतिबेला सुरुमा जागिरको सिलसिलामा जनकपुर मेरो रुचिमा परेको  थिएन । किनभने कलासाहित्यका लागि काठमाडौँमै जानुपर्छ भन्ने मेरो सोच थियो । जनकपुरले मेरो दिशा नै परिवर्तन गरिदियो । ममा मैथली साहित्य प्रभाव जनकपुरबाट प¥यो ।

साहित्यका फाँटमा मैथलीमा मेरो एउटा गीतसङ्ग्रह, नेपालीमा समयलाई सलाम भन्ने गजल सङ्ग्रह, अनिवार्य नेपालीको स्नातकमा मेरो गजलको अध्ययनसमेत हुने गरेको छ ।

नेपाली पाठ्यक्रममा गजलले प्रवेश पाएको नै मेरो गजलबाट हो जस्तो लाग्छ । मैथली र नेपाली साहित्य बीचका अनुवादमा मेरो ५, ६ वटा महत्त्वपूर्ण किताब समेत आएका छन् । ६, ७ वटा सम्पादन गरेको कृति छन् ।

झन्डै एक दर्जन आफूले लेखेर, सङ्गीतबद्ध गरेका जीवन मूल्यका गीतहरुको नेपालीमा ३ वटा एल्बम र अन्य मैथलीमा एल्बम आएका छन् ।

मेरो गीतसङ्गीत
जीवन मूल्य बोकेका, सङ्गीतमा सिर्जनाशीलता भएका गीतसङ्गीत मलाई मनपर्छ । कनाबाट छिरेपछि त्यो गीतसङ्गीतले मस्तिष्ठकमा हलचल मच्चाओस् भन्ने मेरो धारणा रहेको छ । 

नेपालीमा नारायण गोपाल, भक्तराज आचार्य र भारतीयमा किशोर कुमारका गीतहरु बढी सुन्छु । 

मेरो प्रेम
विसं २०४८ को फागुन परिवारले खोजेको केटीसँग मैले मागी विवाह गरेको हो । विवाहपछि उनीसँग नै प्रेम बस्यो । त्यो प्रेम अहिले पनि चल्दैछ । मागी विवाह मेरो जीवनको योजना थियो । किनभने मिथिला समाजमा जुन दाइजोको अवस्था छ । मेरो विवाहको समयमा झन् चरम अवस्थामा थियो ।

हामी जस्तो भाषासाहित्यमा लागेको व्यक्तिले दाइजो प्रथा तोड्न आफ्नो तर्फबाट पहल गर्नका लागि पनि मैले मागी विवाह गर्नैपथ्र्याे । अन्य विवाहभन्दा मागी विवाहमा दाइजो नलिँदा अर्थ लाग्छ भनेर मैले यही रोजेको थिए ।

मेरो ६०, ७० जनाको ठूलो परिवार हुँदाहुँदै पनि २१ जना जन्ती मात्र लगेर पुरानै पहिरनमा विवाह गरे । दुलहीका लागि पनि एक जोर पहिरन मात्र लगेको थिएँ । 

जीवनमा दुरगामी सपना कहिल्यै रहेन । सकेसम्म सुकिलो बाटो हिँड्ने, अरूलाई सहयोग गर्ने र भविष्यका पुस्ताका लागि गोरेटो पहिल्याउन सजिलो होस् भनेर केही गर्ने प्रयास गरेँ ।

म सरकारी जागिरे थिएँ । मैले चाहेको भए विवाहमा धेरै खर्च गर्नसक्थे । मिथिलामा विवाह खर्च भनेर दाइजो दिने चलन भएकाले त्यो नलिनका लागि मैले पुरानै पहिरनमा विवाह गरेँ ।

मेरो साहित्यिक लगायत सबै यात्रामा श्रीमती रूपाको पनि साथ उतिकै रहेको छ । उनी र म एउटा एफएममा पनि सँगै कार्यक्रम चलाउँछौँ । हाम्रो मिलेको जोडी देखेर धेरैले लभ म्यारिज भएको अनुमान समेत लगाउँछन् । 

मेरो सपना
जीवनमा दुरगामी सपना कहिल्यै रहेन । सकेसम्म सुकिलो बाटो हिँड्ने, अरूलाई सहयोग गर्ने र भविष्यका पुस्ताका लागि गोरेटो पहिल्याउन सजिलो होस् भनेर केही गर्ने प्रयास गरेँ । अहिलेसम्म जति प्राप्त भएको छ त्यसमा नै मैले उपलब्धि मानेको छु ।

मेरो मापसे 
म मापसे गर्दिनँ । तर मापसेमा परेको छु । गर्दिनँ भन्नले छुँदै नछुने होइन । तर छुन्छु मात्रै । आजसम्म रक्सीको नसा कस्तो हुन्छ भनेर थाहा छैन ।

कसैले कर ग¥यो भने अलिकति भनेर मुखमा लगाउँछु । त्यसलाई खाको भन्न मिल्ने नमिल्ने अर्काे कुरो हो । म अरूका लागि लिन्छु ।

एक दिन त्यस्तै अरूको करले गर्दा रक्सी मुखमा लाएर मात्र छोडेको थिए । त्यो दिन मापसेमा मलाई सोधियो । मापसे गरेको छ कि छैन ? म धर्म सङ्कटमा परे । छैन भनौ भने मुखमा लगाएको थिए । छ भनौँ भने निलेको थिइन । मैले छ भनिदिए । त्यो बेला म मापसेका परेँ ।

मेरो मूल
जानीनजानी जीवनमा धेरै भूल भए होलान् । मानिसले भुलबाट सिक्ने पनि हो । अहिलेसम्म पछुताउनुपर्ने भूल भएजस्तो लागेको छैन । किनभने जीवनमा मैले कहिल्यै पनि ठूलोठूलो योजना बनाइन, सपना देखिनँ ।

मेरो रोग 
भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही देखिएको छैन । सानैमा कहिले काहीँ टाउको धेरै दुख्थ्यो । त्यो अहिले पनि कहिलेकाहीँ दुख्छ । यस्तो गर्मी महिनामा हुन्छ ।

मेरो राशि
नामको आधारमा पहिले राशि ‘धनु’ हो भन्थे । अहिले जन्ममितिको आधारमा सिंह भनेर हेर्ने गरेको छु । ग्रहदशामा कहिले काहीँ पढेलेखेको व्यक्ति लागेको देख्दा विश्वास पनि लाग्यो । धेरै जसो विश्वास लाग्दैन ।

मेरो मृत्यु 
मृत्यु स्वाभाविक रूपमा लिएको छु । मृत्यु उत्सवमय बनाउन सक्नुपर्छ भन्ने मलाई लाग्छ । मृत्य राम्रो बनाउन जीवनमा सकेसम्म सत्कर्म समाज र मानिसका लागि खुसी पुग्ने गर्नुपर्छ । यो गर्न सकियो भने मृत्यु उत्सवमय हुनसक्छ ।

मृत्युपछि धेरैले सम्झिए भने त्यो सार्थक मृत्यु हो । मृत्यु सत्य हो । यससँग कहिल्यै डर छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप