शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनियाँ नागरिकको नेपालमा कृषिकर्म : एउटै सखरखण्ड साढे ३ किलोको ! (भिडियो)

भन्छन्, ‘काठमाडौँको हावापानी कृषिका लागि धेरै राम्रो, नेपालीहरुले खेती गर्नै जानेनन्’
आइतबार, १८ असोज २०७७, १२ : ०९
आइतबार, १८ असोज २०७७

झन्डै १५ वर्षअघि चिनियाँ नागरिक ह्वाङ् अर्दुङ काठमाडौँ आउनेबेलामा नेपालमा तरकारी खेती गर्छु भनेर सोचेका थिएनन् । चीनमा पनि उनको परिवारले कहिल्यै खेतीपाती गरेको छैन । होटल म्यानेजमेन्टमा स्नातक पूरा गरेका उनीहरुसँग पाँचतारे होटलमा मिठो मिठो खाना–तरकारी पकाएको अनुभव मात्र थियो ।

नेपालमा पनि चिनियाँ परिकार खुवाउने लक्ष्य बोकेर होटलमा काम गर्न आएका उनले नेपाली बजारमा चिनियाँ सागपात भने पाउन सकेनन् । नेपाल आएका चिनियाँहरुले आफ्नो तरकारीको स्वाद नेपालमा पनि भेट्न सकुन् भनेर उनले सुरुमा परीक्षणका रुपमा केही चिनियाँ तरकारी लगाए । झन्डै १७ रोपनी जग्गा भाडामा लिएर विगत ८ वर्षदेखि अर्गानिक तरकारी खेती गर्दै आएका उनको फार्ममा नेपालका करेसाबारीमा पाइने अधिकांश तरकारीबाली पनि छ । उनले तरकारीबालीमा रासायनीक मल तथा किटनाशक विषादीको प्रयोग पटक्कै गर्दैनन् । कुखुराको मल, कालो माटो प्रयोग गरेर उनले अर्गानिक तरकारी खेती गर्ने गरेका छन् ।

चिनियाँ लसुन, प्याज, छ्यापी, बन्दा, खर्बुजा, सेलरी साग, चिनियाँ प्याज, काँक्रो, कमल फूल र जराको तरकारी चिनियाँले मनपराउँछन् । उनले चीनबाट बिउ मगाएर यस्ता तरकारी लगाएका हुन् ।

साढे ३ किलोको सकरखण्ड

यसपालीबाट उनले चिनियाँ सकरखण्ड लगाएका छन् । ५ महिना अघि लगाएको बोटमा एउटै सकरखण्ड साढे ३ किलोसम्म फलेको छ । उनले भने–‘एउटा बोटमा सात–आठ किलोसम्म फल्न सक्छ । नेपालीहरुले पनि यस्तै सकरखण्ड लगाउनुभयो भने कोही भोको बस्नुपर्दैन । यो निकै गुलियो मिठो पनि हुन्छ ।’

उनले तरकारी फार्ममा स्याउ पनि फलाएका छन् । काठमाडौँको हावापानी स्याउका लागि राम्रो भएको उनले बताए । तरकारी खेती गर्नुअघि उनले यहाँको हावापानीमा कस्तो कस्तो तरकारी लाग्छ भनेर परीक्षण पनि गरेका थिए । काठमाडौँको हावापानी र माटो कृषिका लागि धेरै राम्रो भएको उनले सुनाए ।

इन्टरनेटबाट सिक्दै काम गर्दै

घरमा कृषिको काम नगरेका र अनुभव नभएका उनलाई सुरुमा गाह्रो भएको थियो । बिस्तारै कुन तरकारी कसरी लागाउने भनेर उनले उनले इन्टरनेटबाट धेरै कुरा सिके । चीनमा उनका साथी कृषि इन्जिनियर छन्, नजानेको केही कुरा उनलाई सोध्ने गरेका छन् ।

उनले अहिले सेतो काउली लगाएका छन्, जुन एउटै बोटमा साढे ३ किलो हाराहारी काउली फल्ने बताए । यस्तै चिनियाँ ड्रागनफुड, अंगुरको पनि परीक्षण गरिरहेका छन् । परीक्षण गर्दै, सिक्दै र राम्रो भयो भने धेरै मात्रामा खेती गर्ने उनको योजना छ । 

तरकारी महँगो छ, फार्ममै पुग्छन ग्राहक

उनको तरकारी बजारमा पाइने अन्य तरकारीभन्दा ३० देखि ४० प्रतिशत महँगो पनि छ । अर्गानिक तरकारी खेती गर्न लागत धेरै पर्ने भएका कारण आफ्नो तरकारी महँगो भएको उनले बताए ।

उनले भने–‘युरिया मल हाल्यो भने ३ महिनामा फल्छ तर मल हालेन भने ४ महिना लाग्छ र तरकारी पनि राम्रो हुन्छ ।’

उनले फलाएका तरकारीहरु आफ्नै होटलमा प्रयोग गर्छन् र बाँकी रहेको तरकारीहरु बिक्री गर्छन् । उनले तरकारी बेच्न बजार जानुपर्दैन । आर्गानिक तरकारी खोज्दै विभिन्न ठाउँबाट मान्छेहरु तरकारी फार्ममै पुगेर किनेर लैजाने गरेका छन् ।

उनको फार्ममा सरकारी कर्मचारीहरु, विदेशी नागरिकहरु तरकारी किन्न आउँछन् । कतिपय त कलंकीदेखि पनि तरकारी किन्न आउने गरेको उनले सुनाए ।

१५ रोपनी हाराहारीमा उनले तरकारी लगाएका छन् भने २ रोपनी क्षेत्रफलमा पोखरी बनाएका छन् । पोखरीमा उनले कमल फूल लगाएका छन् । चिनियाँहरुले कमल फूलको जरा, डाँठ र पातको तरकारी निकै मन पराउने गर्छन् ।

आफ्नै जग्गा नभएकोले नाफा भएन

उनले तरकारी खेती गरेर नाफा भने कमाउन सकेका छैनन् । कारण अर्गानिक खेती गर्दा लागत धेरै लाग्ने, महँगो जग्गा भाडा र कर्मचारीको तलब ।

उनले भने–‘नाफा त छैन, धेरै घाटा पनि छैन । होटल पनि चलाएको र कृषि गर्ने सौखका कारण मात्र चलाएको हो । ताजा तरकारी हुने भएर मात्र हो ।’

८ जना कामदार र जग्गा भाडा तिर्दा धेरै पैसा जाने उनले बताए । एक महिनामा कामदार र जग्गा भाडामा मात्रै ३ लाख ५० हजार खर्च हुने भएकोले नाफा गर्न गाह्रो भएको उनले बताए । यदी आफ्नै जग्गा छ र व्यवसायीक तरकारी खेती गर्ने हो निकै फाइदा हुने उनले बताए । सिजनको बेलामा लगानीको साउँ उठेपनि अफसिजनमा भने घाटा लाग्ने बताए । गत चैतदेखि कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण आफूले धेरै घाटा बेहोर्नुपरेको उनले सुनाए ।

तरकारीका लागि नेपालको माटो र मौसम राम्रो

काठमाडौ उपत्यकाको मौसम धरै गर्मी पनि नभएको र धेरै चिसो पनि नभएकोले तरकारीका खेतीका लागि राम्रो भएको बताए । उनले नेपालमा व्यवसायीक तरकारी खेती गर्ने हो भने निकै राम्रो संभावना रहेको बताए । बैदेशीक रोजगारीमा जाने नेपालीहरुलाई उनले भने–‘यहाँ जग्गा भाडा महँगो छ । आफ्नै जग्गा छ भने राम्रो बिउ ल्याएर खेती ग¥यो भने राम्रो फाइदा हुन्छ । विदेश नगएर कृषि ग¥यो भने पनि माथि उठ्न सकिन्छ । परिवार पनि सँगै हुन्छन् । सिजन, आफसिजन मिलाएर रोप्यो भने निकै राम्रो हुन्छ ।’

उनले नेपालमा रहुञ्जेलसम्म यसरी नै तरकारी खेती गर्ने र अगामी दिनमा नेपालीलाई कृषि तालिम दिएर बिउबिजन दिएर सहयोग गर्ने बताए । कृषि क्षेत्रमा नेपालीको प्रगति गराउन पाए आफूलाई खुसी मिल्ने उनले बताए ।

‘नेपालीले तरकारीको राम्रो बिउ प्रयोग गर्न सकेका छैनन् । राम्रोसँग तरकारी खेती गर्न सकेका छैनन् । यसबारे उनीहरुलाई सिकाउन मन छ ।’

विदेशी किसानलाई नेपाल सरकारको सहयोग छैन

आफू बिदेशी भएका कारण नेपाल सरकारको कृषिका लागि कुनै सहयोग नभएको उनले बताए । उनले भने, ‘हामी विदेशी मान्छेलाई यहाँको सरकारले के सहयोग गर्छ र ? मलाई कतैबाट केही सहयोग छैन । त्यस्तो सहयोग भयो भने अझै राम्रोसँग कृषिको काम गर्न सकिन्छ ।’

चीनमा भने किसानका लागि ब्याज नलिनेगरी ऋण दिने गरेको र एउटा ग्रीनहाउस बनाउने हो भने सरकारले ६ लाखसम्म अनुदान दिने गरेको उनले बताए । यसरी सरकारी अनुदानबाट तरकारी खेती गर्दा ग्राहकले पनि सस्तो तरकारी पाउने गरेका छन् ।

उनले भने–‘नेपाली तरकारी बजारमा हेर्नुस्, लसुन, आलु, प्याजको अभाव छ । राम्रो तरकारी रोप्न नेपालीलाई आउँदैन । धेरै बिदेशबाट आउँछ । कहिले भाउ धेरै महँगो पर्छ कहिले धेरै सस्तो पर्छ । म पहिला नेपाल आउँदा बिदेशबाट अदुवा आउँथ्यो अहिले अदुवामा नेपालले राम्रो प्रगति गरेको छ ।’

बिहान ५ बजेदेखि राती ११ बजेसम्म निरन्तर काममा खटिने उनलाई फुर्सद कहिल्यै हुँदैन । उनले फुर्सद पाउने समय भनेको दसैँको बिदाको बेला हो । त्यो बेला आफ्ना कर्मचारीहरु घर जाने भएकाले दसैँका बेला उनी नेपालका विभिन्न ठाउँमा घुम्नका लागि जाने गर्छन् । अरु बेला निरन्तर काम गर्ने उनलाई फुर्सद भनेको के हो थाहा छैन ।

नेपालीलाई कृषिमा सहयोग गर्ने चाहना

ह्वाङ अर्दुङलाई नेपाल किसानलाई चिनियाँ तरकारी लगाउन प्रेरित गर्ने योजना छ । धेरै फल्ने र धेरै ठूलो हुने जातका तरकारी लगाए नेपालीलाई फाइदा पुग्ने उनले बताए । चीनबाट बिउबिजन ल्याएर यहाँ परीक्षण गर्ने र त्यो राम्रो भयो भने नेपाली किसानलाई वितरण गर्ने योजना छ । 

उनले भने, ‘नेपालको मौसममा कुन चिनियाँ तरकारी राम्रो हुन्छ त्यो परीक्षण गर्ने । राम्रो भयो भने त्यसको बिरुवा निकालेर नेपालीहरुलाई पनि दिने । नेपालीहरुलाई पनि छिटो र राम्रो तरकारी फल्दा मलाई पनि खुसी लाग्छ ।’

हेर्नुहो्स् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप