बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

डा.केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै, सरकार किन मौन छ ?

सोमबार, १९ असोज २०७७, १९ : ०३
सोमबार, १९ असोज २०७७

काठमाडौं । जुम्लाको चन्दननाथस्थित बाबिरा मन्दिरमा ६ सूत्रीय माग राखेर १९ औं सत्याग्रह सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा.केसी अनशन बसेको २२ दिन बित्दा पनि सरकारले कुनै चासो देखाएको छैन् । डा.केसीलाई राज्यले लामो समयदेखि घुमाउने काम गरेको डा.केदारभक्त माथेमा बताउँछन् । अनशन बसेको २२ औं दिन पुग्दा समेत डा.केसीको रक्षा र उनको मागलाई सरकारले बेवास्ता गरेको प्रष्ट देखिन्छ ।

उनको स्वास्थ्य अवस्था नाजुक बन्दै जाँदा समेत सम्बन्धित निकायहरू मौन छन् । डा.केसीले उठाएका माग शिक्षा मन्त्रालयसँग मात्रै सम्बन्धित नभएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा बताउँछन् । आफुहरुले नेपाल सरकारको निर्देशनअनुसार काम गर्ने भएकाले शिक्षा मन्त्रालयले यस विषयमा बोल्न नमिल्ने उनको प्रतिक्रिया छ ।

सरकारले ०७५ सालमा कबुल गरेको कुरा कार्यान्वयनमा समेत नल्याएको डा.माथेमाको भनाइ छ । ‘प्रतिवेदन बुझाएको चार वर्ष बित्यो । डाक्टर केसीले उठाएका मागलाई बेवास्ता गरेर जनताको हितमा हिँड्ने सत्याग्रहीलाई सरकारले घुमाउने काम गरेको छ’ डा. माथेमा भन्छन्– ‘डा. केसीले व्यक्तिगत स्वार्थका लागि अनसन बस्नुभएको होइन, उहाँले उठाएको मागलाई राज्यले सम्बोधन गरेमा राज्यलाई फाइदा हुन्छ ।’ 

डा. केसीकै कारण चिकित्सा शिक्षा आयोग बनेको डा.माथेमाको भनाई छ । उक्त आयोेगमा अध्यक्ष प्रधानमन्त्री भएपनि अन्य काम भने अघि बढेको छैन् । डा.केसीले पहिलो अनशन सुरु गर्दा बयलपाटा अस्पतालबाट नियमित र निःशुल्क सेवा दिनुपर्ने माग राखेका थिए । अहिले १९ औं अनसनमा पनि त्यही माग उठाइरहेका छन् ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरू गनुपर्ने माग होस् वा डोटी, डडेल्धुरा, उदयपुर, इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरु गर्नपर्ने माग राखेर केसी पटक–पटक अनसन बस्दै आएका छन् । तर यति लामो सत्याग्रहको यात्रा गरेर आएका डा.केसीको स्वास्थ्य अवस्था बिग्रिदैं जाँदा समेत सम्बन्धित निकाय मौन छ ।

डा. केसी माग पूरा नभएसम्म अनशन जारी राख्ने अडानमा छन् ।  तरर कोरोना महामारीमा जनस्वास्थ्यका मापदण्डलाई उल्लघंन गर्दै माइतीघर मण्डला र देशका विभिन्न भागमा उनका समर्थकहरुले प्रत्येक दिन प्रदर्शन गर्दै आइरहेका छन् । केसीको जीवन रक्षाको माग र उनले उठाएका माग सम्बोधन गर्न भन्दै त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकले र्याली समेत निकालेका छन् । त्यस्तै नागरिक अगुवाहरूले पनि सरकारलाई दबाब दिँदै आएका छन् । डा.केसीको जीवनरक्षा र माग सम्वोधनका लागि सरकार वार्तामा बस्न हालसम्म तयार नभएको उनका समर्थक प्रितम सुवेदीले बताए ।

स्वास्थ्य अवस्था नाजुक बन्दै

त्रिवि शिक्षण अस्पतालमा (टिचिङ) अनशनरत डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन कमजोर बन्दै गएको छ । डा.केसीलाई छाती दुख्ने, सास फेर्न गाह्रो हुनुका साथै रगतमा अक्सिजनको मात्रा निकै कम देखिएपछि कृत्रिम अक्सिजन दिन थालिएको उपचारमा संलग्न डा.सुवासप्रसाद आचार्यले बताए  ।

डा.आचार्यका अनुसार अनसनरत केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकाले जुनसकै बेला स्वास्थ्यमा गम्भीर समस्या सृजना हुनसक्छ । यद्यपि, केसीले स्वास्थ्य अवस्था बिग्रिदै जाँदा समेत कुनै उपचार लिन मानेका छैनन् । आफ्ना माग पूरा भएसम्म कुनै उपचार नलिने अडानमा डा. केसी रहनुभएको सर्मथक सुवेदीले बताए ।

 यस्ता छन् डा. केसीका ६ सूत्रीय माग  

१.कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन शुरू गर्नुपर्ने, प्रदेश नम्बर दुई र गण्डकी प्रदेश, डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने ।

२. मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गरियोस् । कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्।

३. २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने ।

४. त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने ।  विश्वबिद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी निष्पक्ष र पारदर्शी ढङ्गले नियुक्त गर्ने कानूनी व्यवस्था गर्नुपर्ने ।

५. बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गर्नुपर्ने । 

६.राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरीद काण्ड, वाइडबडी काण्ड, सेक्युरिटी प्रेस खरीद काण्ड, दरबारमार्गको जग्गा काण्ड, ओम्नी समूहको औषधि खरिद काण्ड लगायत सबै ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कानुन बमोजिम छानविन र कारवार्ही गर्नुपर्ने, बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारुढ दलका नेतामाथि छानविन र कारवाही चलाउनुपर्ने, अख्तियारका आयुक्त लगायत सबै दोषी व्यक्तिहरूमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउनुपर्ने ।

वार्ता गर्ने सरकारको तयारी 
यद्यपि, स्रोतकाअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा.केसीसँग वार्ताका लागि डा.विकास देवकोटालाई तोकेको छ । आफु राजधानी बाहिर भएकाले डा. केसीसँगको वार्ताको बारेमा बुधबार बिहान काठमाडौं आएपछि मात्र बोल्न सक्ने डा. देवकोटा बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप