शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमा आज – अमेरिकाद्वारा अफगानिस्तानमा आक्रमण सुरु

बुधबार, २१ असोज २०७७, ०६ : ५५
बुधबार, २१ असोज २०७७

आज ७ अक्टुबर । सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा अल कायदा र तालिबानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा आतङ्कवादी हमला भएपछि अफगानिस्तानको तालिवानी सत्ताप्रति अमेरिका कठोर बनेको थियो । हमलाका योजनाकार मानिएका ओशामा बिन लादेन नेतृत्वको ईस्लामिक अतिवादी संगठन अल कायदासँग तालिवानको साँठगाँठ रहेको भन्दै अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले बदला लिएरै छाड्ने घोषणा गरेका थिए ।

सञ्चामाध्यमबाट बुसको चेतावनी सार्वजनिक भएको छोटो समयमै आक्रमण सुरु भयो – बुसले निरन्तर र कठोर आक्रमण गरिने चेतावनी दिएका थिए । आक्रमणको सुरुवातमै क्रुज मिसाइल्स र बम हानियो,  कान्दाहर र काबुलका विमानस्थल तथा जेलालावाद नजिकै तालिम लिइरहेका लडाकुहरु निशाना परे । अमेरिकाले अबेरियन समुद्रमा तैनाथ लडाकु पानीजहाजहरुमार्फत झन्डै ५० क्रुज मिसाइल्सहरु प्रहार गरेकोे थियो । त्यस्तै, फाइटर जेटहरुले पनि बम खसालेका थिए । तालिवानले यस घटनाको निन्दा ग¥यो । अमेरिकाको एउटा हवाईजहाज आफ्ना सैनिकहरुले झारेको उसको दाबीलाई अमेरिकाले अस्वीकार ग¥यो ।

यस आक्रमणमा बेलायतको पनि साथ थियो । बेलायती प्रधानमन्त्री टोनी ब्लेयरले आतङ्कवाद अन्त्यका लागि भएको युद्धमा आफ्नो साथ रहेको बताए । उनले सैन्य, कुटनीतिक र मानवीय गरी तीन मोर्चाबाट लडाइँ लडिने प्रतिक्रिया दिए ।

आक्रमण सुरु भएको २ महिना १० दिनपछि तालिवान सत्ताच्युत भयो, अमेरिका नेतृत्वको नाटो फौजको नियन्त्रणमा अफगानिस्तान आयो ।  सत्ताच्युत भएपछि तालिवानले हिंसात्मक विद्रोह थाल्यो । एकातर्फ, अमेरिकासहितका अन्तर्राष्ट्रिय शक्तिको रोहवरमा हमिद कारजाई नेतृत्वको अन्तरिम सरकार गठन गरियो । अर्कोतर्फ, तालिवानको संघर्ष उग्र बन्दै गयो । सन् २००४ मा अफगानिस्तानमा निर्वाचन भयो, कारजाई नै राष्ट्रपतिमा विजयी भए । उनले २००९ मा फेरि चुनाव जिते । २०१४ यता असरर्फ घानी अफगानिस्तानको राष्ट्रपति छन् । यस अवधिमा अमेरिकाले अफगानिस्तान शान्ति बहाल गर्न सरकारलाई अर्बौं अमेरिकी डलर सहयोग गरिसकेको छ । दशौँ लाख  अफगानी जनता र हजारौँ अमेरिकी तथा नेटो सैनिकहरुको मृत्यु भइसकेको छ । तर, अफगानिस्तान अझै अशान्त छ । सन् २०११ मा अमेरिकाले आफ्ना सैनिक अफगानिस्तानबाट फिर्ता बोलाउन थाल्यो, तर अफगानिस्तानमा शान्ति बहाल गर्नेतर्फ ध्यान दिएन । त्यसैले तालिवान बलियो बन्दै गयो । अफगानिस्तानमा तालिवानी विद्रोहीको पकड बलियो बनेपछि बाध्य भएर अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायले  तालिवानलाई अफगान सरकारसँगको शान्ति वार्तामा ल्याउन भूमिका खेलिरहेका छन् ।

अन्य घटनाक्रम

सन् १८४०– विलियम दोस्रो नेदरल्यान्डको राजा बने ।

सन् १९४२– अमेरिका र बेलायतद्वारा संयुक्त राष्ट्रसंघ स्थापना गर्ने घोषणा ।

सन् १९५०– मदर टेरेसाद्वारा कोलकत्तामा मिशनरीज अफ च्यारिटीको स्थापना

सन् २००८ – प्यालेस्टाइनका राष्ट्रपति मोहम्मद अब्बास चार दिने राजकिय भ्रमणका लागि भारतमा ।

सन् २०११– लाइबेरियाका राष्ट्रपति एलेन जोनसन सरलिफ, महिला अधिकारकर्मी लिमेह जिबोई र यमनका तवाकुल करमानलाई नोबेल शान्ति पुरस्कार दिइने घोषणा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप