बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपा सचिवालय बैठकले किन टुङ्गो लगाउन सकेन मन्त्रिपरिषद् पुनर्गठनको विषय ?

मङ्गलबार, २० असोज २०७७, १९ : ०५
मङ्गलबार, २० असोज २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको विषयमा कुनै छलफल भएन । प्रधानमन्त्री निवासमा आज बसेको सचिवालयको बैठकमा मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल हुने भनिएको थियो तर त्यसको विषयमा कुनै चर्चा नै नभएको बताइएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकमा मन्त्रिपरिषद् पुनर्गठनको बारेमा कुनै पनि छलफल नभएको बताए । उक्त विषयमा प्रधानमन्त्री केपी शर्माओलीले कुनै पनि प्रस्ताव नराखेको जानकारी उनले दिए । मन्त्रिपरिषद्मा खाली रहेका तीनवटा मन्त्रालयमा तीन मन्त्री पार्टीले सिफारिस गर्ने आजको कार्यसूची थियो । तर व्यक्तिको नाम टुङ्गो लागेपनि मन्त्रालयको टुङ्गो नलागेको कारण आजको बैठकमा छलफल नभएको स्रोतले जनाएको छ । अर्थ मन्त्रालयका लागि पार्टीका महासचिव विष्णु पौडेल र सुरेन्द्र पाण्डेले दावी गरिरहेका छन् । यो विषयमा  अध्यक्षद्धयको बीचमा सहमति नभएका कारण छलफल नभएको बताइएको छ ।

त्यस्तै, संवैधानिक नियुक्तिको विषयमा पनि अध्यक्षद्धय ओली र प्रचण्डले आन्तरिक गृहयकार्य गरिरहेको र अर्को बैठकमा त्यो विषयमा छलफल हुने बताइएको छ  । सरकारले हालै गरेका केही नियुक्तिहरुको बारेमा छलफल भएको तर कुनै निश्कर्ष ननिस्केको बताउँदे प्रवक्ता श्रेष्ठले अर्को बैठकमा पनि यो विषयमा छलफल हुने बताए ।

त्यस्तै बैठकले डा.गोविन्द केसीलाई अनसन तोड्नका लागि आग्रह गरेको छ । डा.केसीको अनसनबारे प्रधानमन्त्री ओलीले बैठकलाई ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री ओलीले ब्रिफिङका क्रममा विगतमा चिकित्सका शिक्षा क्षेत्रको बारेमा जेजस्तो सहमति भएका छन्, त्यसमध्ये केही कार्यान्वयन भइसकेको र केही कार्यान्वनको अवस्थामा रहेको बताएका थिए । कोरोनाको अवस्था हेरेर अनसन स्थगित गरी बाँकी विषयमा पछि छलफल गर्नुपर्ने प्रधानमन्त्री ओलीको जिकिर रहेको प्रवक्ता श्रेष्ठले बताए । 

त्यसैगरी पार्टी एकीकरणको बाँकी कामको विषयमा पनि अध्यक्षद्धयले छलफल गरिरहेको प्रवक्ता श्रेष्ठले प्रतिक्रिया दिए । अर्को बैठकमा उक्त विषयमा पनि छलफल हुने उनको भनाई छ । त्यस्तै, प्रदेशको नामाकरण गर्ने अधिकार संवैधानिक रुपमा प्रदेशसभालाई रहेको र सोहीअनुसार  प्रदेशसभाले प्रदेश ५ को नामाकरण गरेको बताउँदै उनले प्रदेशसभाले गरेको निर्णय सही रहेको बताए । उनले प्रदेशको नामाकरणका विषयमा कुनै दल वा व्यक्तिले आ–आफ्नो कुरा राख्नु सही भएको तर प्रदेशसभामा जुन घटना भयो त्यो निन्दनीय रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप