शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अजय देवगनका भाइ अनिल देवगनको निधन

बुधबार, २१ असोज २०७७, ०८ : ०९
बुधबार, २१ असोज २०७७

बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । अजयले भाइको निधनको खबर आफ्नो सोसल मिडिया अकाउन्टमार्फत् जानकारी दिएका छन् ।

उनले मंगलबार आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘हिजो राती मैले मेरो भाइ अनिल देवगनलाई गुमाएँ । उनको असामयिक निधनले हाम्रो परिवार विक्षिप्त छ । अजय देवगन फिल्म्स र मलाई उनको कमीले घोचिरहनेछ । आत्माका लागि प्रार्थना गर्नुहोस् । कोरोनाभाइरस महामारीका कारण कुनै व्यक्तिगत शोक सभा आयोजना गरिएको छैन ।’

अनिलको मृत्युको कारण भने पुष्टि हुन सकेको छैन । तर भारतीय केही मिडियामा उनी क्यान्सरबाट ग्रसित भएको बताइन्छ ।

अनिलको निधनमा थुप्रै सेलिब्रिटीले शोक व्यक्त गरेका छन् । जसमध्ये प्रियंका पनि एक हुन् ।

प्रियंकाले ‘ब्ल्याकमेल’ को समयलाई याद गर्दै लेखिन्, ‘रेष्ट इन पिस अनिल देवगत । कति दुःखद र विक्षिप्त पारिदिने क्षती । मैले उनीसँग ब्ल्याकमेलमा काम गर्ने मौका पाएँ । एक क्षमतावान् निर्देशक र शानदार व्यक्ति । अजय, काजोल र पूरा परिवारलाई मेरो मनैदेखि समवेदना ।’

करण जोहर, वरुण धवन, दिया मिर्जा, बिपाशा बसु, अब्बास मस्तान, अलि फजल, अभिषेक बच्चनसमेत थुप्रैले अनिललाई श्रद्धाञ्जली दिएका छन् ।

अनिलले सन् १९९६ मा रिलिज भएको सनी देओल, सलमान खान र करिश्मा कपुरको फिल्म ‘जीत’ बाट सहायक निर्देशकको रुपमा आफ्नो करियरको सुरुवात गरेका थिए । त्यसपछि अजयको फिल्म ‘जान’, ‘प्यार तो होना ही था’, ‘इतिशास र हिन्दुस्तानको कसम’ मा अनिलले सहायक निर्देशकको रुपमा काम गरे ।

सन् २००० मा रिलिज भएको अजयको फिल्म राजू चाचाबाट अनिलले बलिउडमा स्वतन्त्र निर्देशकको रुपमा आफ्नो यात्रा सुरु गरे । उक्त फिल्ममा काजोल, ऋषि कपुर र सञ्जय दत्तको महत्वपूर्ण भूमिका थियो । राजू चाचा अजय देवगनको पहिलो होम प्रोडक्सन फिल्म थियो । सन् २००५ मा अनिलले अजयको ब्ल्याकमेलमा निर्देशन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप